
मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को स्कारपियो गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् ।
भक्तपुरको सानोठिमीबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसी नदीमा खसेको र तीनजना कर्मचारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
तनहुँ भानु नगरपालिका– ९ स्थायी ठेगाना भई सिटिइभिटीका सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका– ७ स्थायी ठेगाना भएका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम घर भई विद्युत् प्रशिक्षक पदमा कार्यरत भानु पौडेल बेपत्ता भएका हुन् । चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।
चालकको भनाइ उद्धृत गर्दै दाहालले बताएअनुसार गाडीको ब्रेक फेल भई भित्तातर्फ लगेको भए पनि भित्ताबाट पुनः गाडी अनियन्त्रित भई नदीमा खस्न पुगेको हो । गाडी र बेपत्ताको खोजीका लागि शुक्रबार काठमाडौंबाट गोताखोरको टोली परिचालन भएको छ । शुक्रबार साँझसम्ममा सवारीसाधन र गाडीमा सवार व्यक्तिको अवस्था पत्ता नलागेपछि खोजबिन स्थगित गरिएको र शनिबार फेरि खोजी हुने उनले बताए ।