१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘पिक एन्ड ड्रप’ शैलीमा जाँदै नयाँ बसपार्क

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:५४:oo

पार्किङका लागि छुट्टै ठाउँ खोजिँदै, कलंकी–जडीबुटीमा लामो दूरीका सवारी रोक्न निषेध

गोंगबुस्थित नयाँ बसपार्कलाई ‘पिक एन्ड ड्रप’ शैलीमा सञ्चालन गरिने भएको छ । सवारीसाधन धेरै र स्पेस कम भएका कारण सबै सवारीसाधनलाई ‘पार्किङ स्पेस’ अपुग हुन थालेपछि ‘पिक एन्ड ड्रप’ शैलीमा लैजान लागिएको हो । 

यसअघि काठमाडौं महानगरले काठमाडौंबाट बाहिरिने लामा तथा मध्यम दूरीका सवारीसाधनलाई १ असारदेखि अनिवार्य रूपमा गोंगबुस्थित बसपार्कबाट छुट्न सूचना जारी गरेको थियो । सोहीअनुसार बसपार्कबाहिरका टिकट काउन्टर हटाउन महानगरले सूचना जारी गरेको छ । महानगरको सूचनासँगै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सबै बसलाई व्यवस्थित गर्न थालिसकेको जनाएको छ । महानगरले नयाँ बसपार्क सञ्चालनका लागि ल्होत्से बहुउद्देश्यीय संस्थालाई भाडामा दिएको छ । 

‘पिक एन्ड ड्रप’ अवधारणा लागू गर्नेबारे यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, महानगर, महासंघ र ल्होत्से बहुउद्देश्यीयबीच छलफल चलिरहेको छ । महानगरको सूचनापछि महासंघले पनि ‘पिक एन्ड ड्रप’ उपयुक्त हुने जनाएको छ । 

काठमाडौं महानगरका ट्राफिक प्रहरी प्रमुख सल्लाहकारजगतमान श्रेष्ठले बसपार्क र सडकहरू अव्यवस्थित भएकाले सबै बसलाई बसपार्कमै जानुपर्ने व्यवस्था गरेको बताए । उनले छुट्नुभन्दा एक घन्टाअघि र बसपार्क छिरेको एक घन्टासम्म मात्रै रहन पाइने बताए । त्यसपछि पार्किङका लागि व्यवसायी आफैँले ठाउँ खोज्नुपर्नेछ । ‘कतिपयले बसपार्कमा दुई–तीन दिनसम्म पार्किङ गरेको पाइयो, यसो गर्न पाइँदैन,’ उनले भने, ‘त्यसकारण हामीले पिक एन्ड ड्रप नियम लागू गर्न लागेका हौँ ।’

बाहिरका काउन्टर हटाउँदा धेरैको रोजीरोटी गुम्ने
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बसपार्कबाट लामो दूरीका बस सञ्चालन गर्नैपर्ने नियम यसअघि नै जारी गरे पनि व्यवसायीले अटेर गरेको बताए । ‘हाम्रो बसपार्क साँघुरो छ, यसअघि पनि बसपार्कबाहिरका काउन्टर हटाउन भनेका थियौँ, तर अहिलेसम्म हटेका छैनन्,’ उनले भने, ‘अब हामी व्यवस्थित गर्छौँ, बसपार्कलाई पिक एन्ड ड्रपको नियमबाट सञ्चालन गर्छौँ ।’ तर, उनले बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउँदा कतिपयको रोजगार गुम्ने र यात्रुहरूलाई असहज हुने बताए । यसबारे महानगरले थप छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ । बसहरूले अनलाइन टिकट काट्न सकिने व्यवस्था गरे पनि सबै यात्रुले अनलाइन टिकट काट्न नसक्ने भएकाले प्रभावकारी नहुने स्वाँरको भनाइ छ । उपत्यकाबाट बाहिरिने केही डिलक्स तथा एसी बसहरूले मात्रै अनलाइन टिकेटिङ गर्छन् । 

कति छन् उपत्यकामा टिकट काउन्टर ?
गोंगबु बसपार्क करिब एक सय ५० रोपनीमा छ । यहाँ ३० वटाभन्दा बढी टिकट काउन्टर छन् । यसबाहेक उपत्यकाभित्र छरिएका सबैखाले काउन्टरको संख्या पाँच सयभन्दा बढी छ । सबैतिर काउन्टर छरिँदा यात्रुहरूलाई सेवा लिन असहज भएको र अव्यवस्थित भएको भन्दै महानगरले काउन्टर पनि व्यवस्थित गर्न निर्देशन दिएको छ । महानगरले कलंकी–जडीबुटीमा लामो दूरीका सवारी रोक्न निषेधसमेत गरेको छ । 

हाल काठमाडौंबाट दैनिक लामो तथा मध्यम दूरीका करिब सात सय सवारीसाधन छुट्छन् । यसमध्ये कतिपय बस बसपार्क पुग्दैनन् । अन्य ठाउँबाटै छुट्ने गर्छन् । 

पार्किङका लागि नयाँ ठाउँको खोजी
अहिले लामो दूरीका बस पार्किङ गर्ने ठाउँ पनि नयाँ बसपार्क नै हो । अब सबैतिरका बस यहीँबाट सञ्चालन हुने भएपछि यो ठाउँमा पार्किङ गर्ने ठाउँ पुग्दैन । बिहानदेखि राति अबेरसम्म लामो तथा मध्यम दूरीका सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यहाँ पार्किङ गर्दा जाम र अव्यवस्थित हुन्छ । सोही कारण बसपार्कका लागि नयाँ ठाउँको खोजी भइहेको महासंघले जनाएको छ । यसका लागि महानगरसँग सल्लाह भइरहेको र महानगरले नै ठाउँ उपलब्ध गराउने महासंघका अध्यक्ष स्वाँरले जानकारी दिए । ‘सबै बस गोंगबुमै जाने भएपछि त्यो ठाउँ अपुग हुन्छ, अब त्यहाँ ‘पिक एन्ड ड्रप’ मात्रै हुन्छ, त्यसकारण हामीले अर्को ठाउँमा पार्किङका लागि बसपार्क बनाउन आवश्यक छ,’ उनले भने, ‘यसबारे महानगरसँग छलफल भइरहेको छ ।’ महानगरका अनुसार पार्किङका लागि छुट्टै बसपार्क बनाउने सम्बन्धमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र महानगरबीच थप छलफलपछि मात्रै ठाउँ निक्र्योल हुनेछ । अहिले महानगरभित्र सिटी बसपार्कसमेत छैन । उपत्यकाभित्रका स्थानीय रुटका सवारीसाधन ‘पिक एन्ड ड्रप’अनुसार नै सञ्चालन भइरहेका छन् ।

अटेर गरे १ असारदेखि कारबाही
काठमाडौं महानगरले सबै बसलाई गोंगबुबाट सञ्चालन हुनुपर्ने र अटेर गरे १ असारदेखि कारबाही गर्ने भएको छ । उपत्यकाबाट बाहिरिने–भित्रिने बसहरूले जथाभावी पार्किङ गरेको, टिकट बुकिङ काउन्टर खोलेको, जथाभावी यात्रु चढाउने र ओराल्ने गरेको पाइए कारबाही गर्ने महानगरको चेतावनी छ । अनधिकृत स्थानमा पार्किङ गर्नेलाई कारबाही गरिने भन्दै जथाभावी यात्रु नचढाउन र नओराल्न व्यवसायीलाई आग्रह गरेको छ । 

ad
ad