मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ११ बिहीबार ०६:०२:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०८० जेठ ११ बिहीबार ०६:०२:००

सफलताको श्रेय कसलाई दिने भन्ने विषयमा एकपटक संकल्प, बल र बुद्धिबीच विवाद भयो । तीनैले सफलताको पछाडि आफ्नो बढ्ता भूमिका हुने दाबी गर्दै त्यसको श्रेय पनि आफूले नै पाउनुपर्ने जिद्दी गरे । तीनैजना आआफ्नो भनाइमा अडिग रहे । विवाद साम्य हुन सकेन । त्यसैले, उनीहरूले विवेकलाई न्यायाधीश बनाएर विवादको फैसला गराउने सहमति गरे । 

विवेक तीनैजनालाई लिएर कतै हिँड्यो । उसले हातमा फलामको बांगो किला र फलामकै हतौडा बोकेको थियो । उनीहरूले बाटामा एउटा बालकलाई भेटे । विवेकले भन्यो– बाबु, तिमीले यो किलालाई सीधा पारिदियौ भने म तिमीलाई पेटभरि मिठाई खुवाउँछु र एउटा राम्रो खेलौना पनि दिन्छु । बालक खुसी भयो । तर, उसले राम्ररी हतौडा उठाउनसमेत सकेन । उसको हातमा गरुंगो हतौडा उचाल्ने बल थिएन । उसले किला सीधा पार्न सकेन । ऊ खिन्न भयो । यसबाट निष्कर्ष निस्कियो– सफलता प्राप्त गर्न संकल्प मात्रले सम्भव हुँदैन । 

अलिकति अगाडि बढिसकेपछि उनीहरूले एक श्रमिकलाई भेटे । ऊ घुरेर सुतिरहेको थियो । विवेकले उसलाई घचघच्याएर उठायो र त्यो बांगो किला देखाउँदै भन्यो– तिमीले यो किला सीधा बनाइदियौ भने म १० रुपैयाँ दिन्छु । तर, त्यो श्रमिक निद्रामा झुलिरहेको थियो । त्यसैले, किला र हतौडा हातमा लिएको लियै भुसुक्क निदायो र घुर्न थाल्यो । यसबाट निष्कर्ष निस्कियो– सफलताका लागि बल मात्र पनि पर्याप्त हुँदो रहेनछ । पर्याप्त बल हुँदाहुँदै पनि संकल्प नभएकाले श्रमिक लक्ष्यमा सफल भएन । 

अलि अगाडि अर्को एक युवक भेटियो । ऊसँग पनि श्रमिकसितको जस्तै सर्त राखियो । उसले यसो किलालाई राम्ररी हे¥यो र एउटा ढुंगामा राखेर बांगिएको किलाको ढाडपट्टिबाट हतौडाले होसियारीपूर्वक दुई–चारपटक प्रहार गरेर किलालाई सोझ्याइदियो । सर्तअनुसारको १० रुपैयाँ दिएर चारैजना फर्किए । बाटामा विवेकले भन्यो– अब त बुझ्नुभयो होला नि ? दृढ संकल्पसाथ बल र बुद्धिको उचित मेल भयो भने मात्र सफलता हात लाग्छ । अन्यथा, अलग–अलग भएको अवस्थामा तीनैको कुनै अर्थ छैन ।