मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०५:५७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ ठाउँमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ०५:५७:००

पश्चिम रुकुममा भएको जिप दुर्घटनामा २२ दिने शिशु र आमासहित पाँचको ज्यान गयो

पश्चिम रुकुम, प्युठान, जुम्ला, भक्तपुर, बारा र ताप्लेजुङका ६ स्थानमा सवारी दुर्घटना हुँदा एकैदिनमा १० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुली दुधारमा लु.१ज १७४७ नम्बरको जिप दुर्घटना हुदा पाँचजनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

प्युठानको गौमुखी गाउँपालिका– ५ खुङ छहरेखोलामा बुधबार राति लु.४त १२२५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक स्थानीय २२ वर्षीय सुमन हमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ६ गोरुचौरमा बुधबार राति नै भे.१ख २९१३ नम्बरको बसबाट लडेर गोरखा धार्के गाउँपालिका घर भएका ३० वर्षीय छन्जवीर गुरुङको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ भातेढिकुरनजिकै ना.१ख ९८४५ नम्बरको गाडी र बा.९१प १६९६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा बुधबार राति दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकलचालक झापा घर भई हाल भक्तपुर नलिन्चोक बस्दै आएका २३ वर्षीय रूपेश राजवंशीको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका– ६ पर्सा टोलमा बा.८५प ७६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६४ वर्षीया देउकी साहको मृत्यु भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ६ भोटे गुम्बामा मे.१च ७३५३ नम्बरको स्कारपिओ बिहीबार दुर्घटना हुँदा गाडीमा सवार सागर गुरुङका छोरा पाँच वर्षीय अंशुमन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । 

जिप दुर्घटनामा २२ दिने शिशु र आमासहित पाँचजनाको मृत्यु

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुली दुधारमा दुर्घटनाग्रस्त जिप

रुकुम पश्चिम/रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुलीदुधारको भित्री सडकमा जिप दुर्घटना हुँदा २२ दिने शिशु र आमासहित पाँचजनाको ज्यान गएको छ । घाइते १० मध्ये चारजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ ।

खलंगा जाँदै गरेको लु.१त १७४७ नम्बरको जिपको ब्रेक फेल भएर बिहीबार दुर्घटना हुँदा चारजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा बाँफीकोट गाउँपालिका– ८ घर भएकी सुत्केरी महिला २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशनको ज्यान गएको श्रेष्ठले जनाए ।

त्यस्तै, सानीभेरी गाउँपालिका– ५ का ७० वर्षीय कर्णबहादुर बाठामगर र सोही ठाउँका ५० वर्षीय देउचन खत्रीको पनि दुर्घटनामा परी ज्यान गएको छ । २३ वर्षीया शीतला कुसारीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । उनका दुई वर्षीय छोरा प्रसिद्ध घाइते भएका छन् ।

प्रसिद्धसहित जिपका साहु सानीभेरी– ५ का ४० वर्षीय प्रेम बाठामगर, २० वर्षीया अनिता केसी र २२ वर्षीयय ललित बाठामगरलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको छ । उनीहरूको टाउको, ढाड र हातखुट्टामा गम्भीर चोट लागेको जनाइएको छ । 

सानीभेरी– ५ का जिपचालक दीपक बाठामगर, कल्पना केसी, रिता खत्री, मनीषा बस्नेत, गम्भीर कुसारी र कर्णवीर पुनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।