मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अलपत्र रहेको कदम थिएटरको सेउपाखा बहुसांस्कृतिक नाटकघर । तस्बिर : नयाँ पत्रिका 
२०८० जेठ १७ बुधबार ०६:३४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

बजेट अभावले नाटकघर वर्षौँदेखि अलपत्र

Read Time : > 2 मिनेट
२०८० जेठ १७ बुधबार ०६:३४:००

दमक– ९ मा दमक सभागृह र कदम थिएटरको भवन केही वर्षअघिपछि निर्माण सुरु भए । सँगैसँगै रहेका यी भवनमध्ये दमक सभागृहलाई संघीय सरकारले लगानी गर्‍यो । दमक सभागृहको बाहिरी संरचनाको काम सकिएको छ । प्रदेश सरकारको लगानीमा सभागृहभन्दा दुई वर्षपछि निर्माण सुरु भएको सेउपाखा बहुसांस्कृतिक नाटकघर भने वर्षौँदेखि अलपत्र छ ।

कलाक्षेत्र सरकारको प्राथमिकतामा नपर्दा ३० प्रतिशत काम भएको नाटकघर निर्माण कार्य बीचमै रोकिएको छ । प्रदेश सरकारले बजेट विनियोजन गरे पनि विभिन्न कारण देखाउँदै काम सम्झौता नगरेका कारण सेउपाखा बहुसांस्कृतिक नाटक घर बन्ने–नबन्ने अन्योलमा परेको छ । ‘दमक सभागृहमा राजनीतिक आँखा पर्‍यो । तर, नाटक घरप्रति राजनीतिलाई चासो छैन,’ कदम थिएटरका कला निर्देशक सिजन दाहाल भन्छन्, ‘तसर्थ सभागृह धमाधम बन्यो । हाम्रो नाटकघर अलपत्र पर्‍यो ।’ 

कदम थिएटर दमकको नाममा ०७३ मा दमक नगरपालिकाले दमक नगरपालिका– ९ मा चार कट्ठा जग्गा उपलब्ध गराएपछि नाटक घर बनाउने योजना अघि बढेको थियो । जग्गा प्राप्तिपछि कदम थिएटरले दुई करोड नौ लाखमा सेउपाखा बहुसांस्कृतिक नाटकघरको निर्माण गर्न सकिने गरी डिपिआर तयार पार्‍यो । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदम थिएटरलाई पछि प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले नाटकघर निर्माणका लागि बजेट विनियोजन पनि गर्‍यो । नाटक घरका निर्माणका लागि आर्थिक वर्ष ०७५÷७६ मा प्रदेश सरकारले पहिलो चरणमा ६० लाख रुपैयाँ विनियोजन गर्‍यो । 

उक्त बजेटले जग उठाउनेलगायत ३० प्रतिशत काम गर्न सकिएको कदम थिएटरका कला निर्देशक दाहालले जानकारी दिए । त्यसयता भने नाटकघर निर्माणको काम अलपत्र रहेको उनले बताए । ‘पहिलोपटक आएको बजेटले ३० प्रतिशत काम गरियो,’ उनले भने, ‘आर्थिक वर्ष ०७७/७८ मा ३५ लाख रुपैयाँ रातो किताबमै कोभिडको कारण देखाएर काम नै सुरु गरिएन ।’ चालू आर्थिक वर्षमा कोसी सरकारको दुई मन्त्रालयले ५० लाख विनियोजन गरेको थियो । जसमध्ये सडक पूर्वाधार तथा विकास मन्त्रालयले ३० लाख रुपैयाँ बजेट पैसा अभावका कारण दिन नसकिने भन्दै योजना कार्यान्वन नगर्न निर्देशन दिएको दाहालले बताए । यस्तै, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दिएको २० लाख भने ढिला गरी सम्झौता भएको दाहालले जानकारी दिए । 

‘अब चाँडै नै काम सुरु गर्छौँ । काम गर्दा पनि नीतिगत समस्या छ । हामीले लगाउने फलामको भ्याटसहित दाम, ज्याला, क्रेनलगायत सबै जोड्दा प्रतिकेजी १७० रुपैयाँ हुनआउँछ । तर, सरकारले १५२ रुपैयाँ प्रतिकेजी मात्र छुट्याएको छ । जसका कारण के गर्ने भन्ने समस्यामा छौँ,’ उनले भने, ‘यो बजेटले दुई प्रतिशत मात्र काम हुन्छ ।’ 

चुनावमा धाउँछन्,पछि हराउँछन्
चुनावका वेलामा नाटकघरमा आएर नै भोट मागेका नेताहरूको प्राथमिकतामा नाटकघर पर्न नसकेको सेउपाखा बहुसांस्कृतिक नाटकघर निर्माण समितिका अध्यक्ष प्रकाश शर्मा अधिकारी बताउँछन् । ‘चुनावको वेलामा नेताहरू आउँदै भोट मागे । यहाँ भोट माग्न आउनेले चुनाव पनि जितेर गएर । त्यसवेलामा नाटकघर बनाउने जिम्मा हामीलाई छाडिदिनुस् भनेका थिए,’ उनी भन्छन्, ‘तर, नाटकघर उनीहरूको प्राथमिकतामा परेन । राज्यले हाम्रो सपनामाथि खेल्यो । हामीसँगैको दमक सभागृह राजनीतिको आँखामा पर्‍यो चाँडै बन्यो । कलासाहित्य राजनीतिको आँखामा परेन ।’

कदम थिएटरले तयार पारेको डिपिआरअनुसार सेउपाखा बहुसांस्कृतिक नाटकघरमा नाटक मञ्चनसँगै नियमित साहित्यिक कार्यक्रमका लागि हल, लाइब्रेरी, कलाकारका लागि होस्टेललगायत निर्माण गरिनेछ । कदम थिएटरले दमकमा नियमित नाटक मञ्चनका साथै साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

सरकारले बेवास्ता गरेपछि कदम थिएटरले अलपत्र परेको संरचनानजिकै अस्थायी नाटकघर बनाएको छ । जस्ता लगाएर बनाएको नाटकघरमा गर्मी महिनामा बस्नै नसक्ने अवस्था आउने गरेको कदम थिएटरका कलाकार नवीन रिजालले बताए । ‘नाटकघरको अभाव सबैभन्दा धेरै छ । गर्मीमा साह्रै गाह्रो हुन्छ । नाटकका कक्षा सञ्चालनमा पनि सकस छ,’ उनले भने, ‘अहिलेको अस्थायी नाटकघरमा दर्शक नअटेर फर्काउनुपर्ने बाध्यता पनि छ ।’