मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमृतप्रसाद सुवेदी सहायक प्रजिअ, हुम्ला
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १८ बिहीबार ०५:५७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रवेश–पास नवीकरण नहुँदा १ सय २८ नेपाली तिब्बतमै रोकिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १८ बिहीबार ०५:५७:००

प्रवेश–पास नवीकरण नहुँदा एक सय २८ नेपाली चीनको स्वशासित क्षेत्र तिब्बततर्फ रोकिएका छन् । कोरोना महामारी सुरु भएसँगै लकडाउनका कारण रोकिएका एक सय २८ नेपालीको प्रवेश–पास नवीकरण गराउन नपाएपछि तिब्बततर्फै रोकिएका हुन् । 

१८ वैशाखमा दुईतर्फी कार्गो र आवतजावत खुला भए पनि नेपालतर्फ आवतजावत सहज भइसकेको छैन । नाका खुला भएपछि तिब्बतबाट जम्मा एकजना नेपाली हुम्ला आएका छन् । प्रवेश–पास नवीकरण नभएका भने उतै रोकिएका छन् । 

‘तिब्बतको ताक्लाकोट आसपासमा मजदुरीका लागि पहिले नै गएका एक सय २८ जनाको प्रवेश–पासको म्याद सकिएको छ । म्याद नाघेको प्रवेश–पास लिएर आउन नपाउने चिनियाँ कानुनअनुसार उहाँहरू उतै हुनुहुन्छ,’ हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले टेलिफोनमा भने, ‘सीमानाका सुचारु भएपछि तिब्बतबाट जम्मा एकजना फर्किनुभएको छ ।’ 

अमृतप्रसाद सुवेदी सहायक प्रजिअ, हुम्ला

ताक्लाकोटमा कर्मचारी पठाएरै रोकिनुभएका नेपालीको पास नवीकरण गर्नेछौँ । त्यसपछि उहाँहरूलाई नेपाल आउन सहज हुन्छ, यसका लागि केही समय लाग्छ । छलफल गरिरहेका छौँ ।

तिब्बतमा रोकिएका सबै हुम्लावासी हुन् । हुम्लाका स्थानीय बासिन्दाको मजदुरी र व्यापार गर्ने ठाउँ तिब्बतको ताक्लाकोट र आसपासका क्षेत्र हुन् । दुई देशको नियमअनुसार जिल्ला प्रशासन कार्यालयले बनाएको प्रवेश–पासका आधारमा सीमावर्ती जिल्लाका बासिन्दा एक–अर्को मुलुकमा जान पाउँछन् । प्रवेश–पासको म्याद एक वर्ष तोकिएको छ । तीन वर्ष तिब्बतमै रोकिएका कारण नेपालीको प्रवेश–पास नवीकरण भएको छैन । 

१८ वैशाखमा नाकामा आवतजावत खुलेपछि जिल्ला प्रशासन कार्यालयको प्रवेश–पास लिएर करिब चार सय नेपाली मजदुरीका लागि तिब्बत प्रवेश गरेका छन् । नाका खुलेपछि चीन जान प्रवेश–पास लिने हुम्लावासीको संख्या भने करिब एक हजार एक सय पुगेको छ । ‘चार सयजना गइसक्नुभएको छ, करिब सात सयजना तिब्बत जाने पर्खाइमा हुनुहुन्छ,’ सुवेदीले भने । 

सहायक प्रजिअ सुवेदीका अनुसार दुई सातापछि हुम्ला जिल्ला प्रशासनले प्रवेश–पास लिएरै कर्मचारीलाई तिब्बतको ताक्लाकोट पठाउने तयारी छ । ‘हामी ताक्लाकोटमा कर्मचारी पठाएरै रोकिनुभएका नेपालीलाई पास नवीकरण गर्नेछौँ । त्यसपछि उहाँहरूलाई नेपाल आउन सहज हुन्छ,’ सुवेदीले भने, ‘यसका लागि दुई साताजति समय लाग्छ । हामी छलफल गरिरहेका छौँ ।’

सीमानाका सञ्चालन भएकै दिन १८ वैशाखमा १८ जना हुम्लाका नागरिक मजदुरीका लागि तिब्बततर्फ प्रवेश गरेका थिए । यारी नाकामा नेपालको भन्सार, प्रहरी कार्यालय र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल छ ।

कैलाश जाने रुट अवरुद्ध
नेपालबाट हिल्सा नाका भएर तिब्बतको कैलाश मानसरोवर जाने बाटो सबैभन्दा छोटो र सहज मानिन्छ । तर, सडक बिग्रेका कारण मानसरोवर जाने तीर्थयात्रीहरूका लागि खुला भएको छैन । तीन वर्षदेखि उक्त बाटोमा आवतजावत बन्द भएका कारण बाटोको मर्मत हुन सकेको छैन । 

सीमा क्षेत्र पुगेका सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘बाटो बिग्रेको, अप्ठ्यारो रहेछ । बाटोको मर्मत नभएसम्म यहाँबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूका लागि खुला हुँदैन भन्ने जानकारी आएको छ ।’ हाल रसुवागढी–केरुङ नाका भएर नेपाली तथा गैरभारतीय नागरिक कैलाश मानसरोवर जान थालेका छन् । नेपाल र चीनबीचका नाकामध्ये रसुवागढी–केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा छ । तातोपानी नाकाबाट कार्गो ढुवानी मात्रै भइरहेको छ ।