लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिनासुनुवाइ हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन सुरु गरेका छन्।
उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आफूलाई कुनै मुद्दामाथि सुनुवाइ नगरिएको भन्दै उनले आमरण अनशन सुरु गरेको उनका वकिलले जानकारी दिए।
सन् २०१५ मा सिरियाबाट अपहरणमा परेका गद्दाफी सन् २०१५ देखि लेबनानको जेलमा छन्। करिब ४५ वर्षअघि लिबियामा बेपत्ता भएका एक सिया धर्मगुरुको भविष्यबारे जानकारी माग्दै लेबनानी लडाकुले उनलाई अपहरण गरेका थिए।
गद्दाफीलाई पछि लेबनानी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए र बिना कुनै सुनुवाइ बेरुत जेलमा राखिएको थियो।
अधिवक्ता पल रोमानोसले बताएअनुसार उहाँका सेवाग्राही गद्दाफीले शनिबार बिहान भोक हडताल सुरु गरेका हुन्। उनले आन्दोलन अन्त्यसम्म जारी राख्ने बताएको रोमानोसले उल्लेख गरेको छ।
अधिवक्ता रोमानोसले यस मामिलामा सञ्चारमाध्यमसँग विस्तृत विवरण राख्ने अधिकार नभएको भन्दै थप कुरा नगर्ने बताए। यद्यपि, गद्दाफीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अवस्थाको वर्णन गरेका छन्।
गद्दाफीको विज्ञप्तिमा भनिएको छ, ‘यतिका वर्षसम्म निष्पक्ष सुनुवाइबिना नै राजनीतिक बन्दीलाई कसरी राख्न सकिन्छ ?’
लिबियाली नागरिक रहेका गद्दाफीले आफू भोक हडतालमा रहेको र आफूविरूद्ध अन्यायपूर्ण व्यवहार गर्नेहरू नै नतिजाका लागि जिम्मेवार हुने बताए। उनले ‘वर्तमान शासकको हातबाट कानुनलाई मुक्त गर्ने समय आएको’ बताए।
रोमानोसका अनुसार आफ्ना सेवाग्राहीलाई वर्षौंसम्म सानो कोठामा हिँडडुल गर्न वा व्यायाम गर्न पनि नमिल्ने गरी राख्दा ढाड दुख्ने समस्या भएको छ।
सन् १९७८ मा लेबनानका प्रमुख सिया धर्मगुरु मौसा अल–सदर बेपत्ता हुनु लेबनानमा लामो समयदेखि पीडादायी विषय बनेको छ। धर्मगुरुको परिवारले उनी अझै पनि लिबियाको जेलमा जीवितै रहेको हुन सक्ने विश्वास गरेका छन्, यद्यपि, अधिकांश लेबनानीहरूले अल–सदरको मृत्यु भएको अनुमान गरेका छन्। जीवितै रहेमा उनी अहिले ९४ वर्ष पुगेका छन्।
अल–सदर एक सिया राजनीतिक र सैन्य समूहका संस्थापक हुनुहुन्थ्यो र उहाँले १९७५ मा सुरु भएको लामो लेबनानी गृहयुद्धमा भाग लिएका थिए।
इरानको पवित्र सहर कोममा जन्मिएका अल–सदर सन् १९५९ मा लेबनानको दक्षिणी बन्दरगाह सहर टायरमा सियाहरूको अधिकारका लागि काम गर्न आउनुभएको थियो। सन् १९७४ मा लेबनानको १५ वर्षे गृहयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि अल–सदरले ‘मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना गर्नुभयोे, जसले हजारौँ अनुयायीहरूलाई आकर्षित गर्यो।
मुभमेन्ट अफ डिप्राइभ’ को स्थापना भएको अर्को वर्ष उहाँले अमाल नामक सैन्य एकाइको स्थापना गरेका थिए। अमालको अर्थ अरबी भाषामा ‘आशा’ हो र यही नामको लडाकु समूहको नाममा उहाँको समूह लेबनानको गृहयुद्धमा लडेको थियो। यस समूहको नेतृत्व लेबनानको शक्तिशाली संसद्का सभामुख नाबिह बेरीले गरिरहेका थिए।