Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार ०९:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सार्वजनिक स्थलबाट ६७ ट्रक फोहोर संकलन   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १४ आइतबार ०९:०७:००

काठमाडौंका विभिन्न सार्वजनिक ठाउँमा शनिबार भएको विशेष सरसफाइ अभियानबाट ६७ गाडी फोहोर संकलन भएको छ । जसमध्ये महानगरले ३१ गाडी र निजी क्षेत्रले ३६ गाडी फोहोर संकलन गरेका थिए । अभियानबाट करिब एक सय १८ मेट्रिकटन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । जनप्रतिनिधिले पद बहाली गरेको एक वर्ष पूरा भएको अवसरमा काठमाडौं महानगरका ३२ वटै वडामा एकैपटक सरसफाइ गरिएको हो ।

सरसफाइका लागि ब्रुमर, जेटसहित साधन तथा उपकरण परिचालन गरिएका थिए । बिहान सात बजे सरसफाइ सुरु भएको थियो । यस क्रममा महानगरकी उपप्रमुख सुनीता डंगोल, वडा नं. १२, २० र २१ का विभिन्न स्थानमा पुगेर सफाइ कार्यमा सहभागी थिइन् । उपप्रमुख डंगोलले भनिन्, ‘सरसफाइ र स्वच्छता हाम्रो दायित्व हो । यो दायित्व सहभागितामूलक व्यवस्थापन पद्धतिले मात्र दिगो बन्छ । यसकारण सरसफाइ कार्यक्रमलाई अभियानका रूपमा नियमित सञ्चालन गरेर नागरिकको सहभागिता बढाउँदै लैजानुपर्छ ।’ 

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सरसफाइ र स्वच्छताका लागि महानगरपालिकाले जिम्मेवारी पूरा गर्ने बताए । यसमा नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ । ‘घर बनाउँदै गर्नुभएका महानगरवासीले सडकमा जथाभावी निर्माण सामग्री राखिदिँदा ढल बन्द भएको धेरै भेटियो,’ उनले भने, ‘उत्पादित फोहोरलाई सही समय र ठाउँमा राख्नुपर्नेमा समुदायले जिम्मेवारी पूरा गरेको देखिएन । यसलाई नियमन गर्नुपर्ने नाइकेको र निजी क्षेत्रको भूमिका प्रभावकारी देखिएन ।’ 

कार्यक्रमलाई व्यवस्थित गर्न हरेक वडामा टोली प्रमुखसहित सहयोगी अधिकृत कर्मचारी, वडासचिव, सेनिटेसन सुपरभाइजर, एकजना नगर प्रहरी र नाइके कर्मचारीको टोली खटाइएको थियो । टोलीले वडाध्यक्ष, सदस्य तथा वडाका अधिकारीसँग बैठक बसेर सफाइका लागि भेट गर्ने ठाउँ, सफाइ गरिने क्षेत्रलगायत विषयमा निर्णय गरेको थियो । सफाइका क्रममा सडक, पार्क, नदी–किनारामा भेटिएको फोहोर टिपिएको थियो ।

यस्तै, घरका दैलो–दैलोमा पुगेर जथाभावी फोहोर बाहिर ननिकाल्न आग्रह गरिएको थियो । सफाइका क्रममा सहरलाई प्रदूषित हुनबाट रोक्ने प्रयासमा नागरिकलाई सहभागी गराइएको थियो । यस्तै, दैलोमा पुगेर फोहोरलाई स्रोतमा वर्गीकरण गर्न, उचित समयमा जिम्मेवार फोहोर संकलकको सवारीसाधनमा मात्र फोहोर जिम्मा लगाउन, जैविक फोहोरलाई घरमै व्यवस्थापन, पुनः प्रयोग र पुनः चक्रिय प्रयोगबाट घटाउन, प्लास्टिकका झोलाको प्रयोग कम गर्न अनुरोध गरिएको थियो ।