१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० जेठ २० शनिबार १६:३६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्यासिनोमा हुने मदिराको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीलाई व्यवसायीको आग्रह

Read Time : > 1 मिनेट
२०८० जेठ २० शनिबार १६:३६:००

भैरहवामा रहेका क्यासिनोहरूले मदिराको अवैध कारोबार गर्ने गरेको व्यवसायीहरूले गुनासो गरेका छन्।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन र मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीले भैरहवामा आयोजना गरेको व्यावसायिक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले क्यासिनोले ग्राहकलाई सेवा दिने बहानामा होटेलदेखि सीमानाकासम्म सञ्चालन हुने सवारीसाधनमा अवैध मदिरा भित्राउने गरेको बताए।

भारतबाट भन्सार छलेर भित्राइएका मदिरा अहिले क्यासिनोमा छ्यापछ्याप्ती भेटिने उनीहरू बताउँछन्। क्यासिनोभित्र हुने अवैध मदिरा र लोकल मदिरा नियन्त्रणमा प्रहरीले सक्रियता देखाउनुपर्ने मदिरा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष केशवराज ज्ञवालीले बताए।

उद्योगले निम्न गुणस्तरकोदेखि उच्च गुणस्तरको मदिरा उत्पादन गर्ने गरेको र हरेक मदिराको बोतलबाट सरकारलाई राजस्व उपलब्ध हुने भएकाले राजस्वलाई प्रभाव पार्न नदिन पनि प्रहरीले भारतबाट ल्याइएको अवैध मदिरा र स्थानीयस्तरमा उत्पादित लोकल मदिरा नियन्त्रणमा सहयोग गर्नुपर्ने बताए।

भैरहवामा रहेका क्यासिनोहरूले ग्राहकलाई लिन र छोड्नका लागि नेपाल भारत सीमानाका बेलहियासम्म पुग्ने र त्यही बहानामा उच्च गुणस्तरका मदिरा लिएर आउने गरेको ज्ञवालीले बताए। ती गाडी प्रहरी, भन्सार र सशस्त्र प्रहरीले नियमित चेकजाँच गर्न उनले सुझाव दिए।

उता होटेल व्यवसायीहरूले राति १० बजे नै होटेल बन्द गराउँदा ढिला गरी आउने पर्यटकलाई खाना र बस्ने व्यवस्था मिलाउन समस्या भएको गुनासो गरे। यात्रुहरूको आवतजावत रातिसम्म हुने भन्दै जुनसुकै समयमा आउने पाहुनाको सत्कार गर्न पाउनुपर्ने होटेल व्यवसायीहरूको माग छ।

हस्पिटल छेउका होटेलहरू पनि प्रहरीले १० बजे  नै बन्द गराउने गरेको व्यवसायीहरूले गुनासो गरे। ‘हस्पिटलमा रहेका बिरामीहरूलाई दाल, सुप, सादा खाना, कालो चिया जुनसुकै समयमा पनि दिनुपर्ने हुन्छ। तर, प्रहरी १० बजे नै सिठी फुक्दै आउँछ,’ होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पीताम्बर न्यौपानेले भने। उनले रात्रीकालीन समयमा पर्यटकको सहज आवतजावतका लागि सुरक्षा प्रदान गर्न प्रहरीलाई आग्रह गरे।

कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले होटेल व्यवसाय शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएकाले प्रत्येक होटेलमा सिसिटिभी जडान गर्न सुझाव दिए। प्रायः सबै अपराधको योजना होटेलमै बन्ने गरेको अनुसन्धानमा देखिएकाले होटेलमा आउने हरेक व्यक्तिको विवरणका लागि नागरिकता वा परिचय खुल्ने भरपर्दो कागज अनिवार्य माग्ने, लेखाएको मोबाइल नम्बर सही हो वा हाेइन समयमै यकिन गर्ने, उसका गतिविधिमा निगरानी गर्नेजस्ता सावधानी अपनाउन होटेल व्यवसायीहरूलाई अनुरोध गरे।

यस्तै, होटेल सञ्चालन गर्ने सञ्चालकले आफ्ना कर्मचारीलाई  कानुनी मापदण्डका विषयमा जानकारी गराउने, कम उमेरका बालबालिकालाई काममा नलगाउने तथा उनीहरूमाथि हुन सक्ने दुर्व्यवहारका बारेमा सचेत गराउनेलगायतमा सावधानी गराउन आग्रह गरे। क्यासिनोमा हुने अवैध मदिराको कारोबारका विषयमा अनुगमन गर्ने उनको प्रतिबद्धता छ।