
धादिङको धुनिबेँसी नगरपालिका– ७ गुर्धुमवासीलाई घन्टौँ धाएर पानी खाने बाध्यताको विकल्प खोजिएको छ। ‘एक घर एक धारा’ कार्यक्रमअनुसार पँधेरा खोलाबाट लिफ्टिङ गरी खानेपानी व्यवस्थापन गर्न नगर प्रमुख बालकृष्ण आचार्यले गुर्धुम लिफ्ट खानेपानी योजनाको शिलान्यास गरेका हुन्।
खानेपानी समस्याका कारण गुर्धुमवासी घन्टाैँ धाएर खानेपानीको जोहो गरिरहेका छन्। तर, गाउँमै खानेपानीको व्यवस्था गर्न पहल भएपछि स्थानीय मैना तामाङले हर्ष व्यक्त गरिन्। उनी एकाबिहानै पानी लिन पँधेरो खोला पुग्ने गरेको छिन्। ‘खानेपानीको चरम अभाव छ,’ उनले भनिन्, गाउँमा ट्यांकी बन्यो। पँधेरो खोलामा पनि ट्यांकी बनाउन शिलान्यास भयो। अब त गाउँमा छिट्टै पानी आउँछ होला।’
०७२ सालको महाभूकम्पका कारण घरनजिकैको मूल सुकेपछि गुर्धुमवासीको दैनिकी पानी बोकेरै बितिरहेको छ। ‘भिरको बाटो एक गाग्री पानीले ज्यानै लिने हो कि भन्ने डर हुन्थ्यो। म त घुँडाको बिरामी हुँ, हिँड्न पनि सक्दिन,’ मैनाले भनिन्।
४९ वर्षीया रूपा तामाङ पनि गाउँमै खानेपानी आउने भएपछि खुसी छिन्। ‘गाउँबाट ४ घण्टा हिँडेपछि मात्रै नगरपालिका पुगिन्छ। सडक सञ्जाल जोडिए पनि सधैँ सवारीसाधन पाइँदैन। हाम्रो माग राख्न पनि गाह्रो छ,’ उनले भनिन्।
वडा, नगरपालिका र फियान नेपाललगायतको पहलमा गाउँमा खानेपानी ल्याउने प्रक्रिया अघि बढेको हो। गुर्धुम गाउँमा ६५ घर परिवार छन्। घन्टाैँ धाएर खानेपानीको जोहो गरिरहेका उनीहरू गाउँमै पानी आउने भएपछि श्रमदान गरिरहेका छन्। तीन वर्षदेखि सुरु गरिएको योजना आर्थिक वर्षको अन्त्यतिर आएर पूरा नहुने हो कि भन्ने आशंका पनि उनीहरूलाई छ।
असार मसान्तसम्म गाउँमा पानी पुर्याउँछौँ : प्रमुख आचार्य
असार मसान्तसम्म गुर्धुमवासीलाई गाउँमै पुर्याएर पानी खुवाउने धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए। ‘गत आर्थिक वर्षमा ४० लाखले गाउँमा १-१ लाख लिटरको ट्याङ्कीहरू निर्माण गरिएको हो। चालू आर्थिक वर्षमा ७० लाख रकमबराबरको काम भइरहेको छ,’ उनले भने।
खानेपानी योजनाको निर्माण सामग्री ल्याउन सडकसमेत बनाइएको बताउँदै उनले असर मसान्तसम्म पानीको व्यवस्था गर्ने दोहोर्याए। ‘सदरमुकाम र राजधानीले नदेखेको, स्थानीय सरकारले देखेको गाउँ हो यो। निर्माण सामग्री ल्याउन सडक बनायौँ। पानी तान्न बिजुली बत्ती ल्याउँदै छौँ। अब असार मसान्तसम्म पानीको व्यवस्था गर्छाैँ,’ लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गर्दै उनले भने।