मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०८० जेठ २६ शुक्रबार २०:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीमा उद्योगी–व्यवसायीबीच बजेट बहस : सुझाव माग्ने, तर बजेटमा स्थान नदिने गरेको गुनासो

Read Time : > 1 मिनेट
२०८० जेठ २६ शुक्रबार २०:४२:००

रुपन्देहीका उद्योगी–व्यवसायीले हरेक वर्ष बजेट निर्माणअघि उद्योगी–व्यवसायीसँग सुझाव माग्ने, थोरै सम्बोधन गर्ने, तर कार्यान्वयन पक्ष सन्तोषजनक नहुने भन्दै असन्तुष्टि जनाएका छन् । 

सरकारले गत १५ जेठमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०–८१ को बजेट सम्बन्धमा आज आयोजित छलफलमा सहभागी रुपन्देहीका उद्योगी–व्यवसायीले यस्तो बताएका हुन् । 

कतिपयले राजश्वमुखीजस्तो बजेट देखिएको बताएका छन् भने कतिपयले उद्योग क्षेत्रका समस्या समाधान गर्न उत्साहजनक कार्यक्रम नआएको बताएका छन् । 

रुपन्देही उद्योग संघले ०८०–८१ को बजेटले उद्योग–व्यवसाय क्षेत्रमा पारेको प्रभावका सन्दर्भमा अन्तर्क्रिया आयोजना गरेको हो । कार्यक्रममा संघका अध्यक्षीय परिषद्का संयोजक तथा पूर्वअध्यक्ष एजाज आलमले राज्यले उद्योगी–व्यवसायीसँग कर र राजस्व कसरी उठाउने कुरामा मात्र ध्यान दिएको, तर राहत र सुविधा दिने कुरामा सधैँ आँखा चिम्लने गरेको बताए । 

उनले राज्यको कतिपय गलत नीतिले स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेको गुनासो गर्दै बजेट कार्यान्वयनमा राज्यको कमजोरीले उद्योग क्षेत्रको विकास हुन नसक्ने बताए ।

सरकारले बजेटमार्फत गर्ने कतिपय नीति र कार्यक्रमले कार्यान्वयनमा समस्यासँगै उद्योग क्षेत्रलाई अस्थिर बनाउने गरेको गुनासो उद्योगीहरूले राखे । उनीहरूले राष्ट्रको औद्योगिक विकासका लागि आवश्यक पर्ने नीति र कार्यक्रमलाई निश्चित अवधि र लक्ष्य बनाएर स्थायी प्रकारले अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने सुझाव पनि दिए । 

संघका अध्यक्ष माधवप्रसाद पौडेलले संघले प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले ल्याएको बजेट र त्यसले उद्योग–व्यवसाय क्षेत्रमा पार्ने प्रभाव एवं नयाँ नीतिबारे जानकारी लिने उद्देश्यले अन्तर्क्रिया गरेको जानकारी दिए । 

उनले सरकारले बजेट तर्जुमा गर्दा राय–सल्लाह लिने गरेको भए पनि उद्योगका समस्या समाधानका लागि बजेटमा उत्साहजनक विषयहरू नराख्ने गरेको भन्दै छिटोछिटो नीतिमा गरिने परिवर्तन र साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनमा कार्यक्रमहरू नराखिने प्रवृत्ति यसपटक पनि कायमै रहेको धारणा राखे ।  

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा, महासचिव हरिबहादुर खत्री, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देहीका अध्यक्ष प्रदीप भट्टराई, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देहीका सचिव सिए सगुन खनाललगायतले बजेटका सम्बन्धमा धारणा राखेका थिए । 

उद्योग वाणिज्य संघमा पनि बजेटसम्बन्धी छलफल
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा आर्थिक विधेयक र आगामी आर्थिक वर्ष ०८०–८१ का लागि सरकारले ल्याएको बजेटबारे छलफल आयोजना भयो । 

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य उज्ज्वलप्रसाद कसजूले बजेटमा करको दर र दायरा बढाएको हेर्दा सरकारले राजश्वमुखी बजेट ल्याएको देखिएको बताए । जसका कारण आर्थिक वृद्धिको लक्ष्यमा पुग्न पनि कठिन हुने उनको भनाइ छ । 

 

उनले बजेटमा कतिपय आफूहरूले उठाएका कुराहरू पनि समावेश भएको भन्दै उनले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिक विकास आवश्यक भएको बताए । 

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देहीका अध्यक्ष प्रदीप भट्टराईले विगत तीन वर्षको बजेटसँग अहिलेको बजेटलाई तुलना गर्दा अन्तःशुल्क र मूल्य अभिवृद्धि करमा व्यापक परिवर्तन भएको बताए । त्यस्तै, आर्थिक विधेयकमा व्यवस्था गरिएका कतिपय कुरा अलमल्याउने खालका रहेको भन्दै उनले त्यस्ता कुरालाई समाधान गर्न निजी क्षेत्रका छाता संस्थाहरूले भूमिका खेल्नुपर्ने बताए ।

संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजूले सरकारले उद्योगी–व्यवसायीलाई च्याप्ने र निचोर्ने काम गरेको आरोप लगाए । संघका महासचिव विमलराज भट्टराई, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ रुपन्देहीका कोषाध्यक्ष सगुन खनालले बजेटबारे चर्चा गरेका थिए ।