मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ २२ सोमबार २१:२८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

दुई वर्षमा बन्नुपर्ने बाग्लुङ-बिहुँखण्ड आठ वर्षदेखि अलपत्र, स्थानीय आन्दोलित

Read Time : > 2 मिनेट
२०८० जेठ २२ सोमबार २१:२८:००

मध्यपहाडी लोकमार्गको बाग्लुङ—बिहुँखण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन्। 

लामो समयदेखि ठेकेदारको लापरबाहीले कालेपत्रेको काम अलपत्र भएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीय आन्दोलित भएका हुन्। 
उनीहरूले लोकमार्ग कालोपत्रेको माग गर्दै ठेकेदार कम्पनीको कार्यालयमा ताला लगाएका छन्। 

निर्माण कम्पनीको लापरबाहीले हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ। पटक–पटक म्याद थप गर्दासमेत मध्यपहाडी लोकमार्गको बाग्लुङ बजारदेखि बिहुँसम्मको २५ किलोमिटर कालोपत्रे नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूको भनाइ छ। 

आन्दोलित स्थानीयले पटक–पटक म्याद थपेर काम नगर्ने निर्माण कम्पनीको ठेक्क रद्द गर्न माग गर्दै निर्माण कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन्। 

आफूहरूको माग पूरा नभएसम्म ताला नखोल्ने नागरिक आन्दोलनका अभियन्ता भरत सापकोटाले बताए। ‘हामीले विगतमा सडक कालोपत्र चाँडो गर्न घचघच्याउँदै आएका थियौँ, तर हामीसँग पटक–पटक सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरिएको छ,’ उनले भने, ‘अब यो ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्छ र यो सडक निर्माणको काम चाँडो गर्नुपर्छ भन्ने हाम्रो माग हो। माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।’ 

उनीहरूले आइतबार दिउँसो ११ बजेदेखि करिब डेढ घण्टा सडक अवरुद्ध गरे। लोकमार्गको रूपमा काम थालिएपछि नयाँ ट्रयाक खोलिएका ठाउँहरूमा सडक कालोपत्रे भइसकेर पनि पुनः मर्मत गर्ने वेला भइसक्दा अक्षेत बिहुँ खण्डमा काम नभएको र बर्खामा हिलो र हिउँदमा धूलोले स्थानीयलाई निकै सास्ती दिइरहेको सापकोटाले बताए। 

सडक कालोपत्रे नहुँदा विद्यालय जाने बालबालिकाले निकै सास्ती खेप्नुपरेको विद्यार्थी प्रकाश कँडेलले बताए। ‘यो सडक कालोपत्रे नहुँदा सबैभन्दा धेरै सास्ती हामी विद्यार्थीले खेप्नुपरेको छ,’ कँडेलले नयाँ पत्रिकासँग भने, ‘कच्ची सडकमा गुड्ने सवारीसाधनले उडाउने धूलोको कारण हामी विद्यालय आउँदाजाँदा सासै फेर्न गाह्रो हुने गरेको छ। स्वास्थ्यमा समेत समस्या आउने गरेको छ।’

बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आन्दोलनको नेतृत्व गरिरहेको छ। निर्णायक आन्दोलनमा अगाडि बढेकाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने समाज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेल बताउँछन्। 

उनीहरूले २१ देखि २५ जेठसम्म सरकारी नम्बर प्लेटका सबै सवारीसाधनहरू आवतजावतमा रोक लगाउने, २६ देखि अनिश्चितकालसम्म मध्यपहाडी लोकमार्ग बन्द गर्ने जनाएका छन्। 

‘यो हाम्रो निर्णायक आन्दोलन हो,’ नागरिक अगुवा सापकोटाले भने, ‘विगतमा पनि पटक-पटक समयमै काम सक्ने प्रतिबद्धता जनाइएपछि हामीले आन्दोलन रोकेका थियौँ। अब समस्याको समाधान गर्ने ग्यारेन्टी नभएसम्म आन्दोलन रोकिँदैन।’ उनले मंगलबार बेलुका वार्ताका लागि बोलाइएको जानकारी दिए। ‘हामीलाई वार्ताका लागि गाउँपालिका आउन भनिएको छ। हामीले आन्दोलन भएकै ठाउँमा आउन भनेका छौँ,’ उनले भने। 

भुक्तानी लिँदै बेपत्ता हुँदै
मध्यपहाडी लोकमार्गको माथिल्लो बिहुँ खण्डका निर्माणका लागि १० माघ ०७२ मा एमपी/एससिएफ/इसिसी जेभीले ठेक्का लिएको छ। १२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे सक्ने सम्झौता भएको थियो। तर, निर्माण कम्पनीको तर्फबाट सूर्य कन्ट्रक्सनले सुरुमा काम थालेकोमा पछि पेटी ठेकेदार रामकाजी श्रेष्ठको श्रेष्ठ निर्माण सेवालाई काम गर्न दिइयो। निर्माण कम्पनीले हरेक असार मसान्तमा केही काम गरेजस्तो गर्ने र भुक्तानी लिएपछि बेपत्ता हुने गरेका छन्।

यस्तै, लोकमार्गको उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्डको १३ किलोमिटर सडकको सम्झौता भारत-सिद्धिसाई जेभीले गरेको छ। माघ १४ माघ ०७३ मा भएको सम्झौताअनुसार १३ किलोमिटर दुई वर्षभित्रै सम्पन्न गर्ने लेखिएको छु। बिहुँ—घोडाबाधे खण्डको १२ किलोमिटर सडक पनि दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने हो। तर, दुवै खण्ड पटक-पटक समय थप्दा निर्माण सम्पन्न भएको छैन।

ठेक्क रद्दको प्रक्रिया अघि बढ्यो
लोकमार्ग निर्माण आयोजना कार्यालय पर्वतले पटक–पटक म्याद थप्दा पनि काम पूरा नभएका कारण अब ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ। ‘हामीले धेरैपटक म्याद थपेर काम सम्पन्न गर्न भन्यौँ,’ मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतकी प्रमुख कल्पना अधिकारीले भनिन्, ‘अब हामी ठेक्का रद्द गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेतर्फ लागेका छौँ। माथिल्लो खण्डको सूचना जारी भइसकेको छ। तल्ला खण्डको पनि एक दुई दिनभित्रै सूचना प्रकाशित हुन्छ।’

लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ। लोकमार्गको एक हजार ७ सय ८६ किलोमिटरमध्ये सबैभन्दा बढी बाग्लुङ खण्डमा एक सय ३४ किलोमिटर पर्छ। पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदूरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ।