
बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद–बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।
खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्छ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्छ ।
नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत रहेको ‘खुला बजार कारोबार सञ्चालन समिति’ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवं संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्बन्धी प्रतिवेदन तथा निक्षेप एवं कर्जाको विस्तार, अन्तरबैंक ब्याजदर, विदेशी विनिमयको प्रवाहलगायतका वित्तीय सूचकका आधारमा आवश्यकताअनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ ।