१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०८० जेठ ११ बिहीबार ०७:१२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१७ जेठदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण 

Read Time : > 3 मिनेट
२०८० जेठ ११ बिहीबार ०७:१२:००

दुई देशबीच पारस्परिक विश्वास अभिवृद्धि गर्ने गरी तयारी गर्न पूर्वपरराष्ट्रमन्त्री एवं विज्ञको सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक हुने दाबी गरिरहेका वेला पूर्वपरराष्ट्रमन्त्री एवं अन्तर्राष्ट्रिय मामिला जानकारले भ्रमणले दुई देशबीच पारस्परिक विश्वास अभिवृद्धि गर्ने गरी नेपालले तयारी गर्नुपर्ने सुझाव दिएका छन् । 

पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. नारायण खड्काले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण परम्पराको निरन्तरता भएको दुई देशबीचका सीमादेखि व्यापार, ऊर्जा, लगानी, पूर्वाधार र सहयोगसमेतका विषय उठाउनुपर्ने सुझाव दिए । ‘अहिले प्रधानमन्त्रीजी कुनै विशिष्ट समस्या समाधान गर्न जानुभएको होइन,’ खड्काले भने, ‘पहिले नै सम्झौता गरेका दर्जनौँ विषयको कार्यान्वयनमा जोड दिनुपर्छ । इपिजी प्रतिवेदन बुझ्ने विषयदेखि सीमा समस्याको विषय प्रस्तुत गर्नुपर्छ । प्रधानमन्त्रीले बाहिर भाषण गर्नेभन्दा पनि संवादको वातावरण बनाउनुपर्छ ।’ 

पूर्वपरराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले नेपाल र भारतबीच राजनीतिक सम्बन्ध सम्पर्क स्थापित गर्ने र राजनीतिक विश्वासको वातावरण बनाउनुपर्ने आजको आवश्यकता रहेको टिप्पणी गरे । ‘उतारचढावपछि दुई देशको सम्बन्धमा जुन तहको राजनीतिक सम्पर्क र विश्वास स्थापित हुनुपर्ने हो, त्यसमा कमी रहेको महसुस भइरहेको छ,’ ज्ञवालीले भने, ‘हाम्रा विषय नराखेर, भन्नुपर्ने विषयलाई कार्पेटमुनि राखेर विश्वासको वातावरण बन्दैन । अहिले सरकारको पर्याप्त तयारी देखिँदैन । प्रधानमन्त्रीले हौसिएर हतारिएर केही गर्नुभयो भने गल्ती हुन सक्छ । पर्याप्त तयारी नभएका विषयमा अघि नबढ्दा उपयुक्त हुन्छ ।’ 

प्रधानमन्त्रीलाई सबैसँग सुझाव लिएर सबैको विश्वास आर्जन गरेर भारत भ्रमणमा जान उनको सुझाव छ । ‘नेपाल–भारत संयुक्त आयोगको पछिल्लो बैठक, प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमा जोड दिनुपर्छ भन्ने लाग्छ,’ ज्ञवालीले भने, ‘सीमासम्बन्धी विषय टुंगो लगाउने संयुक्त संयन्त्रको संवाद खुला भयो भने सडकमा पोखिएका विषय संवादका टेबुलमा आउँथे । भयावह व्यापार घाटा कम गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक प्रयास गर्नुपर्छ । वाणिज्य सन्धि पुनरावलोकन गर्ने ठोस मार्गचित्र गर्नुभयो भने राम्रो हुन्छ । हवाई रुट, इपिजीको प्रतिवेदनलगायतका विषयमा पनि प्रधानमन्त्रीले स्पष्ट कुराकानी गर्नुपर्छ ।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल र भारतबीचको दूरी घटाउने प्रयास गर्नुपर्ने सुझाव दिए । ‘भारतको चाहना र प्राथमिकता तात्कालिक आवश्यकता तथा भविष्यको सामरिक सोचमा केन्द्रित छ,’ पाण्डेले भने, ‘नेपालसँग भने इतिहासले थोपरेका अनगिन्ती इस्युदेखि आजको खाँचोले एजेन्डाको थुप्रो लागेको छ । यो दूरीलाई कम गर्न सक्रिय बनाइनुपर्ने नियमित कूटनीतिक संयन्त्र शिथिल छन् । प्रधानमन्त्रीको भ्रमणले भिन्नता र दूरी घटाएर विश्वासको सम्बन्ध बनाउन सक्नुपर्छ ।’

माओवादी नेता एवं परराष्ट्र मामिला जानकार राम कार्कीले नेपालको विश्वसनीयता बढाउने गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुनुपर्ने बताए । ‘द्विपक्षीय विषयमा परराष्ट्र मन्त्रालय र सम्बद्ध निकायहरूले तयारी गरिरहेकै हुन्छन्, यसमा टिप्पणी गर्नुपरेन । मुख्य रूपमा प्रधानमन्त्रीले नेपालको हितका विषय स्पष्ट रूपमा राख्नुपर्छ । तीता–मीठा जे विषय भए पनि स्पष्ट राखिएको अवस्थामा आपसी विश्वसनीयता बढ्छ,’ कार्कीले भने, ‘प्रधानमन्त्रीले सबैलाई लिएर, सबैको सुझाव समेटेर र साझा मत बनाएर यस सन्दर्भमा अघि बढ्न खोज्नुभएको मैले पाएको छु । सबैलाई साथमा लिएर नेपालको हितमा यो भ्रमणको उपयोग हुनेमा म विश्वस्त छु ।’ 

पूर्वराजदूत डा. दिनेश भट्टराईले गम्भीर तयारी गरेर प्रधानमन्त्रीको भारत भ्रमण हुुनुपर्ने सुझाव दिए । ‘भारत सर्वाधिक महŒवको छिमेकी हो । तर, हामी बहुआयामिक सम्बन्धको परम्परागत इस्युमा अड्केका छौँ, यसरी अब हुँदैन,’ तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका भट्टराईले भने, ‘हामीले सीमा समस्या, १९५० को सन्धिलगायतका जे विषय प्रस्तुत गर्छौँ, वैकल्पिक मार्गचित्रसमेत लिएर संवाद गर्नुपर्छ ।’ उनले इपिजीमा भारतको मनसाय नेपालले नबुझेको पनि गुनासो गरे । भट्टराईले भने, ‘भारतसँगको सम्बन्ध हाम्रा लागि एउटा परीक्षा हो । पहिला सजिला प्रश्नको हल गरौँ । त्यसपछि जटिल प्रश्नमा प्रवेश गरेर उत्तर खोजौँ ।’

पूर्वराजदूत एवं नेपाल–भारत सम्बन्धका जानकार डा. विजयकान्त कर्णले प्रधानमन्त्रीको भ्रमणमा राजनीतिक विश्वास र आर्थिक सहकार्य मुख्य एजेन्डा हुनुपर्ने सुझाव दिए । ‘प्रधानमन्त्रीजीले भारतको राजनीतिक नेतृत्वसँग उच्च राजनीतिक समझदारी र विश्वासको वातावरण बनाउनुपर्छ । आर्थिक मुद्दामा जोड दिनुपर्छ । यो भ्रमणलाई बिजनेस ट्रिप बनाउनुपर्छ भन्ने मेरो सुझाव छ,’ कर्णले भने, ‘यसपटक धेरै आर्थिक मुद्दामा केन्द्रित हुन्छ जस्तो मलाई लाग्छ । विश्वास आर्जनमा हुँदै गर्दा र आर्थिक साझेदारी अघि बढेपछि बल्ल विवादका विषयहरू सुल्झाउनुपर्छ । उच्च नेतृत्व तहमा राजनीतिक विश्वासको वातावरण भएपछि समस्या समाधान हुन्छ । विवादित विषयमा सम्बन्धित संयन्त्रले काम गर्नुपर्छ, राजनीतिक नेतृत्वले त्यसमा एकैचोटि प्रवेश गर्नुहुँदैन ।’ 

भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित : प्रधानमन्त्री

केही दिनअगाडि प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित प्रतिकूल कुनै किसिमको सम्झौता नहुने बताएका थिए । ‘म विश्वास दिलाउन चाहन्छु– नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनतामा कुनै किसिमको सम्झौता या भ्रम पर्न दिइनेछैन ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने बताएका थिए । ‘सीमासम्बन्धी सबै समस्या पनि कूटनीतिक माध्यमबाट समाधान गर्ने तथा छिमेकी मित्रराष्ट्रसँग सौहार्द र घनिष्ट सम्बन्ध राख्ने नीति सरकारले लिएको छ । नेपाल–भारत सम्बन्धलाई पुनरावलोकन गरी समयसापेक्ष बनाउने कुरामा कूटनीतिक पहल जारी छन्,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरू राष्ट्रको भूमि पनि नलिने सिद्धान्तमा अडिग छ । यसै सिद्धान्तमा रहेर छिमेकीसँगको सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको छ । मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास व्यक्त गर्न चाहन्छु ।’