मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०८० जेठ २६ शुक्रबार ०६:०७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ २६ शुक्रबार ०६:०७:००

एकपटक काठमाडौंको एउटा तारे होटेलमा भव्य सेमिनार चलिरहेको थियो । सेमिनारमा सयजना सहभागी थिए । सेमिनार चल्दै गर्दा सहभागीहरू अलि लोसे बन्दै गएको, उनीहरूमा उत्साहको कमी भएको महसुस गरेपछि सेमिनार सञ्चालकले सबै सहभागीको हातमा एउटा–एउटा बेलुन दिए र त्यसमा सबैलाई आआफ्नो नाम लेख्न लगाए । 

नाम लेखिसकेपछि सबै बेलुन संकलन गरियो । बेलुनलाई नजिकैको कोठामा राखियो । त्यसपछि सञ्चालकले सहभागीलाई सम्बोधन गर्दै भने– साथीहरू ! तपाईंहरूले आआफ्नो नाम लेखेको बेलुन हामीले सँगैको कोठामा राखेका छौँ । एकैछिनमा हामी सो कोठाको ढोका खोलिदिनेछौँ । ढोका खुल्नासाथ तपाईंहरूले भित्र प्रवेश गरेर बेलुन नफुट्ने गरी आआफ्नो नाम लेखिएको बेलुन खोजेर ल्याउनुपर्नेछ । यसका लागि तपाईंहरूले जम्मा तीन मिनेटको समय पाउनुहुनेछ । 

त्यसको केही समयमै बेलुन राखिएको कोठाको ढोका खोलियो । सबै सहभागी घचेटाघचेट गरेर भित्र पसे । सबैले तानातान र घचेटाघचेट गर्दागर्दै तीन मिनेटको समय सकियो । तर, कसैले पनि आफ्नो नाम लेखेको बेलुन हात पार्न सकेनन् । सबै असफल भएर सेमिनार हलमा फिर्ता भइसकेपछि सञ्चालकले पुनः सहभागीलाई सोही कोठामा पठाए । तर, यसपटक भने उनले कुनै पनि बेलुन टिप्न र त्यसमा जसको नाम लेखिएको छ, त्यो बेलुन सम्बन्धित व्यक्तिलाई दिन निर्देशन दिए । यसपटक सहभागीहरू भित्र पसेको दुई मिनेटमै आआफ्नो नाम लेखिएको बेलुन लिएर बाहिर निस्किए । 

यो देखेपछि मुसुमुसु हाँस्दै सञ्चालकले भने– आज तपाईंहरूको नाम लेखेको बेलुन खोज्ने क्रममा जे भयो, त्यही घटना हाम्रो खुसीको खोजीमा पनि घटित हुन सक्छ । यथार्थमा खुसी हाम्रै वरिपरि छ । तर, हामी पागलपन देखाएर त्यसलाई खोज्छौँ र पाउन नसकेर निराश बन्छौँ । तर, हाम्रो खुसी अरूको खुसीमा लुकेको हुन्छ । अरूलाई खुसी दिएर मात्र तपाईं हामी सबैले आआफ्नो खुसी प्राप्त गर्न सक्छौँ ।