१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०८० जेठ २० शनिबार ०९:२०:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिगमा छैनन् दर्शक

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० जेठ २० शनिबार ०९:२०:००

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब तीन चरण मात्र बाँकी छन्, अहिलेसम्म एक सय ६१ खेल भइसकेका छन्, काठमाडौं र ललितपुरका मैदानमा सञ्चालित लिगमा दर्शकको उपस्थिति सन्तोषजनक छैन

बार्सिलोनाका लिजेन्ड जेरार्ड पिकेले सन्न्यास लिँदा घरेलु मैदान नोउ क्याम्पमा ९२ हजार ६ सय पाँच सय दर्शक उपस्थित थिए । बार्सिलोनाबाट ६ सय १६ खेलपछि पिकेले सन्न्यास लिँदा हजारौँ दर्शकसामु भावुक बने । नाउ क्याम्प मैदानमा सधैँ मैदान उत्रँदा समर्थकबाट माया पाएको र यही नै खेल जीवनको ठूलो उपलब्धि हासिल गरेको पिकेको भनाइ रह्यो । ‘जब हामी मैदानमा खेलिरहेका हुन्थ्यौँ, समर्थकको साथमा जति बलिया विपक्षीमाथि सहज जित निकाल्थ्यौँ,’ पिकेले भने । 

यसैगरी, इंग्लिस खेलाडी स्टेफन जेरार्ड लिभरपुलका सदाबहार उत्कृष्ट खेलाडी हुन् । एनफिल्डका लिजेन्डलाई ‘लोकल हिरो’ भनिन्छ । लिभरपुलको सहरी प्रतिद्वन्द्वी एभर्टनविरुद्धको प्रतिस्पर्धामा सधैँ समस्या हुने जेरार्डको तर्क छ । जेरार्ड एभर्टनविरुद्ध मात्रै होइन, अबे खेल खेल्दाको परिस्थिति सधैँ नाजुक र खेल्न सहज नहुने प्रतिक्रिया दिन्छन् । 

यी उदाहरणहरू विश्व फुटबलका समर्थक र दुई क्लबबीचको सम्बन्ध हो । अब, नेपाली खेल, खेलाडी र क्लबसँगै समर्थकको कुरा गरौँ । नेपालको फुटबलमा विश्व फुटबलको भन्दा ठीकविपरीत छ । अहिले दशरथ रंगशाला, च्यासल र सात दोबाटोको एन्फा कप्म्लेक्समा ‘ए’ डिभिजन लिग चलिरहेको छ । लिगमा १४ क्लब सहभागी छन् । लिगको क्लाइमेक्स आउने चरणमा छ । लिगको शनिबारदेखि २४औँ चरण खेल सुरु हुनेछ । यसपछि लिगमा तीन चरणका खेल बाँकी रहेछन् । यसै तीन चरण खेलबाटै च्याम्पियन र रेलिगेसन टोलीको छिनोफानो हुनेछ । मैदानबाहिर क्लबबीच निकै प्रतिस्पर्धा चलिरहेको छ । तर, मैदानमा भित्र भने खेल प्रतिस्पर्धात्मक बन्न सकेको छैन । लिगको अंकतालिका हेर्ने हो भने युरोपका शीर्ष पाँच लिगभन्दा यहाँको सहिद स्मारक कम छैन  । शीर्षदेखि पुछारसम्म उत्तिकै प्रतिस्पर्धा छ । एक खेल जित र हारले शीर्ष, मध्य तथा पुछारको समीकरण नै तलमाथि हुन्छ । 

समर्थक नहुँदा खेल नै खल्लो 
कुनै वेला दशरथ रंगशालामा थ्री स्टार र मनाङ मर्स्याङ्दीबीचको खेल हुँदा दर्शक एक खुट्टाले उभिएर खेल हेर्थे । आर्मी र पुलिसको खेलमा पनि यस्तै हुन्थ्यो । एक–आपसका कट्टर क्लबबीचको प्रतिस्पर्धामा टोलका सबैजसो समर्थक रंगशाला पुग्थे । रंगशालाभित्र हजारौँ दुई क्लबका समर्थकबीचको चिच्च्याहटले खेलको माहोल नै फरक हुन्थ्यो । अहिले ठीक यसको विपरीत लिग चलिरहेको छ । दर्शकले लिग फुटबल रोमाञ्चक खेल हेर्ने बिर्सेको जस्तो छ । थ्री स्टार र मनाङबीचको खेल हुँदा पनि दर्शकलाई हातले नै गन्न सक्ने अवस्था सिर्जना भएको छ । 

मुख्य प्रायोजकबीच चलिरहेको लिगको सुरुदेखि नै दर्शकको उपस्थित नगण्य छ । यहाँ केवल सीमित दर्शक, अफसियल, पत्रकार र ग्राउन्ड स्टार्फ मात्र हुन्छन् । फुटबलकै मेरुदण्ड मानिने ‘ए’ डिभिजन लिग सुनसान र शान्त पाराले अगाडि बढिरहेको छ । समर्थक नहुँदा खेलाडीले बोलेका रणनीतिक र अपशब्द मज्जाले प्यारापिटमा सुनिन्छ । समर्थकको उपस्थितिले खेलको माहोल तातिने तर्क छ । चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जन यसलाई स्विकार्छन् । 

‘लिगमा समर्थक मात्रै हुँदा खेलस्तर नै अर्काे हुन्थ्यो, खेलाडीलाई खेल्न प्रेरित हुन्छ, तर समर्थक नै नभएपछि खेलमा कुनै रौनक छैन,’ खेलाडीका रूपमा हजारौँ दर्शकसामु खेलिसकेका महर्जन भन्छन् । समर्थकको बाक्लो उपस्थितिले खेलमा दुवै पक्षले दबाब लिँदै रोमाञ्चक बनाउने प्रयास हुने उनले बताए । ‘हिजोको दिनमा मैले क्लबबाट खेल्दा समर्थक थेग्न नसक्ने गरी रंगशालामा आउँथे, हामी त्यसवेला निकै दबाबमा हुन्थ्यौँ, अहिले हेरौँ भने राम्रा क्लबले खेलिरहँदा पनि समर्थक आइरहेका छैनन्,’ महर्जनले भने । थ्री स्टार, रानीपोखरी कर्नर (आरसिटी) र मनाङ मर्स्याङ्दी क्लबका पूर्वमिडफिल्डर महर्जनले लिगमा कम दर्शकको उपस्थितिलाई प्रचार–प्रसारको कमी मान्छन् । 

घरेलु फुटबलकै ‘एल क्लासिक’ भिडन्तका रूपमा हेरिएको लिगको ४९औँ खेलमा थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबीचको खेललाई दुई हजार आठ सय ३५ ले मात्र हेरेका थिए । १४औँ खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दुई हजार समर्थक उपस्थित भए । त्यसबाहेक अधिकांश खेलमा एक सय समर्थक मैदानमा पु¥याउन पनि एन्फालाई गाह्रो परेको छ । लिगका एक सय ६१ खेल सम्पन्न भइसकेका छन् । 

काठमाडौं उपत्यकाकेन्द्रित लिग 
‘ए’ डिभिजन लिगलाई काठमाडौं उपत्यकाकेन्द्रित मानिन्छ । काठमाडौंका आठ  र ललितपुरबाट ६ क्लब शीर्ष डिभिजनमा छन् । ‘ए’ डिभिजन लिगमा मोफसलमा नभएको वर्षौँ भइसकेको छ । काठमाडौंबाट आर्मी, पुलिस र एपिएफसँगै मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, हिमालयन, न्युरोड टिम (एनआरटी) र संकटा छन् । चर्च ब्वाइज, जावलाखेल, फ्रेन्ड्स, थ्री स्टार, खुमलटार र सातदोबाटो ललितपुरबाट प्रतिनिधित्व गर्छन् । प्रशिक्षक महर्जनले काठमाडौंमा धेरै क्लब भएका कारण समर्थकको उत्साह घटेको बताए । लिगमा स्थानीय खेलाडीको उपस्थित कम भएको उनको ठहर छ । ‘हामीसँग शीर्ष डिभिजनमा काठमाडौं र ललितपुरका क्लब मात्रै छन् । 

एक–दुई किलोमिटरको दूरीमा दुईदेखि तीन क्लब भेटिन्छन्,’ उनी भन्छन्, ‘समर्थकले कुन टोलीलाई आफ्नो अपनत्व गर्ने भन्ने प्रश्न छ, अर्काे महत्वपूर्ण पक्ष स्थानीय खेलाडी पनि भएनन् ।’ स्थानीय समर्थक नै आफ्नो क्लबलाई समर्थन गर्न मैदान नपुगेको उनले जनाए । घरेलु फुटबललाई नजिकबाट नियालिरहेका काभ्रे पाँचखालका सीताराम दाहाल लिगलाई उपत्यकाबाहिर लैनाजुपर्ने तर्क गर्छन् । ‘हामीले लिगलाई काठमाडौंबाहिर पनि लगेर हेर्ने कि ? क्लबलाई पनि अभ्यास गर्न प्रशस्त मात्रामा मैदान उपलब्ध हुन्छ,’ दाहालले भने, ‘स्थानीयले क्लब आफ्नो भएको अपनत्व पाउँछन् र खेल हेर्न उपस्थित हुन्छन् ।’ अघिल्लो सिजन एन्फाले पोखरामा समेत लिग आयोजना गर्दा मनाङका समर्थक त्यहाँ नै पुगेका थिए । पहिलो चरणको खेल चलिरहँदा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले ‘एन्फा फुटबल विकास गर्न लायक नभएको र लिगस्तरीय गर्न सक्ने क्षमता नभएको’ प्रतिक्रिया दिएका थिए । 

स्टार खेलाडीको कमी 
 मुख्य प्रायोजक नहुनु, प्रचार–प्रसारको कमीसँगै नाम चलेका खेलाडी नहुँदा पनि लिगमा दर्शकको उपस्थिति कम भएको विज्ञहरू मान्छन् । एन्फाले आफ्नो एकेडेमीबाट खेलाडी उत्पादन गर्नेमा ध्यान छैन । आन्तरिक लडाइँ र संघर्षमै एन्फाको नयाँ कार्यसमितिको एक वर्ष बित्न लागेको छ । यस्तो मान्नेमा पूर्वखेलाडी र समर्थक छन् । चर्च ब्वाइजका प्रशिक्षक महर्जनले लिगमा स्टार खेलाडी नभएकाले पनि दर्शकको कमी आएको बताए । ‘लिगको विश्लेषण गर्दा स्टार खेलाडी नभएर पनि दर्शकको उपस्थितिमा ह्रास आएको जस्तो लाग्छ,’ महर्जन भन्छन् । स्टार खेलाडीमा विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, नवयुग श्रेष्ठ, पूजन उपरकोटी, मनीष डाँगी, आयुष घलान, विक्रम लामाजस्ता खेलाडी छन् । अहिले फुटबलभन्दा क्रिकेटको माहोल बढी छ । क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार प्राप्त गरेको सफलताले समर्थक उतातिर मोडिएको भनाइ पनि छ । 

साथै, धेरै नाम चलेका खेलाडी विदेश पलायनले समस्या आएको महर्जनले बताए । ‘४० भन्दा बढी खेलाडी अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स पुगेका छन् । धेरै खेलाडी विदेश पलायन भए । त्यसकारण दर्शकले पनि समर्थन गर्ने खेलाडी कम भएका हुन सक्छन् । अर्काे कुरा खेलको स्तर पनि हदसम्म कम छ,’ महर्जन भन्छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले नाम चलेका खेलाडी नहुँदा टोलीको प्रदर्शन घटेको बताउँछन् ।