मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार ११:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १५ सोमबार ११:११:००

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । आइतबारबाट एकीकृत कारोबार सुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र उत्कृष्ट ५ निर्जीवन बिमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ । 

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार आयोजित एक कार्यक्रममा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरे । मर्जरसँगै कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख, बिमा कोषमा ७२ करोड ६४ लाख र कुल नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । त्यसैगरी, शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बिमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

नियमनकारी निकायले तोकेका क्षेत्रमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ । 
समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले बिमा कम्पनीले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बिमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै वेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ छ । 

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नवीन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने कम्पनीको पंक्तिमा उभ्याउने बताए ।