१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Monday, 24 June, 2024
कुलचन्द्र अर्याल
२o८o जेठ २१ आइतबार ११:o७:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पर्यापर्यटनका सम्भावना र चुनौती

Read Time : > 4 मिनेट
कुलचन्द्र अर्याल
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार ११:o७:oo

स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पुर्‍याउनु र उनीहरूको मौलिकता संरक्षण गर्नु फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो 

पर्यटनका माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणका साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने वातावरणमैत्री पर्यटन नै पर्यापर्यटन वा इकोटुरिजम हो । अन्तर्राष्ट्रिय पर्यापर्यटन समाजका अनुसार पर्यावरणीय पर्यटन भनेको प्राकृतिक क्षेत्रको जिम्मेवारीपूर्ण भ्रमण हो, जसले वातावरणको संरक्षणका साथै स्थानीय जनताको समृद्धिलाई सुनिश्चित गर्नुका साथै मानिसमा पर्यावरणीय चेतना र शिक्षाको अभिवृद्धि गर्दछ । वन्यजन्तु, वनस्पति तथा सांस्कृतिक आकर्षणयुक्त गन्तव्यमा फस्टाउने पर्यटन नै वास्तवमा पर्यापर्यटन हो । वातावरण संरक्षण तथा आर्थिक सामाजिक विकासको क्षेत्रमा पर्यटनको महत्वलाई आत्मसात् गर्दै विश्वमा सन् १९८० को दशकदेखि पर्यापर्यटनको अवधारणा लोकप्रिय बनेको हो । पछिल्लो समय पर्यापर्यटनलाई वातावरणीय सचेतना वृद्धि तथा पर्यावरण अनुसन्धानको क्षेत्रमा पनि महत्वपूर्ण मानिँदै आएको छ । पर्यापर्यटनको आधारभूत सिद्धान्तले पर्यटनका माध्यमबाट जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक आर्थिक लाभको समन्यायिक वितरणमा जोड दिन्छ । तथापि, प्राकृतिक वातावरणमा पर्यटकको अत्यधिक आगमनका कारण प्राकृतिक सन्तुलनमा पर्ने नकारात्मक असर तथा पर्यटन व्यवसाय र स्थानीय बासिन्दाबीचको द्वन्द्वलाई सर्वथा नकार्न सकिन्न । 

एक तथ्यांकअनुसार सन् २०२१ मा विश्व पर्यापर्यटन बजारको आकार १ खर्ब ८५ अर्ब ८७ करोड डलर रहेकोमा सन् २०२२ मा २ खर्ब ८ अर्ब डलर नाघेको छ । सन् २०२२ देखि २०३० सम्ममा पर्यावरणीय पर्यटनको विश्वबजार वार्षिक १५.२ प्रतिशतले बढ्ने आकलन छ । प्रकृतिमैत्री पर्यटनप्रति आममानिसको आकर्षण बढ्दै गएका कारण हाल विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटनको विधाका रूपमा पर्यापर्यटन अग्रणी स्थानमा रहेको छ । मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न आउनेहरू र प्रकृतिको अध्ययन अनुसन्धानका लागि भित्रिने अध्येताहरू नै पर्यापर्यटक अर्थात् इकोटुरिस्ट हुन् । 

विश्वमा पर्यावरण विज्ञान फस्टाउँदै गएको, प्रकृतिको अध्ययन अनुसन्धानमा मानिसको रुचि बढ्दै गएको र आधुनिकीकरणसँगै प्राकृतिक स्थलहरूको कमी हुँदै गएका कारण प्राकृतिक वातावरण जोगाएका क्षेत्रहरू पर्यटकको गन्तव्य बनिरहेका छन् । चुनौती भनेको बढ्दो पर्यटक संख्यालाई कसरी व्यवस्थापन गर्ने र वातावरणलाई बिग्रन नदिएर पर्यटनलाई दिगो बनाउने भन्ने हो । योसँगै सदियौँदेखि स्थानीय पर्यावरणको रक्षा गर्दै आएका स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पुर्‍याउनु र उनीहरूको मौलिकताको संरक्षण गर्नु पनि फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो । 

क्षेत्रफलका हिसाबले विश्वमानचित्रमा निकै सानो भए पनि जैविक विविधताको दृष्टिले नेपाल अग्रणी स्थानमा पर्छ । नेपालमा ३ सय ५० प्रजातिका वनस्पति र १ सय ६० प्रजातिका जीवजन्तु रैथाने छन्, जो अन्त कतै पाइँदैनन् । नेपालमा विश्वका झन्डै नौ प्रतिशत चराका प्रजाति, तथा २ प्रतिशत फूल फुल्ने वनस्पतिका प्रजाति पाइन्छन् । उत्तर–दक्षिण औसतको १ सय ९३ किलोमिटर चौडाइभित्र समुद्र सतहबाट करिब ५८ मिटरदेखि विश्वकै सबैभन्दा अग्लो भाग सगरमाथासम्म रहेकाले नेपाल भौगोलिक र जलवायुजन्य विविधताको दृष्टिले विश्वमै उदाहरणीय छ । नेपालमा तराई क्षेत्रमा विद्यमान हावापानीलाई भूमध्यरेखीय उष्ण हावापानीसँग दाँज्न मिल्छ भने उच्च हिमाली क्षेत्रको हावापानीलाई ध्रुवीय हावापानीसँग तुलना गर्न सकिन्छ । तराईदेखि हिमाली क्षेत्रसम्म पाइने वनस्पति तथा जीवजन्तुमा पनि ठूलो भिन्नता छ । 

नेपालको कुल क्षेत्रफलको दुईतिहाइभन्दा धेरै पहाडी क्षेत्र छ, जहाँ विश्वको सबैभन्दा अग्लो सगरमाथादेखि लिएर विशिष्ट जैविक तथा भौगोलिक विशेषता बोकेका पर्यटकीय क्षेत्र तथा संसारकै उत्कृष्ट पदमार्गसमेत छन् । यसकारण सानो भूखण्डभित्र जैविक तथा जलवायुजन्य विविधताको अध्ययनका लागि नेपाल एउटा उत्कृष्ट ठाउँ बन्न सक्छ । जैविक मात्र नभएर सामाजिक र सांस्कृतिक विविधता र मौलिकता पर्यटकका लागि आकर्षणको विषय हो । 

तथ्यांकका अनुसार नेपालमा आउने पर्यटकमध्ये करिब ६७ प्रतिशत बिदा, मनोरञ्जन तथा यात्राका लागि, १०.३ प्रतिशत पर्वतारोहण तथा पदयात्राका लागि, ७.४ प्रतिशत तीर्थयात्राका लागि तथा १५.५ प्रतिशत अन्य प्रयोजनका लागि नेपालमा आउने गरेका छन् । नेपाल आउने पर्यटकमध्ये हरेक दुईमा एकजना राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा सिकार आरक्षजस्ता संरक्षित क्षेत्रमा पुग्ने गरेका छन् । नेपालमा पर्यटक आउनुको मुख्य कारण भनेकै यहाँको प्राकृतिक छटा, जैविक तथा भौगोलिक विविधता तथा सांस्कृतिक मौलिकता नै हो । देशको झन्डै २३.४ प्रतिशत क्षेत्र अहिले संरक्षित क्षेत्रको रूपमा रहेको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार आव ०७७/७८ मा नेपालका संरक्षित क्षेत्रहरू भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या १ लाख ३४ हजार थियो । जब कि त्यसको अघिल्लो आवमा ५ लाखभन्दा धेरै पर्यटकले संरक्षित क्षेत्रहरूको भ्रमण गरेका थिए ।

नेपालमा पर्यटनलाई वातावरण संरक्षणसँग आबद्ध गर्न सकिएको त छैन नै, पर्यटनले स्थानीय मौलिक कला, संस्कृति तथा परम्परामा पारेको नकारात्मक असरबारे पनि ध्यान दिइएको छैन

त्यस्तै, आव ०७५/७६ मा ७ लाखभन्दा धेरै पर्यटक संरक्षित क्षेत्रमा पुगेका थिए, जुन हालसम्मकै बढी हो । संरक्षित क्षेत्रहरूबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व संकलनसमेत हुने गरेको छ । नेपालका हरेक संरक्षित क्षेत्रमा कुनै न कुनै विशेष महत्वका वन्यजन्तु, वनस्पति वा भौगोलिक संरचना विद्यमान छ । त्यसैले नेपालका हरेक क्षेत्र पर्यापर्यटनको दृष्टिले निकै महत्वपूर्ण छन् । तर पनि पर्यटनको सम्भावना बोकेका धेरै क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसार भने हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जलगायतमा बाहेक अन्य क्षेत्रमा पर्यटकलाई उतिसारो पुर्‍याउन सकिएको छैन । 

पर्यटक जाने संरक्षित क्षेत्रहरूमा पनि पर्यटनलाई वातावरण संरक्षण र स्थानीय बासिन्दाको आर्थिक सामाजिक विकाससँग आबद्ध गर्न नसकिएको अवस्था छ । जसका कारण जैविक विविधताप्रति स्थानीय बासिन्दाले अपनत्व बोध गर्न सकिरहेका छैनन् र पर्यटनका नकारात्मक असर वातावरणमा पर्न थालेका छन् । स्थानीय तहहरूले विभिन्न प्राकृतिक स्थललाई पर्यटकीय क्षेत्रको रूपमा ब्रान्डिङ तथा विकास गरेर स्वदेशी पर्यटक प्रशस्तै आकर्षित गरे तापनि विदेशी पर्यटकको गन्तव्यस्थलमा विविधीकरण हुन सकेको छैन । 

नेपालमा पर्यटनलाई वातावरण संरक्षणसँग आबद्ध गर्न सकिएको त छैन नै, पर्यटनले स्थानीय मौलिक कला संस्कृति तथा परम्परामा पारेको नकारात्मक असरका बारेमा पनि ध्यान दिइएको छैन । सन् ६० को दशकमा नेपालमा प्रजातन्त्र प्राप्तिसँगै विश्व समुदायका लागि खुला भएपछि जसरी हिप्पीहरूको बाढी आउँदा नेपाली युवा बिग्रिएका थिए, त्यसैगरी वातावरणमा पर्यटनको असरलाई व्यवस्थापन गर्न सकिएन भने त्यसले ठूलो पर्यावरणीय क्षति पुर्‍याउने पक्का छ । पर्यटनसँगै स्थानीय बासिन्दाको हकहितको संरक्षणमा पनि ध्यान दिनु आवश्यक छ । नत्र बाहिरिया आएर फाइदा कमाउने र स्थानीय बासिन्दा विस्थापित हुनुपर्ने अवस्था आउनेछ । यस्तो अवस्था कतिपय क्षेत्रमा देखिइसकेको छ । 

पर्यटनको विस्तारसँगै प्राकृतिक क्षेत्रआसपास जनसंख्याको चाप बढ्ने र प्राकृतिक स्रोतको अत्यधिक दोहन हुने, मानिसको चाप बढेपछि फोहोरमैला उत्सर्जनमा वृद्धि हुने र मानिसको आवागमन बढेपछि वन्यजन्तु तथा वनस्पतिमा समेत नकारात्मक असर पर्ने हुन्छ । अध्ययन अनुसन्धानको नाममा आउने विदेशी पर्यटकको निगरानी भएन भने जैविक तथा आनुवंशिक चोरीसमेत हुन सक्ने खतरा रहन्छ, यसतर्फ सचेतता आवश्यक छ । पर्यापर्यटनको राम्रोसँग व्यवस्थापन हुन नसक्दा उत्पन्न भएको नकारात्मक परिस्थितिको उदाहरण दक्षिण अफ्रिका हो, जहाँ पर्यापर्यटनबाट सरकारले राम्रो आम्दानी गरे पनि स्थानीय बासिन्दा विस्थापित बनेका छन्, पर्यटन विस्तारको नाममा उनीहरूको अफ्नो घरमा बस्न पाउने आधारभूत अधिकारको हनन भएको छ र भूमि प्रयोगको विषयमा द्वन्द्व उत्पन्न भइरहेको छ । 

नेपालमा हाल पर्यटन उद्योगले निर्यात उपभोग्य वस्तुको ३८ प्रतिशत र गैरउद्योग सेवाहरूको कुल २० प्रतिशतका साथै विदेशी विनिमय आर्जनको झन्डै ३ प्रतिशत योगदान पुर्‍याउँछ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान करिब ४ प्रतिशत छ । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधारस्तम्भको रूपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारणसम्म पुर्‍याउने लक्ष्य नेपालको पर्यटन नीतिले लिएको छ । राष्ट्रिय पर्यटन रणनीतिक योजनाले ११ वटा विशेष रणनीतिक लक्ष्यमध्ये प्राकृतिक वातावरण संरक्षणसम्बन्धी लक्ष्यको रूपमा प्रदूषणरहित पर्यटन विकास गरी पर्यटनको वातावरणीय प्रभाव न्यूनीकरण गर्न उपयुक्त रणनीति तय गर्ने, योजना तर्जुमा तथा कार्यान्वयन गरेर पर्यावरण अनुकूलन पर्यटन र असल अभ्यासलाई प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । 

रणनीतिक योजनाले सन् २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटक संख्या २५ लाख २२ हजार पुग्ने तथा पर्यटकको औसत नेपाल बसाइ १५ दिन पुग्नुका साथै पर्यटन क्षेत्रबाट जिडिपीमा हुने प्रत्यक्ष योगदान ९ प्रतिशतभन्दा धेरै हुने प्रक्षेपण गरेको छ । यद्यपि, पर्यटनका पूर्वाधारको विकास तथा पर्यटनका क्षेत्र र गन्तव्यको पहिचान, प्रवद्र्धन तथा विविधीकरणमा ध्यान पुग्न सकेको छैन । नेपाली परिवेशमा पर्यापर्यटनको उद्देश्य पर्यटन र वातावरणमा सामाञ्जस्य ल्याउनु हो, जसका माध्यमबाट स्थानीय ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन सकियोस् । तर, पर्यटनलाई विकेन्द्रित गर्दै यसको लाभ आधारभूत तहसम्म पुर्‍याउने कुरामा गाम्भीर्य देखिँदैन । पर्यापर्यटनको कुरा गर्दा पर्यटकका लागि चितवनमा गएर हात्तीमा चढ्नु, पोखरा गएर प्याराग्लाइडिङ तथा पदयात्रा अनि केही सीमित पर्वतारोहीका लागि सगरमाथालगायतका हिमाल आरोहण गर्नु मात्रै सीमित विकल्पको रूपमा रहेका छन् । धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूमा पूर्वाधार विकास र प्रचार प्रसार गरिएको छैन । वास्तवमै प्राकृतिक छटा र विविधताले भरिपूर्ण नेपालका हरेक क्षेत्रमा पर्यापर्यटन विस्तारको सम्भावना छ । यसका लागि ती क्षेत्रको पहिचान, प्रचार प्रसार तथा व्यवस्थित, जनसहभागितामूलक र दिगो पर्यटन विकासको नयाँ सोच आवश्यक छ । 

अर्याल नेपाल सरकारका शाखा अधिकृत हुन् ।

ad
ad
ad
ad