मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडाैं
२०८० जेठ १५ सोमबार ०६:५८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धान गर्न सरकारी वकिल कार्यालयको निर्देशन

रणनीति बनाउन प्रहरी आन्तरिक छलफलमा

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० जेठ १५ सोमबार ०६:५८:००

नक्कली शरणार्थी प्रकरणमा संलग्न थप अभियुक्तविरुद्धको अनुसन्धान तत्काल अघि बढाउन सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्न थप अभियुक्तविरुद्धको अनुसन्धान तत्काल अघि बढाउन प्रहरीलाई शुक्रबार नै निर्देशन दिइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले घटनामा जोडिएका थप अभियुक्तविरुद्धको अनुसन्धान तत्काल अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको बताए । ‘केही हाई प्रोफाइल मुछिएको देखियो । तर, उनीहरूविरुद्धको अनुसन्धान भएको देखिएन । त्यसो हुँदा उनीहरूविरुद्ध  थप अनुसन्धान गर्न हामीले प्रहरीलाई निर्देशन दिएका छौँ,’ उनले भने । 

निर्देशनअनुसार घटनामा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहमन्त्रीपत्नी तथा सांसद मञ्जु खाण, कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा सांसद डा. आरजु राणा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्वगृहसचिव प्रेमकुमार राई, बिचौलिया बेचन झा, पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, डा. अजयक्रान्ति शाक्य, मिलन गौतमलगायतविरुद्ध प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउनेछ । 

सरकारी वकिल कार्यालयबाट अदालतमा पेस अभियोगपत्रअनुसार घटनामा पक्राउमध्येका केशव दुलालले तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्यले प्रधानमन्त्रीनिवास बालुवाटारमा तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत ०७६ असोजमा एक करोड रुपैयाँ नगदै दिएका थिए । 

त्यस्तै, दुलालले तत्कालीन गृहमन्त्री थापालाई पुल्चोकस्थित मन्त्रीनिवासमै पुगेर उनका छोरा प्रतीक थापामार्फत तीन करोड रुपैयाँ दिएको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै, पूर्वगृहसचिव राईले पनि तीन करोड रुपैयाँ बुझेको, तत्कालीन प्रधानमन्त्री ओलीका पूर्वसल्लाहकार डा. शाक्यले एक करोड बुझेको, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले पनि एक करोड बुझेको अभियोगपत्रमा उल्लेख छ । 

बादलपत्नी नैनकलाले पनि २५ साउन ०७६ मा पुल्चोकस्थित मन्त्रीनिवासमै एक करोड रुपैयाँ बुझेको अभियोगपत्रमा लेखिएको छ । तर, उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान गरेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले थप अनुसन्धानका लागि प्रहरीले माग गरेअनुसार नै सरकारी वकिल कार्यालयबाट निर्देशन आएको बताए ।

उनका अनुसार अभियुक्तविरुद्ध मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ३५ अनुसार थप अनुसन्धान हुनेछ । ‘घटनामा केही व्यक्तिका नाम आएका छन् । तर, उनीहरूविरुद्धको अनुसन्धान बाँकी नै थियो । सरकारी वकिल कार्यालयमा थप अनुसन्धानका लागि हामीले नै राय पेस गरेका थियौँ र सोहीअनुसार निर्देशन आएको छ,’ उनले भने, ‘त्यसो हुँदा मुलुकी फौजदारी कार्यविधिको दफा ३५ अनुसार घटनामा मुछिएका सबैविरुद्ध अनुसन्धान हुनेछ । अनुसन्धान कानुनअनुसार नै अघि बढ्नेछ ।’

मुलुकी फौजदारी कार्यविधिको दफा ३५ मा अदालतमा मुद्दा दायर भइसकेपछि पनि थप प्रमाणले अनुसन्धान माग गरे पक्राउ परेका वा पक्राउ हुन बाँकी जोसुकैविरुद्ध पुनः अनुसन्धान हुन सक्ने व्यवस्था छ । ‘कुनै मुद्दा अदालतमा दायर भइसकेपछि त्यस्तो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणबाट मुद्दा दायर भइसकेका अभियुक्तबाहेक अन्य अभियुक्तउपर समेत दाबी लिनुपर्ने भएमा वा मुद्दा दायर भई अभियुक्त कायम भइसकेका व्यक्तिउपर थप अभियोग लगाउनुपर्ने देखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न लगाई अन्य थप अभियुक्तको हकमा समेत थप दाबी लिई सरकारी वकिलले मुद्दा दायर गर्न सक्नेछ,’ उक्त दफामा छ । 

दोस्रोपटक हुने अनुसन्धानका लागि रणनीति बनाउन प्रहरी आन्तरिक छलफलमा जुटिसकेको छ । रणनीति बनाउने छलफलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्यामलाल ज्ञवाली प्रत्यक्ष संलग्न छन् । त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च प्रहरी अधिकृत पनि छन् । पक्राउ पुर्जी जारी गर्दा अभियुक्त भाग्न सक्ने मात्र नभई हाई प्रोफाइलविरुद्ध नै अनुसन्धान गर्नुपर्ने भएको हुँदा आउन सक्ने दबाब झेल्न प्रहरीले नयाँ रणनीति बनाउन लागेको हो । 

प्रहरीको एक उच्च अधिकृतले भने, ‘दोस्रोपटक हुने अनुसन्धान हाई प्रोफाइलविरुद्ध नै केन्द्रित हुनेछ । यसमा निश्चित रूपमा दबाब आउनेछन् । पक्राउ पुर्जी जारी गर्दा अभियुक्त भाग्न सक्ने मात्र नभई प्रमाणसमेत नष्ट गर्नेमा लाग्न सक्नेछन् । त्यसो हुँदा यसमा बलियो रणनीति बनाउन आवश्यक छ । त्यसैका लागि प्रहरी आन्तरिक छलफलमा जुटेको छ । दोस्रो चरणको अनुसन्धानले पक्कै पनि नयाँ तरंग ल्याउनेछ ।’

 पक्राउमध्ये पाँच अभियुक्तको बयान सकियो, सबैको इन्कारी बयान 

केशव र सागरको शुक्रबार नै बयान सकिएको छ । लक्ष्मी महर्जन, सन्दीप र टंकको भने आइतबार बयान भएको हो । अदालतमा पाँचै अभियुक्तले घटनामा इन्कारी बयान दिएका छन् । बैंक खातामा जम्मा भएको रकमका सन्दर्भमा ‘जग्गा कारोबारका क्रममा ऋण सापट’ लिएको बयानमा भनेका छन् । कारोबारका सन्दर्भमा भएका एसएमएस आदानप्रदान तथा अडियो रेकर्ड भने भावावेशमा गरिएको बताएका छन् ।