Skip This
एकै दिन रोकिए शीर्ष तीन क्लब 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 27 July, 2024
संकटाविरुद्ध (नीलो जर्सी) बलका लागि संघर्ष गर्दै चर्च ब्वाइजका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o जेठ १४ आइतबार o७:५४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकै दिन रोकिए शीर्ष तीन क्लब 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार o७:५४:oo

शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानको जावलाखेल युथ पराजित हुँदा दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक बाँड्यो

सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० को एकै दिन शीर्ष तीन क्लब चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लब रोकिएका छन् । शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानको जावलाखेल युथ पराजित हुँदा दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक बाँडेको छ । चर्च ब्वाइजले भने पाँच अंकको दूरी बढाउने अवसर गुमाएको छ । यता, मच्छिन्द्रले चर्च ब्वाइजसँग अंक बराबर गर्ने मौका सदुपयोग गर्न सकेन । एकै दिन जावलाखेल विभागीय टोली एपिएफ फुटबल क्लबसँग २–० ले पराजित भयो । तेस्रो स्थानको मच्छिन्द्र चौथो स्थानको आर्मीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न पुग्यो । 

दशरथ रंगशालामा चर्च ब्वाइज संकटा क्लबसँग १–० ले पराजित भएको हो । विदेशी खेलाडी युसेफ एट्रिसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । दुईबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन यो नतिजापछि खुसी देखिएनन् । ‘अंक तालिका यतिको प्रतिस्पर्धात्मक हुँदा यो नतिजा ठीक हैन,’ महर्जनले भने, ‘तर, शीर्ष स्थानमै छौँ । बाँकी खेल जित्नैपर्छ ।’ २२ खेलबाट १० जितसहित ३८ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा यथावत् छ । 

यता, लगातार खराब प्रदर्शन जारी राखेको संकटा भने जित निकाल्न सफल भयो । चर्च ब्वाइजविरुद्ध संकटाले प्रशिक्षक सल्यान खड्गीसहित कोचिङ स्टाफ नै परिवर्तन गरेको थियो । रवीन्द्र सिलाकारले टच लाइन सम्हालेको पहिलो खेलमै तीन अंक पाए । ‘निकै महत्वपूर्ण खेल थियो । अंक नगुमाउने भन्ने थियो । सफल भयौँ,’ सिलाकारले सुनाए । प्रशिक्षक खड्गीले लगातारको हारपछि राजीनामा दिएका थिए । ‘खेलाडीले व्यक्तिगत खेलभन्दा पनि टोलीका लागि खेले । त्यसैले तीन अंक आयो,’ उनले सुनाए । यो जितपछि संकटाले रेलिगेसन क्षेत्र छाडेको छ । २२ खेलबाट २६ अंक जोड्दा ११औँ स्थानमा उक्लियो । डबल लिगमा खुमलटार र फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा छन् । 

जावलाखेल एपिएफसँग स्तब्ध
विदेशी खेलाडी अर्मान्ड बिडोम तथा राष्ट्रिय टोलीबाट खेलिसकेका आवास लामिछानेले समान एक गोल गरेपछि दशरथ रंगशालामा एपिएफ क्लबले जावलाखेल युथ क्लबमाथि २–० को सहज जित निकालेको छ । डबल लिगमा एपिएफ जावलाखेलविरुद्ध अपराजित रह्यो । दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको हो । ८४औँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । एपिएफका कप्तान नवीन लामा र जावलाखेलका विदेशी खेलाडी अब्दुलाजिज निसोनवेभले मैदानभित्र झगडा गरे । त्यसपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवैलाई रातो कार्ड देखाएका हुन् । लिगको एक सय ४९औँ खेलपछि एपिएफ कम्तीमा रेलिगेसन डरबाट बचेको छ । जावलाखेल भने शीर्ष स्थानको चर्च ब्वाइजसँगको अंकदूरी कम गर्नबाट चुक्यो । २२ खेलमा २९ अंक जोडेको एपिएफ सातौँ स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट ३४ अंकका साथ चौथो स्थानमा कायम छ । 

जावलाखेल युथका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले अहिलेलाई उपाधि दौडमा रहे पनि चर्च ब्वाइजको खेल कुर्नुपर्ने बताए । उनले खेलाडी अनुशासनमा नरहँदा हार बेहोरको पनि प्रतिक्रिया दिए । ‘उपाधि दौडमै रहे पनि हामीले अन्य टोलीको खेलमा कुर्नुपर्छ,’ उनले भने । ‘खेलाडी अनुशासनमा नरहँदा टोलीलाई घाटा भयो,’ उनले भने । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले रेलिगेसन क्षेत्र छाडेपछि खुसी देखिए । ‘लिगको सुरुवात राम्रो भयो । तर, केही खेलमा अनावश्यक हार बेहो¥यौँ । अन्तिममा रेलिगेसनबाट जोगियौँ,’ महर्जनले सुनाए । राम्रो स्थानमा रहेर लिग टुंग्याउने कोसिस हुनेछ,’ उनले थपे । 

२३औँ मिनेटमा बिडोमको गोलमार्फत एपिएफले अग्रता लियो । शरणविक्रम बस्नेतको क्रसलाई बिडोमले हेडगोल गरे । पहिलो हाफको इन्जुरी समयमा आवासले एपिएफलाई २–० को अग्रता दिलाए । आवासले जावलाखेलको रक्षापंक्तिको गल्ती फाइदा उठाउँदै बक्सभित्रबाट सहज गोल गरेका हुन् ।

आर्मी र मच्छिन्द्रले अंक बाँडे
साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले साबिक उपविजेता आर्मीविरुद्ध च्यासल मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । डबल लिगमा आर्मी मछिन्द्रविरुद्ध अपराजित रहेको छ । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो । लिगको एक सय ४८औँ खेलपछि मच्छिन्द्र ३६ अंकका साथ दोस्रो स्थानमा यथावत् छ । आर्मी पनि २२ खेलबाट ३० अंक जोड्दै चौथो स्थानमा छ । खेलको १७औँ मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । ६०औँ मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुँदा मच्छिन्द्र हारबाट जोगिएको हो ।