१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फोहोरको मात्रा घटाउन प्लास्टिक प्रयोग रोकौँ : मन्त्री गुरुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:५५:oo

सहरी विकासमन्त्री सीता गुरुङले फोहोर र प्रदूषणको मात्रा कम गर्न प्लास्टिकजन्य वस्तुको प्रयोग रोक्नुपर्ने बताएकी छिन् । 

उनले काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमा प्लास्टिकको मात्रा अत्यधिक देखिएको भन्दै सरकारले त्यसबारे पहिल्यै गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताइन् । 
बुधबार मन्त्रालयमा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनको चापलाई कम गर्न फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने र प्लास्टिकको उपयोगलाई निषेध गर्नुपर्ने बताइन् । 

‘जति फोहोर उत्सर्जन हुन्छ, त्यसमध्ये अत्यधिक  मात्रा प्लास्टिकको छ । डम्पिङ साइट पनि प्लास्टिकले नै भरिएको छ,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले एकातिर फोहोरलाई स्रोतमै वर्गीकरण गरेर व्यवस्थापन गर्नु आवश्यक छ भने अर्कोतिर प्लास्टिकजन्य वस्तुको उपयोगमा पनि विचार पुर्याउनुपर्ने अवस्था आएको छ ।’ 

मन्त्री गुरुङले बैठकमा सहभागी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूलाई प्लास्टिकको उपयोगबारे सरकारले पहिल्यै गरिसकेको निर्णय कार्यान्वयनमा जोड दिन आग्रह गरिन् । सरकारले ०७२ को वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा प्लास्टिकका झोलाहरू विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । 

तर, भूकम्पका कारण सरकारको त्यो निर्णय कार्यान्वयन भएन । सरकारले ०७८/७९ को बजेटमार्फत फेरि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगायो । सो निर्णयसमेत अहिलेसम्म पूर्ण कार्यान्वयनमा आएको छैन । मन्त्री गुरुङले सरकारले पहिल्यै गरिसकेको निर्णय कार्यान्वयनका विषयमा चासो दिएकी हुन् । 

मन्त्री गुरुङले वर्षामा समेत फोहोरमैला व्यवस्थापनमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएकी छिन् । बैठकमा फोहोरमैला व्यवस्थापनको मुख्य सरोकारवाला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भने बैठकमा सहभागी थिएनन् । 

गत महिना संघीय सरकारले असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले सर्वोच्च अदालतको आदेशपछि सिंहदरबारको फोहोर उठाउन लगाएका छन् । त्यसयता फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न बोलाइएका बैठकमा भने सहभागी छैनन् । 

बुधबारको बैठकमा फोहोरमैला व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने विषयमा विभिन्न योजनाहरूमाथि छलफल भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता प्रदीप परियारले बैठकमा फोहोरमैला व्यवस्थापनको लागि कार्ययोजनामा समेट्नुपर्ने विषयहरूमाथि छलफल भएको बताए । ‘प्रधानमन्त्रीज्यूले नै कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ । त्यहीअनुसार कार्ययोजना बनाउने सन्दर्भमा मन्त्रीज्यूको संयोजकत्वमा कार्ययोजनाका लागि छलफल भएको हो,’ उनले भने ।

ad
ad