मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गर्मी बढेसँगै चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रासस
यम बम काठमाडाैं
२०८० जेठ २५ बिहीबार ०५:५६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेढ सातादेखिको लु पश्चिम तराईसम्म फैलियो, अझै पाँच दिन तापक्रम अधिक रहने आकलन

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०८० जेठ २५ बिहीबार ०५:५६:००

मनसुनयाम नजिकिँदै गए पनि वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनेपछि बढेको तापक्रमका कारण तराईमा डेढ सातादेखि लु (तातो हावा) चलिरहेको छ । पश्चिम तराईसम्म नै फैलिएको लु अझै पाँच दिनसम्म लम्बिने आकलन गरिएको छ । 

सुरुमा मध्यतराई अर्थात् पर्सादेखि भैरहवा क्षेत्रसम्म लु चलेकामा हाल विस्तार भएर पश्चिम नेपालगन्ज र पूर्वमा मोरङसम्म फैलिएको छ । अहिले तराईमा औसत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । तर, बुधबार नवलपुरको दुम्कौली क्षेत्रमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको छ ।

मौसमविद्स जिना शाक्य भन्छिन्– 
तत्काल मनसुन भित्रिने सम्भावना छैन । प्रिमनसुनको अवधि भए पनि अन्त्यतिर रहेकाले र वर्षा नभएकाले गर्मी बढेको हो । पश्चिम नेपालमा केन्द्रित रहेको पश्चिमी वायु पनि निकै कमजोर अवस्थामा छ । तराईका धेरै क्षेत्रमा लु चलेको छ । अझै पाँच दिन तामक्रम अधिक नै रहने अनुमान गरिएको छ । 

यसअघि १८ जेठमा रौतहटको गौरमा सबैभन्दा धेरै ४३.८ डिग्री तापक्रम मापन भएको थियो । मध्य र पूर्वी तराईमा वैशाख पहिलो साता पनि लु चलेको थियो । त्यतिखेर सबैभन्दा धेरै तापक्रम भैरहवामा ४२.२ डिग्री नाघेको थियो । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यसअघि पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा तापक्रम धेरै बढ्न पाएको थिएन । तर, हाल पश्चिमी वायु निकै कमजोर बनेकाले तापक्रम पनि बढेको हो । 

तराईका धेरै क्षेत्रमा आगामी पाँच दिनसम्म पनि लु चल्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेको, हावाहुरी पनि खासै नचलेको र बदली पनि नभएकाले अझै पाँच दिन तापक्रम उच्च नै रहने आकलन मौसमविद्ले गरेका छन् । पहाडी क्षेत्रमा साँझ–बिहान हल्का बदली र फाट्टफुट्ट वर्षा भए पनि काठमाडौंसहितका पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम उच्च छ । नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने भए पनि तत्काल सम्भावना छैन, जसकारण गर्मी लम्बिने देखिन्छ ।

मुख्य २० स्टेसनमध्ये पाँच क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री नाघ्यो
बुधबार मुख्य २० स्टेसनमध्ये पाँच क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री नाघेको छ । सबैभन्दा बढी तापक्रम जनकपुरमा ४२.२ डिग्री मापन भएको छ । त्यस्तै, विराटनगरमा ४१, नेपालगन्जमा ४१.६, सिमरामा ४१.७ र भैरहवामा ४१.८ डिग्री मापन भएको छ । धनगढीमा पनि लगातार तापक्रम उकालो लागेर ३९.९ पुगेको छ । धरानमा समेत ३९.३ डिग्री तापक्रम मापन भएको छ ।