
सर्पको टोकाइबाट भेरी अस्पतालमा आठजनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म आठजनाको मृत्यु भएको अस्पतालका वरिष्ठ एनेस्थेसिया तथा सर्पदंश विशेषज्ञ डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए।
सो अवधिमा सर्पले टोकेर उपचारमा आएका तीन सय ८० मध्ये ७० जना विषालु र तीन सय १० जना गैरविषालु सर्पले टोकेका बिरामी रहेका उनले बताए। ‘विषालु सर्पले टोकेकामध्ये ६२ जनालाई बचाउन सफल भयौँ। आठजनालाई बचाउन सकेनौँ,’ डा. आचार्यले भने।
उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा तीन सय ५० जना उपचारका लागि आएका थिए। तीमध्ये तीन सयजना गैरविषालु सर्पले टोकेका र ५० जना विषालु सर्पले टोकेका बिरामी थिए । गत आवमा उपचारका लागि आएका चारजनाको मृत्यु भएको थियो।
त्यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा सर्पले टोकेका चार सय बिरामी उपचारका लागि भेरी अस्पताल आएका थिए। तीमध्ये दुई सय ८० जना गैरविषालु र एक सय २० जना विषालु सर्पले टोकेका बिरामी थिए। उक्त आवमा पाँचजनाले ज्यान गुमाएका थिए।
‘सर्पले टोकेको पहिचान गर्न नसक्दा, घरेलु उपचार, अन्धविश्वास तथा उपचारका लागि अस्पतालमा ढिलो गरी पुर्याउँदा अस्पतालले प्रयास गर्दागर्दै पनि बचाउन सक्दैन,’ उनले भने। सर्पले टोकेको लक्षण थाहा पाउने र शंका लाग्नेबित्तिकै उपचारका लागि अस्पताल पुर्याए बिरामीको ज्यान जोगाउन सकिने उनको भनाइ छ।