मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस भक्तपुर
२०८० जेठ १६ मंगलबार १५:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्धन अभाव भन्दै दमकल थन्क्याइए

Read Time : < 1 मिनेट
रासस, भक्तपुर
२०८० जेठ १६ मंगलबार १५:३६:००

जेठ १ गते सूर्यविनायक नगरपालिका– ५ चुनदेवीस्थित ‘न्यु दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो। आगलागीबाट रु. दुई करोड २९ लाखबराबरको क्षति भयो। तर, जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए। आगलागीस्थलबाट नजिकै रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौं र ललितपुरबाट  दमकल ल्याएर आगो नियन्त्रण गरियो।

यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो निभाउन भने चारवटै दमकल प्रयोग गरिएका थिए। यसपटक भने इन्धन अभावको कारण देखाउँदै थप दमकल प्रयोग गरिएन। आपतकालीन अवस्थामा चारवटै दमकल यसअघि प्रयोग हुँदै आएकामा कार्यालय प्रमुखले पुरानो एउटा दमकलको कागजपत्र नभएको र अर्को दमकल मर्मत एवं इन्धन खर्च नभएको भन्दै थन्क्याएपछि आगलागी नियन्त्रणमा समस्या आएको कर्मचारीको गुनासो छ। 

सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले मर्मत खर्च, इन्धन खर्च र अन्य खर्चसमेत व्यहोर्ने गरी हस्तान्तरण गरेका दुई दमकल मात्रै सञ्चालनमा छन्। कार्यालय प्रमुखले सबै दमकल आपतकालीन अवस्थामा जान सक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेमा पुराना दुई दमकल खर्च अभाव देखाउँदै थन्क्याउँदा आगो निभाउन समस्या भएको कर्मचारी बताउँछन्।

यसअघि सरकारबाट प्राप्त मर्मत र इन्धन खर्च तथा अन्य खर्चबाटै सेवा प्रवाह गर्दै आएको दमकल अहिले इन्धन अभाव एवं मर्मतका लागि बजेट अभाव भन्दै थन्क्याउन नहुने कर्मचारीको भनाइ छ। आगलागी र अन्य विपतमा प्रयोग हुँदै आएको रेस्क्यु भ्यानसमेत कार्यालय प्रमुखले प्रयोग नगर्दा जोखिम बढेको कर्मचारीको गुनासो छ।

कार्यालय प्रमुख लोकबहादुर कार्की भने चुनदेवीको आगलागीमा आवश्यक नठानेर दमकल प्रयोग नगरिएको बताउँछन्। मन्त्रालयले इन्धन र मर्मतका लागि आवश्यक बजेट नपठाउँदा इन्धन अभाव भएको उनको भनाइ छ।