
बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री कुर्मीले आफ्नो घरअगाडिको सार्वजनिक जग्गा कब्जा गरेका छन्। अध्यक्ष कुर्मीले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएकै वेला सार्वजनिक जग्गा कब्जा गरेका हुन्।
परवानीपुर गाउँपालिका– ४ चैनपुर टोलनिवासी गाउँपालिका अध्यक्ष कुर्मीले आफ्नो पदको दुरुपयोग गरेर सार्वजनिक जग्गा कब्जा गरेको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष कुर्मीको घरअगाडि नै विगत लामो समयदेखि सार्वजनिक जग्गामै इनार रहेको थियो। करिब एक कट्ठा क्षेत्रफलमा रहेको सार्वजनिक इनारबाट उत्तरतर्फ सानो बाटो थियोे। अध्यक्ष कुर्मीले इनारतर्फको करिब पाँच धुरभन्दा बढी जग्गा आफ्नो बनाएको स्थानीयकाे आरोप छ।
सोही सार्वजनिक जग्गामा रहेको इनार पुरेर गाउँपालिका अध्यक्ष कुर्मीले पर्खाल लगाएर कब्जा गरेको स्थानीय रुसतम हवारीले बताए। उनका अनुसार गाउँपालिका अध्यक्ष रहेका वेला नै कुर्मीले सार्वजनिक जग्गा कब्जा गरेका हुन्।
उक्त सार्वजनिक जग्गालाई निजी जग्गा भएकोजस्तै पर्खाल लगाएर आफ्नो परिसर बनाएको हवारीको आरोप छ। हवारीले उक्त जग्गा नापी गरेर छुट्याउन करिब चार महिनाअघि न्यायिक समितिमा निवेदन पनि दर्ता गराएको बताए।
तर, गाउँपालिका अध्यक्ष कुर्मीविरुद्धमा निवेदन दर्ता भएपछि उक्त समितिले आलटाल गर्दै आएको छ। यसबारे बुझ्न खोज्दा गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सुगान्धीदेवी कनुइन खुल्न चाहिनन्।
वडाध्यक्षले रोक्न खोजे, पालिका अध्यक्षले वास्ता गरेनन्
सार्वजनिक जग्गामा पर्खाल लगाएर आफ्नो बनाउन खोजेका वेला गाँउपालिका अध्यक्ष कुर्मीलाई रोक्ने खोजेको तर वास्ता नगरेको वडा नम्बर ४ का वडाध्यक्ष गम्हिरा राउत कुर्मीले बताए। उनले सार्वजनिक जग्गामा पर्खाल लगाउने वेला नै रोक्नलाई आग्रह गर्दा अध्यक्ष कुर्मीले अटेर गरेको आराेप बताए।
लोसपाका नेता एवं गाउँपालिका अध्यक्ष पदका प्रत्याशी जगतनारायण महतोले गाउँपालिका अध्यक्ष कुर्मीले पदको आडमा सार्वजनिक जग्गा हडपेको आरोप लगाए। यस विषयमा गाउँपालिका अध्यक्ष कुर्मीलाई सम्पर्क गर्न खोज्दा एउटा कार्यक्रममा रहेको भन्दै फोन नै काटिदिए।