मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ १२ शुक्रबार १२:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिनभर लाग्ने बाटो दुई घन्टामै सरर

Read Time : > 2 मिनेट
२०८० जेठ १२ शुक्रबार १२:१५:००

केही वर्ष पहिले जिल्लाको बरेङ गाउँपालिकाका स्थानीयलाई सदरमुकाम बागलुङ बजार पुग्न दिनभर लाग्थ्यो। कच्ची सडकको यात्रा ठाउँ–ठाउँमा गाडी फस्ने हैरानी, बिहान गाडी चढेपछि साँझ मात्र सदरमुकाम पुगिन्थ्याे। न सहज यात्रा, न समयमा कुनै काम हुने। तर, यस क्षेत्रमा निर्माण मुख्य सडकको सुधारसँगै जिल्ला सदरमुकाम आउने समय दुई घन्टामै छोटिएको छ।

बरेङवासी अहिले दुई घन्टामै सरर सदरमुकाम पुग्ने भएका छन्। दुर्गम मानिएको बरेङ गाउँपालिका जोड्ने मुख्य सडकको रूपमा रहेको कुश्मिसेरा–नान्दुक–बरेङ–शान्तिपुर सडकखण्ड स्तरवृद्धि र कालोपत्रे भएसँगै दिनभरको बाटो दुई घन्टामा छोटिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन्। 

‘सदरमुकाममा कुनै काम परे पहिले अघिल्लो दिन नै पुगेर वास बस्नुपर्थ्याे। यात्रा निकै सकसपूर्ण हुन्थ्याे। अहिले सडक स्तरोन्नति भएसँगै बिहानै हिँडे दुई घन्टामै सदरमुकाम पुग्न सकिन्छ, १० बजेपछि कार्यालयको काम सकेर बेलुका फर्किन भ्याइन्छ।’ 

पूर्वाधार विकास कार्यालयको ३४ करोड रुपैयाँको लागतमा जैमिनी नगरपालिकाको राङखानी नान्दुकदेखि बरेङसम्मको अधिकांश सडक कालोपत्र भएपछि बाटो छोटिएको शर्मा बताउँछन्। बरेङमा उक्त सडक मात्रै नभएर अन्य ग्रामीण सडकसमेत बर्खामा चल्न सक्ने गरी स्तरीय बनाइएको गाउँपालिका अध्यक्ष शर्माको भनाइ छ। 

दुर्गम गाउँ सडकले सुगम बन्यो

बरेङ गुल्मी जिल्लासँग जोडिएकाले यहाँका जनता प्रशासनिक कामबाहेक किनमेलका लागि गुल्मी हुँदै बुटवल पुग्ने गर्थे, सडक भएसँगै अधिकांश अहिले सदरमुकाम नै जाने गरेका छन्।  सडक पुगेपछि दुर्गम मानिएको बरेङ बिस्तारै सुगम बन्दै गएकामा स्थानीयवासीमा खुसी छाएको छ।  

‘हामीले त गाउँमा यसरी कालेपत्रे बाटो भन्ने परिकल्पना पनि गरेका थिएनौँ,’ बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका लीलाधर शर्मा भन्छन्, ‘अहिले गाउँकै बाटो कालोपत्रे भयो, गाडीमा सरर हिँड्न पाइएको छ । गाउँमा विकास भएको देख्दा खुसी छौँ।’ 

घरअघि नै कालोपत्र सडक आएपछि विकासको महसुस गरेको उनी बताउँछन्। कुश्मिसेरा–नान्दुक–बरेङ–शान्तिपुर सडकखण्डअन्तर्गत अहिले नान्दुकदेखि बरेङ खण्ड धमाधम कालोपत्रे भइरहेको छ। यता कुश्मिसेरा–राङखानी–नान्दुक खण्डमा स्तरोन्नति र ग्राभेल भएको छ। अधिकांश सडक दुर्गमबाट सुगमतर्फ सडक कालोपत्र भइरहेको छ।

बरेङ खण्ड कालोपत्र भइसक्दासमेत पहिलो खण्ड कुश्मिसेरा–राङखानी सडक कालोपत्र हुन नसक्दा भने थोरै समस्या छ। राङखानी क्षेत्रको सडक कालोपत्रे भए अझै सहज हुने शर्मा बताउँछन्। 

११ किलाेमिटर सडकमा कालोपत्रे

सडक तथा पूर्वाधार निर्माणका काम अधिकांश निर्माण व्यवसायीले समयमा नसकेको अवस्थामा भने नान्दुकदेखि बरेङसम्मको दोस्रो खण्डका रूपमा रहेको ११ किलाेमिटर सडकमा अहिले धमाधम कालोपत्रे भइरहेको छ।

बागलुङको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किलाेमिटर सडक कालोपत्रेका लागि छुट्टाछुट्टै मितिमा ठेक्का लगाएको थियो। 

दोस्रो खण्ड कालोपत्रे भएर सडकका कारण स्थानीयवासीको दैनिकी नै फेरिएको भए पनि तल्लो खण्ड अर्थात् कुश्मिसेरा–राङखानी सडकखण्डको काम भने सन्तोषजनक नभएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख इन्जिनियर गणेश सुवेदी बताउँछन्। 

तल्लो खण्डको काम भने कछुवाको गतिमा भएको सुवेदीको भनाइ छ। उनले भने, ‘यो खण्ड ठेक्का सम्झौता भएको चार वर्ष पुग्यो। १० किलाेमिटर कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीले सुस्त गतिमा काम गरेको छ। माथिल्लो राङखानी–नान्दुक–बरेङ खण्डको ११ किलाेमिटरमा काम धमाधम भइरहेको छ। त्यो यसै वर्ष कालोपत्रे सकिन्छ। तल्लो खण्डका निर्माण व्यवसायीलाई हामीले ताकेता गरेका छौँ।’

यस सडकखण्डअन्तर्गत राङखानी–नान्दुक–बरेङसम्मको ११ किलाेमिटर सडकमध्ये तीन किलोमिटर सडक ढलान र चार किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको सुवेदीले बताए। बाँकी चार किलाेमिटर सडकमा धमाधम कालोपत्रेका लागि आवश्यक पूर्वाधारको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति    

११ किलाेमिटर सडक पूर्वाधारसहित कालोपत्र गर्न ०७८ साउनमा दुई वर्षमा कालोपत्रे र घुम्ती सडकमा ढलान गर्ने गरी रु. ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी–धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। पूर्वाधार कार्यालयअन्तर्गत कालोपत्रे गर्न निर्माणको चरणमा छन्। 

सडकमध्ये सबैभन्दा पछि ठेक्का खोलिएको राङखानी–बरेङ सडकको नै हालसम्मको प्रगति सबैभन्दा बढी रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले जानकारी दिए। 

देवकोटाका अनुसार सडकको हालसम्म ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ। ०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्ने गरी ठेक्का लगाएको कुश्मिसेरा– राङखानी सडक भने ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दासमेत १० किलाेमिटर सडकको भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

६ ठूला सडक निर्माणाधीन अवस्थामा 

जिल्लाभर सञ्चालित ६ ठूला सडकमध्ये राङखानी–नान्दुक हुँदै बरेङसम्मको सडक कालोपत्रे भइरहेको छ भने ०७७ सालमा ठेक्का सम्झौता गरेको गलकोटदेखि ताराखोला पुग्ने सडक सम्झौता मिति सकिएपछि कालोपत्रेको काम सुरु भएको छ। 

त्यसैगरी, ०७६ सालमा सम्झाैता भएको बानपा– ४ फेदीदेखि मालिका–कालिमाटी हुँदै धम्जा र तित्याङ हुँदै भैरवस्थान जोड्ने सडकको ७४ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर देवकोटाले जानकारी दिए। 

जिल्लाको पश्चिम ढोरपाटनको दवाडी, गादीखोला, हुँदै रुम म्याग्दी जोड्ने सडकको ४० प्रतिशत र खरीखोला हुँदै ताराखोला जोड्ने सडकको ७३ प्रतिशत प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

सडक कालोपत्रे गरेपछि देखिएको धुल्लुबास्कोट  तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका