Skip This
मौसम विभागले फेरि भन्यो– यसपालि चार महिना देशभर कम वर्षा हुन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १७:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसम विभागले फेरि भन्यो– यसपालि चार महिना देशभर कम वर्षा हुन्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १७:oo:oo

विभागले यसअघि बर्खायाममा पूर्व र मध्यनेपालका केही क्षेत्रबाहेकमा कम वर्षा हुने प्रक्षेपण गरेको थियो

जल तथा मौसम विज्ञान विभागले मनसुनको पूर्वानुमान संशोधन गर्दै आगामी चार महिना देशभर औसतभन्दा कम वर्षा हुने जनाएको छ।

विभागले २१ वैशाखमा मनसुनको पूर्वानुमान प्रक्षेपण गर्दै कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भेग, बागमतीका दक्षिण पूर्वी भेग र मधेसका अधिकांश भूभागमा भने औसत हाराहारी वर्षा हुन सक्ने भनेको थियो। तीबाहेकका क्षेत्रमा भने कम वर्षा हुने प्रक्षेपण गरेको थियो।

तर, विभागले बिहीबार पूर्वानुमान संशोधन गर्दै कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भेग, बागमतीका दक्षिण पूर्वी भेग र मधेसका अधिकांश भूभागमा पनि औसतभन्दा कम वर्षा हुने जनाएको छ। यसअघि औसतभन्दा निकै कम वर्षा हुन सक्ने क्षेत्रभन्दा औसत कम वर्षा हुन सक्ने क्षेत्र धेरै थियो। तर, यसपटक संशोधित पूर्वानुमानअनुसार औसतभन्दा निकै कम वर्षा हुने क्षेत्र धेरै छ भने औसत हाराहारी वर्षा हुने क्षेत्र लगभग शून्य।

विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकीका धेरैजसो र कोसीका दक्षिण–पूर्वी भूभागमा कम वर्षा हुने भनेको छ। यसअघि विभागले कोसीका पश्चिमी, बागमतीका धेरैजसो, लुम्बिनीका केही भूभाग र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी तथा बझाङलगायत क्षेत्रमा औसतभन्दा कम पानी पर्न सक्ने भनेको थियो।

बागमती, मधेस र कोसी तथा अन्य प्रदेशका केही भूभागमा त्योभन्दा पनि कम वर्षा हुन सक्ने ठानिएको छ। प्रि-मनसुनको उत्तरार्द्धमा मुलुकभर औसतभन्दा बढी तापक्रम हुनु र प्रशान्त महासागरमा एलनिनोको प्रभाव बलियो हुने देखिएपछि विभागले पूर्वानुमान संशोधन गरेको हो। मनसुन सिजनमा सामुद्रिक तापक्रम औसतभन्दा बढी भएर त्यसको असर वायुमण्डलमा पर्छ, वर्षा कम गराउँछ।

‘एलनिनो’ प्रशान्त महागरको भूमध्यीय क्षेत्रमा उसको मौसमी घटनाको नाम हो। जसमा सामुद्रिक सतहको तापक्रम सामान्यभन्दा धेरै भएर गर्मी हुन्छ र हावा पूर्वतिर बहन्छ। त्यसको असर सामुद्रिक क्षेत्रमा मात्र नभई वायुमण्डलमा पनि पर्छ। एलनिनोको प्रभावले भारत–नेपाललगायतका क्षेत्रमा वर्षा कम गराउने सम्भावना हुन्छ।

विश्व मौसम संगठनले पनि जुन महिना दक्षिण एसियाली मुलुकसहित विश्वका कैयौँ मुलुकमा तापक्रम अधिक भएर गर्मी बढ्न सक्ने आकलन गरेको छ। त्यसको मुख्य कारकका रूपमा एलनिनो हुन सक्ने ठानिएको छ। यसबाहेक महासागरमा विकसित हुने घटनाक्रम, हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि मनसनुमा असर गर्छ।

भारतले पनि त्यहाँको उत्तर–पश्चिम, पश्चिम–मध्यम र पूर्वोत्तरका केही क्षेत्रमा कम वर्षाको आकलन यसअघि नै गरिसकेको छ। नेपालमा सामान्यतः जेठ अन्तिम साता अर्थात् १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरसम्म रहन्छ। तर, यसपटक तत्काल मनसुन भित्रिने संकेत देखा नपरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले बताइन्।