मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ २२ सोमबार ०६:१४:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

जस्तो आफू त्यस्तै संसार

Read Time : < 1 मिनेट
२०८० जेठ २२ सोमबार ०६:१४:००

गुरु द्रोणको आश्रममा पाण्डव र कौरव शिष्यहरूले शस्त्रविद्यामा राम्रै प्रगति गरिरहेका थिए । गुरु पनि प्रसन्न थिए । उनी आफ्ना शिष्यहरूको योग्यता जाँच्न अनेक परीक्षा लिन्थे । एक दिन गुरु द्रोणाचार्यले शिष्यको परीक्षा लिने विचार गरे । उनले दुर्योधनलाई बोलाएर भने– दुर्योधन, तिमी नजिकको गाउँबाट एकजना असल मान्छे खोजेर ल्याऊ ।

‘हवस् गुरुदेव’ भन्दै दुर्योधन निस्किए । केही दिनपछि उनी एक्लै आश्रममा फर्किए । गुरुको अगाडि हात जोडेर उनले भने– गुरुदेव, मैले धेरै गाउँ र सहरको भ्रमण गरेँ । तर, कुनै असल मानिस भेट्न सकिनँ । 

ठीकै छ, तिमी दुःखी नबन भन्दै गुरुले युधिष्ठिरलाई बोलाए । उनले भने– युधिष्ठिर, तिमी आसपासको गाउँमा जाऊ र एकजना खराब मानिस खोजेर ल्याऊ । ‘हवस् गुरुदेव’ भनेर बाटो लागे । केही दिनपछि उनी पनि एक्लै आश्रममा फर्किए । गुरुले सोधे– युधिष्ठिर, तिमीले मैले भनेअनुसार खराब मानिस ल्यायौ त ? हात जोडेर युधिष्ठिरले भने– गुरुदेव, मैले सबैतिर खराब मान्छे खोजेँ, तर त्यस्तो मान्छे कतै पनि पाइनँ । सबै राम्रैराम्रा मान्छे मात्र भेटिए ।

युधिष्ठिरको कुरा सुनेर सबै शिष्यले सोधे– गुरुदेव, दुर्योधनले कोही पनि असल मान्छे भेटेनन् भने युधिष्ठिरले खराब मानिस भेटेनन् । यो कसरी सम्भव भयो ?मुसुक्क मुस्कुराउँदै द्रोणले भने– यो सब आ–आफ्नो दृष्टिको प्रभाव हो । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेको यही हो ।