१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १९ शुक्रबार ०९:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको लगातार दोस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १९ शुक्रबार ०९:१९:००

नेपाली राष्ट्रिय महिला टोलीले बिहीबार मलेसियालाई तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा २७ रनले पराजित गरेको छ । पहिलो खेलमा इतिहासमै पहिलोपटक मलेसियासँग पराजित भएको नेपालले त्यसपछि लगातार खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । मलेसियाको वेन्गी रंगशालामा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १५ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा मलेसियाले २० ओभरमा चार विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । सिरिजमा नेपाल २–१ ले अगाडि छ । 

मलेसियाविरुद्ध नेपालबाट ईश्वरी विष्टले डेब्यु गरिन् । ब्याटिङ अवसर नपाएकी ईश्वरीले चार ओभर बलिङ गरेकी थिइन् । उनले आफ्नो डेब्यु खेलमा १६ रन खर्चेकी थिइन् । उनले फ्याँकेको १३ बलमा मलेसियन बलरले रन बटुल्न सकेनन् । 

मलेसियाको सुस्त ब्याटिङ
लक्ष्य पछ्याउँदा मलेसियाको ब्याटिङ सुस्त देखियो । नेपाली बलरहरूले कसिलो बलिङ गर्दा मलेसियन ब्याट्सम्यानले उत्कृष्ट स्ट्रोक लगाउन सकेनन् । मलेसियाका चार ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । ओपनर विनिफ्रेडले ३८ बलमा एक चौकाको सहयोगमा २० रन बटुलेकी थिइन् । चौथो क्रममा ब्याटिङ गर्न आएकी माहिराह इमैलले ५४ बल सामना गरी सर्वाधिक ४४ रन बनाइन् । उनले आफ्नो इनिङ्समा ६ चौका प्रहार गरेकी थिइन् । बलिङका क्रममा नेपालका कविता कुँवर, सीता रानामगर तथा इन्दु बर्माले समान एक विकेट हात पारे । कविताले १०, सीताले १३ तथा इन्दुले सात रन खर्चेका थिए । इन्दुले तीन ओभर बलिङ गर्दा ११ बल डट फ्याँकिन् । 

चार खेलाडी चले
नेपालको ब्याटिङ इनिङ्समा चार ब्याट्सम्यान चले । इनिङ्सको १.६ ओभरमा नेपालले ओपनर कवितालाई गुमाएको थियो । इन्दुले केवल दुई रन मात्र जोडेकी थिइन् । त्यसपछि सीता र ज्योति पाण्डेबीच दोस्रो विकेटका लागि ३५ रनको साझेदारी भयो । ज्योतिले आफ्नो विकेट गुमाउनुअघि २४ बलमा तीन चौकाको सहयोगमा २३ रन बनाइन् । सीताले इन्दुसँग तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपाललाई ७०–३ को स्थितिमा राखिन् । सीताले ३५ बलमा बाउन्ड्रीरहित इनिङ्स खेल्दै २१ रनको योगदान दिइन् । इन्दु स्टम्पिङ आउट हुनुअघि ३० बलमा २० रन बनाइन् ।