विपन्न उपचारको खर्च मिर्गौला बिरामीमा केन्द्रित

झन्डै ५२ प्रतिशत खर्च मिर्गौला बिरामीलाई, डायलाइसिसमा मात्र १० करोड ५२ लाखभन्दा बढी खर्च

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण
विपन्न उपचारको खर्च मिर्गौला बिरामीमा केन्द्रित

वीर अस्पतालमा विभिन्न रोगको डायलाइसिस गराइरहेका विरामी । तस्बिरः नयाँ पत्रिका

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सरकारले हेमोडायलाइसिस, सेरोपोजेटिभ, पेरिटोनियल डायलाइसिस, क्यान्सर, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स, सिकलसेल एनिमिया, मिर्गौला प्रत्यारोपण र मिर्गौला प्रत्यारोपणपूर्व गरिने परीक्षण र प्रत्यारोपणपछि गरिने औषधि सेवन खर्चसहित उपचारमा सहयोग गर्दै आएको छ । तर, पछिल्लो समय विपन्न उपचारको खर्च मिर्गौला बिरामीमा केन्द्रित हुन थालेको छ ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत मिर्गौलाका बिरामीलाई मात्र झन्डै ५२ प्रतिशत खर्च भइरहेको छ । सरकारले मिर्गौला फेल भएका बिरामीलाई निःशुल्क डायलाइसिस, औषधि र प्रत्यारोपणमा सहयोगस्वरूप गरिरहेको खर्च मात्रै विपन्नलाई छुट्याएको खर्चको आधाभन्दा बढी हिस्सा ओगटेको हो । निःशुल्क डायलाइसिसका लागि सरकारले सरकारीसँगै निजी स्वास्थ्य संस्थालाई समेत सूचीकृत गरेसँगै विपन्न उपचारको खर्च मिर्गौला बिरामीमा केन्द्रित हुन थालेको हो । जसमध्ये अधिकांश खर्च डायलाइसिसमा भइरहेको छ ।

पछिल्लो आर्थिक वर्षमा मिर्गौला फेल भएका बिरामीको उपचारमा एक अर्ब १७ करोड ९८ हजार रुपैयाँ खर्च गरिएको छ । हाल विपन्न सेवामार्फत उपचार पाइरहेका १२ वटा शीर्षकमा दुई अर्ब २७ करोड ४३ लाख ७७ हजार रुपैयाँ खर्च गरिएको छ । मिर्गौला फेल भएका बिरामीलाई विशेष सहुलियत दिइरहेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमले हाल हेमोडायलाइसिस, सेरोपोजेटिभ, पेरिटोनियल डायलाइसिस, औषधि सेवन (एकिआइ), मिर्गौला प्रत्यारोपण र मिर्गौला प्रत्यारोपणपूर्व गरिने परीक्षण र प्रत्यारोपणपछि गरिने औषधि सेवन खर्च व्यहोर्दै आएको छ । 

आव ०७८/७९ मा सरकारी, सामुदायिक र निजी अस्पतालमा गरी १३ हजार दुई सय १६ जनाले हेमोडायलाइसिस गराएका छन् । जसमा विपन्न नागरिक औषधि उपचार कार्यक्रमले ९६ करोड २० लाख ७३ हजार पाँच सय १९ रुपैयाँ भुक्तानी गरेको छ ।

सेरोपोजेटिभ गराएका एक सय आठ बिरामीमा तीन करोड ६४ लाख, पेरिटोनियल डायलाइसिस गराएका दुई सय नौ बिरामीमा ६ करोड १५ लाख एक सय ४८ रुपैयाँ, औषधि सेवन (एकिआइ) गराएका ६ सय १० बिरामीमा दुई करोड ८३ लाख २९ हजार तीन सय ५० रुपैयाँ, मिर्गौला प्रत्यारोपण गराएका ६ सय ६० बिरामीमा ६ करोड १० लाख ५६ हजार ६ सय ९९ रुपैयाँ र मिर्गौला प्रत्यारोपणपूर्व परीक्षण र प्रत्यारोपणपछि औषधि सेवन खर्चबापत दुई करोड ७९ लाख ८३ हजार नौ सय ३० रुपैयाँ खर्च गरेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकले देखाउँछ । आ.व. ०७७/७८ मा पनि विपन्न उपचारका लागि गरिएको खर्चमध्ये मिर्गौलाको उपचारमा १० करोड ९१ लाख ८२ हजार एक सय ८३ रुपैयाँ खर्च भएको थियो । 

मिर्गौला बिग्रने बिरामीको संख्या प्रत्येक वर्ष बढ्दो
समय–समयमा गर्नुपर्ने स्वास्थ्य परीक्षणको अभावमा पछिल्लो समय मिर्गौला फेल हुने बिरामीको संख्या प्रतिवर्ष बढिरहेको चिकित्सकहरूले बताएका छन् । सरकारले मिर्गौला फेल हुन नदिन स्वास्थ्य जनचेतना बढाउनुको सट्टा डायलाइसिस सेवा बढाउनमा मात्रै केन्द्रित भइरहेकाले उपचारमा आर्थिक भार बढिरहेको विज्ञहरूको भनाइ छ । प्रतिवर्ष तीन हजारको मिर्गौला फेल हुने अनुमान गरिए पनि न्यून संख्यामा मात्रै प्रत्यारोपण भइरहेकाले डायलाइसिसको सेवा विस्तार गरिरहेको नर्सिङ तथा सामाजिक सुरक्षा महशाखा प्रमुख डा. खगेश्वर गेलालले बताए ।

‘बढ्दो बिरामीको भार नियन्त्रणका लागि डायलाइसिसको विकल्प खोज्नुपर्ने अति आवश्यक देखिएको छ । उपचारमा बढ्दो भार र प्रत्यारोपण नगर्दासम्म लगातार गर्नुपर्ने डायलाइसिस, अस्पतालसम्म पुग्ने खर्च, घरनजिक सेवा उपलब्ध नहुँदा अस्पतालनजिक डेरा गरेर बस्नुपर्ने बाध्यता र यसले थप्ने आर्थिक भार, वर्षौँसम्म बिरामीको एकजना कुरुवा बस्नुपर्ने अवस्था र यसले बिरामी र परिवारमा ल्याउने तनावको असरको कुनै लेखाजोखा गर्न सकिन्न ।

मिर्गौला फेल हुन नदिन नियमित स्वास्थ्य परीक्षण र प्रत्यारोपणको दर बढाउनुको साटो प्राथमिक उपचारका रूपमा भइरहेको डायलाइसिस सेवामा बढी खर्च भइरहेको छ,’ उनले भने । हाल सातवटै प्रदेशमा सरकारी, सामुदायिक र निजी गरी एक सय १९ वटा स्वास्थ्य संस्थाले निःशुल्क डायलाइसिस सेवा दिइरहेका छन् । जसमध्ये सबैभन्दा बढी बागमतीमा ६२ वटा स्वास्थ्य संस्थामा डायलाइसिस सेवा उपलब्ध छ । कर्णालीमा दुईवटा स्वास्थ्य संस्थाले मात्र निःशुल्क डायलाइसिस सेवा दिइरहेका छन् । सुदूरपश्चिममा तीन, लुम्बिनीमा १४, गण्डकीमा १४, मधेसमा आठ र कोसीमा १५ स्वास्थ्य संस्थाले निःशुल्क डायलाइसिस सेवा दिइरहेका छन् । 

विपन्नलाई अनिवार्य १० प्रतिशत बेड छुट्याउन पुनः निर्देशन 
स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय र बेवारिसेलाई अनिवार्य कुल बेडको १० प्रतिशत छुट्याएर सेवा दिन सबै अस्पताललाई पुनः निर्देशन दिएको छ । वडाको सिफारिस वा पूर्वनेपाल सरकारबाट जारी भएको गरिब परिचयपत्रका आधारमा सेवा दिन निर्देशन दिएको हो । आइतबार मन्त्रालयले सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई पत्र पठाउँदै विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत बेड छुट्याई त्यसलाई कार्यान्वयनमा ल्याउन भनेको छ । 

विपन्नलाई स्वास्थ्य सेवा सहज उपलब्ध गराउन विपन्न असहाय र बेवारिसेको लागि छुट्याइने १० प्रतिशत बेडका लागि स्थानीय तहले गरेको सिफारिसको आधार र सरकारले यसअघि वितरण गरेको गरिब परिचयपत्रको आधारमा दिन सकिने मन्त्रीस्तरीय निर्णय गरिएको हो । मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्थाबमोजिम सरकारले तयार गरेको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को (घ)मा भएको व्यवस्थाको कार्यान्वयन गर्न खोजेको जनाएको छ । यसका साथै १० प्रतिशत निःशुल्क शड्ढयाका विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाले यसअघि नै कार्यान्वयनमा ल्याउनुपर्ने र सेवा नदिने अस्पताललाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिइसकेका छन् ।

 निजी र सरकारी अस्पतालमा छड्के अनुगमन गर्दै स्वास्थ्य मन्त्रालय 
अस्पतालहरूको सेवामा सुधार आवश्यक भएको भन्दै स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालमा अनुगमन तीव्र पारेको छ । उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाबारे अनुगमन गर्दै सेवा सञ्चालनमा सुधार ल्याउन निजी र सरकारी अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो । सरकारी अस्पतालमा उपकरण सञ्चालनको अवस्था, स्वास्थ्यकर्मीले नियमित काम गरे–नगरेको, अस्पतालका सेवा सञ्चालनमा रहे–नरहेको र निजी अस्पतालले विपन्नलाई १० प्रतिशत बेड छुट्याएको लगायत विषयमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले अनुगमन गरिरहेको छ । 

मन्त्रीसहितको टोलीले हालसम्म वीर अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्रमा अनुगमन गरिसकेको छ । यस्तै, मेडिकेयर, ह्याम्स र चिरायु अस्पतालमा अनुगमन गरेर विपन्नलाई सेवा दिन निर्देशन दिएको छ । मन्त्रालयले अस्पतालहरूमा थन्किएका उपकरण प्रयोगमा ल्याउन र प्रयोगविहीन भएका उपकरण विभाग पठाउन निर्देशन दिएको छ । साथै, अन्य सेवामा समेत सुधार गरेर एक साताभित्र सञ्चालनमा ल्याउन भनिएको छ ।  मन्त्री बस्नेतले अनुगमनपछि सेवा राम्रो हुँदै गएको बताए ।

सुझावित समाचार