१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिगमा पुलिसको छलाङ

१३औँ चरणसम्म रेलिगेसन क्षेत्रमा रहेको नेपाल पुलिस क्लब २२औँ चरणको खेल समाप्तिपछि चौथो स्थानमा उक्लेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:४o:oo

नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अप्रत्याशित छलाङ मारेको छ । प्रशिक्षक चेतकुमार घिमिरेको प्रशिक्षणमा रहेको पुलिसले सोमबार फ्रेन्ड्सलाई २–१ ले हराउँदै चौथो स्थानमा उक्लिएको हो । पुलिसलाई जित दिलाउन दुवै गोल रक्षक अन्जन राईले गरे । फ्रेन्ड्सका विकास थापाले एक गोल फर्काए । १३औँ चरणसम्म रेलिगेसन क्षेत्रमा रहेको पुलिसको उत्कृष्ट पुनरागमनका कारण चौथो स्थानमा उक्लेको हो । पुलिसले अब शीर्ष चार स्थानमा दाबी गरेको छ । फ्रेन्ड्सविरुद्धको जितसँगै पुलिसले तीन स्थान सुधार गरेको हो । 

फ्रेन्ड्ससँग खेल्नुअघि सातौँ स्थानमा थियो । नवौँ जितपछि विभागीय टोली पुलिसले ३१ अंक जोडेको छ । २२औँ चरणका खेल सकिँदा चर्च ब्वाइज शीर्ष स्थान, साबिक विजेता मच्छिन्द्र दोस्रो र जावलाखेल युथ तेस्रो स्थानमा छन् । पुलिसले अर्का दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफलाई पछि पारेको छ । फ्रेन्डस २४ अंकसहित रेलिगेसन क्षेत्रमा छ ।

पुलिसका प्रशिक्षक घिमिरेले यात्रा संघर्षपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । ‘यो यात्रा निकै संघर्षपूर्ण रह्यो । युवा खेलाडीबाट नतिजा निस्कन सकेको थिएन । विदेशी खेलाडीको आगमनसँगै खेलमा परिवर्तन आयो,’ खुसी हुँदै चेतनले भने । १९ फागुनबाट सुरु भएको लिगमा लगातार तीन खेल हारेको पुलिसले छैटौँ खेलमा एक अंक जोडेको थियो ।

विदेशी खेलाडीको प्रभाव
रेलिगेसन दबाबबीच पुलिसले पहिलोपटक घानाका खेलाडीद्वय मोसेज र जोय आइडूलाई अनुबन्ध गर्‍यो । भारतीय मोहम्मद आसिक, नाइजेरियन सर्ज डिका र लेबनानका अहमद हिजाजीलाई अनुबन्ध गरेपछि पुलिसको अग्रपंक्ति र मिडफिल्ड जमेको थियो । १३औँ चरणसम्म पुलिस रेलिगेसन क्षेत्रमै थियो । १४औँ चरणमा रेलिगेसन स्थान छाडेको पुलिस १५औँ चरणमा पुनः रेलिगेसन क्षेत्रमा झरेको थियो ।

१६औँ चरणमा फेरि माथि उठ्यो । यसपछि पुलिसलाई रेलिगेसनको चिन्ता कम भयो । मनाङ मस्र्याङ्दीविरुद्धको जितपछि पुलिस लयमा देखिन थाल्यो । १८औँ चरणमा १०औँ स्थानमा उक्लियो । २० खेलमा सातौँ जित निकालेपछि तालिकाको दशौँ स्थानमा उक्लियो । २१ खेलपछि सातौँ स्थानमा रहँदा २२ खेलमा फ्रेन्डसविरुद्धको जितसँगै चौथो स्थानमा उक्लिएको छ । ‘यो जितपछि रेलिगेसन क्षेत्र पूर्ण रूपमा छाडेको भन्नुपर्छ । विदेशी खेलाडी आएपछि अग्रपंक्ति राम्रो भएको छ ’ घिमिरेले भने । 

नयाँ लक्ष्य शीर्ष चार 
शीर्ष आठभित्र रहने लक्ष्य रहेको पुलिसको नयाँ लक्ष्य शीर्ष चारमै रहेको प्रशिक्षक घिमिरेले बताए । ‘प्रशिक्षकका रूपमा पहिलो सिजन कठिन भयो । बिस्तारै सजिलो हुँदै आयो । अब सबै खेल जितियो भने शीर्ष चारमा समापन गर्न सकिन्छ,’ रणनीतिबारे घिमिरेले भने । फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले रेलिगेसनको चर्काे दबाब रहेको र बाँकी खेल जित्दै शीर्ष डिभिजन हैसियत कायम राख्ने बताए । ‘रेलिगेसन क्षेत्रमा छौँ । निकै दबाब छ । बाँकी खेल जित्दै रेलिगेसनबाट बच्ने कोसिस गर्छौं,’ श्रेष्ठले भने ।  
 

ad
ad