१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o६:५५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सफलताले छेकिएको क्यानको विवाद

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५५:oo
  •  पुरुष क्रिकेट टोलीले लगातार उपलब्धि हासिल गरिरहँदा मैदानबाहिर क्यानको विवाद उत्कर्षमा
  •  चुनाव नजिकिँदा सात सदस्यले लगाए अध्यक्षले विधानविपरीत काम गरेर क्रिकेटलाई धराशायी बनाउन लागेको आरोप

नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिकामा अभ्यास गर्न बुधबार प्रस्थान गरेको छ । घरेलु मैदानमा लगातार तीन महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ऐतिहासिक उपलब्धि प्राप्तिसँगै नेपाली टोलीको चर्चा अन्तर्राष्ट्रियस्तरमै भयो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एसिसी प्रिमियर कप उपाधि जित्दै एसिया कपमा नेपालले दोस्रोपटक स्थान बनायो । त्रिवि मैदानमै भएको आइसिसी विश्वकप लिग–२ को अन्तिम शृंखला नेपालले ‘क्लिन स्विप’ गर्‍यो । विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान बनायो । आगामी चार वर्षका लागि पुनः एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । 

मैदानभित्र एकपछि अर्को सफलता चुमेको नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानको आन्तरिक विवाद उत्कर्षमा छ । खेलाडीको लगाव र उपलब्धिका कारण नै क्यानभित्रको आन्तरिक विवाद बाहिर आएन । तर, अहिले नेपालको दक्षिण अफ्रिका भ्रमणसँगै फेरि क्यानको निर्वाचन प्रसंग जोडिएर विवाद बाहिर आएको छ । क्यानका पदाधिकारी दुई समूहमा विभाजित छन् । अध्यक्ष चन्दले एक समूहको नेतृत्व गरिरहेका छन् । क्यानकै सात केन्द्रीय सदस्य अर्काेतर्फ छन् । अध्यक्ष चन्दले आफूखुसी कार्य गरेको र विधानविपरीत आफ्नो अनुकूललाई विभिन्न पद, विदेश भ्रमण, सेवासुविधा दिँदै आएको सात सदस्यहरूको समूहले आरोप लगाउँदै आएको छ । 

सचिव नै विधानविपरीत 
क्यानका तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले असन्तुष्टि जनाउँदै ०७८ असोज १३ मा राजीनामा दिए । प्याकुरेलको स्थानमा अध्यक्ष चन्दले आफूनिकट प्रशान्तविक्रम मल्ललाई २१ असोजमा कार्यवाहक सचिवको जिम्मेवारी दिए । नेपाल टी–२० लिगको गभर्निङ काउन्सिलका निर्देशक मल्लले प्रतियोगिताको विवाद माथिल्लो स्तरमा पुगेपछि गत माघ दोस्रो साता राजीनामा दिए । पोखरामा बसेको बैठकबाट अध्यक्ष चन्दले आफ्नै समूहका दुर्गाराज पाठकलाई कार्यवाहक सचिवमा नियुक्त गरे । 

अन्सारीले पाठकको नियुक्ति अवैधानिक भएको र उनले गरेका सम्पूर्ण कार्य स्वतः अवैधानिक भएको जनाएका छन् । अन्सारीले कानुनी कारबाहीमा जाने धम्कीसमेत दिएका छन् । ‘अध्यक्षज्यूले नियुक्ति गर्नुभएको अवैधानिक सचिवलाई विशेष साधरणसभाले ल्याएको हो, त्यो विधान संशोधनको मस्यौदाबाट पनि उहाँ अवैधानिक भएको स्पष्ट हुन्छ,’ अन्सारीले भने, ‘त्यसैले उहाँका सबै निर्णय र कार्य अवैधानिक हुने भएकाले हाम्रो फरक मत छ ।’ क्यानका कार्यवाहक सचिव पाठकले आरोपको खण्डन गर्दै सबै चुनावी चलखेल भएको बताए । ‘उहाँहरूले नै बैठकबाट मलाई कार्यवाहक नियुक्त गर्नुभएको हो । अहिले उहाँहरू नै विवाद झिक्दै हुनुहुन्छ । चुनाव नजिकिँदै गर्दा यस्ता आरोप आउँछन्,’ नयाँ पत्रिकासँग पाठकले भने ।

 अध्यक्ष चन्दलाई सदस्य अन्सारीका ६ प्रश्न
क्यानको केन्द्रीय चुनाव साउन अन्तिम साता हुँदै छ । मिति घोषणा भइसकेको छैन । क्यान नेतृत्वविरुद्ध असन्तुष्ट रहेका केन्द्रीय सदस्य मोहमद दाउद अन्सारीले १२ जेठमा पत्र लेख्दै अध्यक्ष चन्दलाई ६ प्रश्न गरेका छन् । अन्सारीले क्यानभित्र पछिल्ला विवाद बनेको विषयलाई नै प्रश्न गरेका हुन् । ‘केही विषयवस्तुमा बाहिर विभिन्न प्रकारका नकारात्मक खबर आइरहेकाले सत्यतथ्य बुझ्न मलाई सहयोग हुने गरी लिखित जवाफ पाउने विश्वास लिएको छु,’ अन्सारीले अध्यक्ष चन्दलाई बुझाएको पत्रमा लेखेका छन् । 

अन्सारीले एसिसी प्रिमियर कपबाट अन्तर्राष्ट्रिय मान्यता पाएको माथिल्लो मूलपानी मैदानको स्तरोन्नतिको आय–व्यय, होटेलको बिल भुक्तानी, लेभिन स्पोर्टस्को बक्यौता रकम, एसिसी प्रिमियर कपको भुक्तानी, नेपाल टी–२० लिगमा सेभेन थ्री स्टोर्टस्सँगको भुक्तानी तथा कानुनी कारबाही र कार्यवाहक सचिवको सम्बन्धमा लिखित जवाफ माग गरेका हुन् । यी ६ बुँदा नै अहिले क्यानको विवादको विषय बनेको छ ।

१९ जेठमा नेपालले युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएकै दिन क्यानको साधारणसभा बसेको थियो । सो साधारणसभालाई एक समूहले अवैधानिक मानेको छ । विधान संशोधनको विषयमा साधारणसभा बोलाइएको थियो । क्यानले विधान संशोधनको प्रस्तावसहित सदस्यहरूलाई सूचना दिनुपर्नेमा थियो । तर, क्यानले समयमै सूचना प्रवाह नगरेका कारण जनाउँदै साधारणसभा नै अवैधानिक भएको केन्द्रीय सदस्य छुम्बी लामा, ऋषिराम गौतम, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे र धर्मराज गिरी चन्दले दाबी गरेका छन् । 

साधारणसभामा क्यान अध्यक्ष चन्दले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई राखेपले सहयोग नगरेको जनाएका थिए । सदस्यसचिव घिसिङले क्यानले विधानविपरीत र विवादास्पद कार्य गर्दै आएको आरोप लगाए ।

सन्दीप र देसाई दक्षिण अफ्रिका गएनन् 
ग्लोबल छनोटअघि दक्षिण अफ्रिका भ्रमणमा लेग स्पिनर सन्दीप लामिछाने र प्रशिक्षक मोन्टी देसाई गएनन् । नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गर्दा सन्दीप नेपालमै छन् । मोन्टी मंगलबार मात्रै अमेरिकाबाट भारत पुगेका छन् । प्रशिक्षक देसाईको भिसा समस्याका कारण दक्षिण अफ्रिका जान नसकेको क्यानका कार्यवाहक सचिव पाठकले जानकारी दिएका छन् । ‘प्रशिक्षकको भिसाका कारण ढिला भएको छ । उहाँ केही दिनमै दक्षिण अफ्रिका जानुहुनेछ,’ उनले भने । 

सन्दीप कानुनी प्रक्रियाका कारण रोकिएका हुन् । उनको मुद्दाको सुनावाइ अर्काे हप्तालाई पेसी राखिएको छ । अहिले पनि मुद्दा चलिरहेका कारण सन्दीप नेपालमै रहेको पाठकले बताए । आगामी पेसीमा उनले सफाइ पाए सन्दीप दक्षिण अफ्रिका प्रस्थान गर्नेछन् । पेसी सरेमा सन्दीपको जिम्बावे यात्रा अनिश्चित बन्नेछ । नेपाली टोली १८ जेठमा दक्षिण अफ्रिकाबाट जिम्बावे प्रस्थान गर्ने तालिका छ ।