१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:११:oo

 काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ–गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाईको व्यवस्था गरिएको हो । 

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाई क्षेत्र बनाउने उद्देश्यले पहिलोपटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताउनुभयो । वल्र्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबीसे चोकलगायत सात स्थानमा फ्री वाइफाईको व्यवस्था गरिएको हो ।

वल्र्डलिंकका बागमती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासँगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्री वाइफाईको सेवा विस्तार भइसकेको बताए । अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासो सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो । सेवा प्रवाहका क्रममा केही समस्या आए तत्काल परिमार्जन गरिने व्यवस्थापक अधिकारीले जानकारी दिए । 

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एकपटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ । नगरले छिटै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाइफाई विस्तार गर्ने तयारी रहेको जनाएको छ । त्यसैगरी, बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । ‘डिजिटल बेथानचोक’ नारासहित पहिलोपटक सबै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाईको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए । 

इन्टरनेट सेवाप्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाइफाई छोडिएको जनाइएको छ । हरेक युग सूचना प्रविधिकै युग भएकाले निःशुल्क रूपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उनको भनाइ छ । 

ad
ad