मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
टेकराज थामी काठमाडौं
२०८० जेठ १८ बिहीबार २३:३५:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

६६ करोड ३१ लाखको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस

शिव शिखर सहकारीमा १४ अर्ब घोटला प्रकरण

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडौं
२०८० जेठ १८ बिहीबार २३:३५:००

शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरेको हो । पहिलो चरणमा सिआइबीले भक्तपुरका निक्षेपकर्ताको उजुरीमाथि मात्रै अनुसन्धान सुरु गरेको थियो । यसक्रममा भक्तपुरबाट मात्रै सहकारीका सञ्चालकविरुद्ध एक हजार दुई सय ९२ पीडितको एक सय नौ जाहेरी परेका थिए । उनीहरूको मात्रै बिगो रकम ६६ करोड ३१ लाख पुगेको छ । 
सिआइबी प्रवक्ता एसपी सञ्जयसिंह थापाले ६६ करोड ३१ लाख रुपैयाँको बिगो दाबी गर्दै सहकारीको सञ्चालकविरुद्ध मंगलबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा अनुसन्धान प्रतिवेदन पेस गरिएको जानकारी दिए । 

‘पहिलो चरणमा हामीले भक्तपुरको निक्षेपकर्ताको मात्रै जाहेरी दर्ता गरेर अनुसन्धान गरेका थियौँ । भक्तपुरबाट मात्रै सञ्चालकविरुद्ध एक हजार दुई सय ९२ पीडितको एक सय नौ जाहेरी दर्ता भएका छन् । सबै गरी ६६ करोड ३१ लाख रुपैयाँको बिगो दाबी छ । सोहीअनुसारको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौँ,’ उनले भने ।

सिआइबीका अनुसार बुधबार मात्रै भक्तपुरबाट सयभन्दा धेरै निक्षेपकर्ताले थप जाहेरी दिएका छन् । उनीहरूको दाबी गरेको बिगो रकम १२ करोड रुपैयाँभन्दा धेरै छ । अनुसन्धानपछि यो मुद्दा पनि सुरुकै मुद्दामा जोडिन्छ । भक्तपुरबाट मात्रै बिगो दाबी गरिएको रकमको परिमाण ७८ करोड ३१ लाख रुपैयाँ पुग्ने भएको छ। 

‘सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएपछि पनि निक्षेपकर्ताको जाहेरी हामीकहाँ आउने क्रम जारी छ । सयभन्दा धेरैको जाहेरी आइसकेको छ । बिगो दाबी गरिएको रकम मात्रै १२ करोड रुपैयाँभन्दा धेरै छ । यो मुद्दा पनि अब सुरुकै मुद्दामा जोडिन्छ,’ सिआइबी प्रवक्ता एसपी थापाले भने ।

सिआइबीले सहकारीका सञ्चालकद्वय अमिशराज भण्डारी र पुष्कर मल्ल तथा सहकारीको मुख्य ऋण लगानी रहेको शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मालाई पक्राउ गरेको छ । तर, सहकारीको नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा भने फरार छन् । पक्राउ परेकी गीता केदारनाथकी श्रीमती हुन् । 

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको सहकारीको देशभर २६ वटा शाखा कार्यालय तथा सेवा केन्द्र छन् । सहकारीमा मुलुकभर एक लाखभन्दा धेरै निक्षेपकर्ता छन् । उनीहरूको १४ अर्बभन्दा धेरै रकम सहकारीमा जम्मा भएको छ । नेपालमा सहकारी ठगीको यो अहिलेसम्मकै ठूलो घटना हो । यसअघि सिआइबीले सिभिल सहकारीमा करिब ६ अर्ब हिनामिनाको मुद्दा चलाएको थियो । 

कौशलटारको केन्द्रीय कार्यालयसहित भक्तपुरको कमलविनायक, सल्लाघारीमा सहकारीको सेवा केन्द्र छन् । हाल ती सबै बन्द छन् । त्यसबाहेक उपत्यकाभित्र काठमाडौंमा चार र ललितपुरमा दुई शाखा छन् । काठमाडौंको न्युरोड, कीर्तिपुर, बाँसबारी र बागबजार तथा ललितपुरको मंगलबजार र ठैंबमा शाखा कार्यालय रहेकोमा सबै अहिले बन्द छन् । 

भक्तपुरको मुद्दा दर्तापछि काठमाडौं र ललितपुरमा अनुसन्धान गर्ने सिआइबीको तयारी छ । उपत्यकाबाहिर जिल्लाका शाखाको हकमा भने सम्बन्धित जिल्लाका प्रहरी कार्यालयबाटै अनुसन्धान गर्न सिआइबीले पत्राचार गरिसकेको छ । जसअनुसार सम्बन्धित जिल्लामै अनुसन्धान भइरहेको छ । 

चितवनको भरतपुर, टाँडी र मुग्लिन, बाँकेको नेपालगन्ज, कोहलपुर र बैजनाथ, कैलालीको धनगढी र अत्तरिया, डडेल्धुरा, दाङको तुलसीपुर र भालुवाङ, मकवानपुरको हेटौँडा, सुर्खेतको वीरेन्द्रनगर, बाग्लुङको श्रीनगर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, रुपन्देहीको बुटवल, डोटीको दिपायलमा शाखा तथा सेवाकेन्द्र सञ्चालित छन् । त्यसमा हाल दुई–तीनवटा मात्र शाखा सञ्चालनमा छन् । अरूले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि बन्द गरेका छन् ।

सहकारीको पैसा लगाएर शर्मादम्पतीले खोलेका थिए तीन दर्जन कम्पनी
०७० मा स्थापना भएको शिव शिखर सहकारीले अन्य सहकारीले भन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु ग¥यो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्ममा लगानी ग¥यो । 

शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँवा पनि फिर्ता भएन । उता, सहकारीमा एकैपटक पैसा निकाल्नेहरू बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लाग्न थाल्यो ।

सुरुमा सहकारी विभागले सबै पक्षबीच छलफल गरेर समस्या समाधानको प्रयास गरेको थियो । तर, समाधान हुने सम्भावना नदेखेपछि सञ्चालक र ऋण लिएका कम्पनीको सम्पत्ति रोक्का गरी अनुसन्धानका लागि प्रहरीलाई पत्राचार ग¥यो । सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । हाल उनी फरार छन् भने उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् । 

शर्मादम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । केदारनाथ विराटनगरको तुलसी सहकारीका पनि पूर्वअध्यक्ष हुन् । उनी लामो समयसम्म दुई सहकारीको अध्यक्ष थिए । तुलसी सहकारीका सञ्चालकविरुद्ध ५० करोड हिनामिनाको अभियोगमा गत चैतमा प्रहरीले मुद्दा दायर गरिसकेको छ । 

शिखर अर्गनाइजेसनमार्फत शर्मादम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्ट्रिज, गोरखा टी एन्ड कफी, गोरखा वेभरेज, तुलसी मोटर पम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरेका थिए । 

त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्स्ट्रक्सन एन्ड मल्टी सोलुसन प्रालि, काइन्डल्ली केयर इन्ड्रस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो इन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्ड्रस्टिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । 

यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् । सो संस्थाका विभिन्न ठाउँमा घरजग्गा पनि छन् । शर्मादम्पतीको नाममा कम्पनीमा पनि करोडौँको सम्पत्ति छ । त्यसलाई पनि रोक्का गरिएको छ । 

भारतमा समेत लगानी, मुख्य नाइके फरार 
केदारनाथले भारतको राजस्थानमा समेत लगानी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भारतबाट खाद्यान्न नेपाल ल्याएर बिक्री गर्न भन्दै भारतमा लगानी गरेका थिए । नियमनको कमी र हचुवाका भरमा लगानी गर्दा संस्था डुबेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । 

सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मात्र लगानी गर्न पाउनेमा सञ्चालकका कम्पनीमा करिब ८० प्रतिशत रकम लगानी गरेका थिए । साथै, संस्थाभित्र सुशासन पनि थिएन । तीन वर्षदेखि साधारणसभासमेत हुन सकेन । संस्थाका नेतृत्वकर्ताले नै ध्यान नदिएपछि कर्मचारीले पनि अनियमितता गरेको पाइएको छ । 

सहकारीका प्रबन्धकलाई समेत गाडी तथा उच्च तलबलगायत सेवा–सुविधा दिइएको थियो । सहकारीमा समस्या आएपछि केदारनाथकै निकट सुशील बानियाँलाई दुई वर्षदेखि अध्यक्ष बनाइएको छ । उनी सहकारीकै पूर्वकर्मचारी हुन् । उनी पनि फरार छन् । साथै, संस्थाका सिइओ लीलानाथ गौतम पनि फरार छन् । 

शर्मादम्पतीका कम्पनीमा विभिन्न बैंकहरूले पनि लगानी गरेको पाइएको छ । कम्पनीको सम्पत्ति ठगी मुद्दामा रोक्का भएपछि बैंकहरूको लगानी पनि डुब्ने देखिएको छ । राष्ट्रिय सहकारी बैंकले सहकारीलाई तथा अन्य वाणिज्य बैंकले सहकारीनिकट कम्पनीमा लगानी गरेका थिए । यद्यपि, बैंकहरूको लगानीको हकमा हालसम्म अनुसन्धान नभएको प्रहरी अधिकारी बताउँछन् । 

सञ्चालककी श्रीमतीलाई साढे दुई करोडको कार 
सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी खरिद गरेकी थिइन् । सो गाडी सिआइबीले बरामद गरिसकेको छ । 

उनीहरूको नाममा रहेको अन्य सम्पत्ति पनि सहकारी विभागले यसअघि नै रोक्का राखिसकेको छ । संस्थाका अन्य केही सञ्चालक तथा कर्मचारीले पनि संस्थाबाट व्यक्तिगत सम्पत्ति जोडेको पाइएको छ ।