मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०८० जेठ १० बुधबार १२:१८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने तालिम खारेज गरिँदै

तालिमप्रदायक संस्थाले प्रमाणपत्र बिक्री गरेको पाएपछि अनिवार्य तालिम व्यवस्था नै खारेज गर्ने मन्त्रालयको तयारी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० जेठ १० बुधबार १२:१८:००

तालिमप्रदायक संस्थाहरूले अभिमुखीकरण तालिमको प्रमाणपत्र बेच्न थालेपछि श्रम मन्त्रालयले अनिवार्य तालिम लिनुुपर्ने व्यवस्था नै खारेज गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई गन्तव्य मुलुकको नीति–नियम, संस्कृति, भाषालगायतका विषयमा जानकारी दिन पूर्वप्रस्थान अभिमुखीकरण तालिमको व्यवस्था गरेको हो । 

यस्तो तालिमको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै कामदारले अन्तिम श्रम स्वीकृति पाउँछन् । तर, तालिम नै नलिएका कामदारलाई तालिमप्रदायक संस्थाहरूले कानुनविपरीत प्रमाणपत्र बिक्री गरेको पाएपछि मन्त्रालयले यस विषयमा छलफल सुरु गरेको हो । मन्त्रालयले यस विषयमा विभाग र बोर्डसँग सुझाव मागेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए । केही दिनमा नै यसको टुंगो लगाइने उनको भनाइ छ । 

 अनलाइन वा स्थानीय पालिकामा नै तालिम  
वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई अनलाइन वा स्थानीय पालिकाबाट दिने व्यवस्था गर्ने विषयमा मन्त्रालयले छलफल चलाएको छ । वैदेशिक रोजगार बोर्ड र विभागले अनलाइन वा स्थानीय पालिकाबाट दिँदा अभिमुखीकरण तालिम व्यावहारिक हुने राय दिएको बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले बताए । 

अहिलेको व्यवस्थाअनुसार बोर्डले बनाएको कोर्सबमोजिम कामदारले दुई दिन अनिवार्य रूपमा तालिम लिनुपर्नेछ । तर, तालिम लिन तोकिएको केन्द्रमा नै धाउनुपर्ने बाध्यता छ ।  यसरी तोकिएकै केन्द्रमा गएर तालिम लिँदा खाने–बस्ने खर्च बढ्ने हुँदा कामदारलाई आर्थिक भार परेको मन्त्रालयको ठम्याइ छ । यसका साथै भिसा आइसकेपछि तालिम लिनुपर्ने भएकाले कामदारको मनस्थिति विदेश उड्नमै केन्द्रित हुने र दुई दिन भए पनि परिवारसँग नै बिताऊँ भन्ने मनस्थिति हुने म्यानपावर व्यवसायीहरू बताउँछन् । 

 ९९ प्रतिशत कामदार तालिम नलिईकन नै विदेश उड्छन्
  संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने ९९ प्रतिशत कामदारले तालिम नलिने व्यवसायीहरू बताउँछन् । व्यक्तिगत रूपमा जाने केहीले भने तालिम लिने गरेको तालिमप्रदायक संस्थाहरू बताउँछन् । ऐनअनुसार कामदारले ११ घन्टाको दुई दिन तालिम लिनुपर्छ । तालिममा प्रवेश गर्दा र तालिम सकिएपछि कामदारले औँठा छाप लगाएर इलेक्ट्रोनिक हाजिर पनि गर्नुपर्छ । तर, औँठा छाप लगाउने मेसिनको दुरुपयोग गरी तालिमकर्ता आफैँ वा कुनै डमी कामदारलाई बनाएर इलेक्ट्रोनिक मेसिनमा हाजिर जनाइदिने गरेको केही तालिमप्रदायक संस्थाहरूको आरोप छ । 

वैदेशिक रोजगार अभिमुखीकरण तालिम व्यवसाय महासंघका अध्यक्ष राजाराम गौतमले भने सरकारले गरेको शून्य लागतको कारणले कामदारले तालिममा उपस्थित नहुने बताउँछन् । उनका अनुसार म्यानपावर कम्पनीले कामदारलाई अभिमुखीकरण तालिम नै पठाउँदैनन् । उनीहरूले कामदारबाट रकम असुल्छन् र तालिम केन्द्रमा सेटिङ मिलाएर प्रमाण निकाल्छन् । कामदार तालिममा गएमा शून्य लागतको विषयमा जानकारी पाउने र कम्पनीसँग विवाद गर्न सक्ने भएकाले तालिममा नपठाउने गरेको उनले बताए । महासंघका अध्यक्ष गौतमका अनुसार कतिपय म्यानपावर कम्पनीका नै तालिम केन्द्र छन् ।  

तर, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने कामदार काठमाडौंमा आएर तालिम लिँदा थप आर्थिक भार पर्ने भएकाले स्थानीय निकायमा नै तालिम लिने गरेको बताउँछन् । उनका अनुसार संघले मन्त्रालयसँग पनि स्थानीय निकायमा नै यस्तो खालको तालिम उपलब्ध गराउन आग्रह गरेका छन् । 

केन्द्रले एउटा कक्षामा २५ जनासम्म राख्न पाउँछन् । दिनमा दुई सिफ्ट क्लास सञ्चालन गर्न पाउँछन् । एउटा केन्द्रले दिनमा दुईवटा कक्षा सञ्चालन गर्न पाउँछन् । तालिम केन्द्रले तालिम दिएबापत कामदारबाट प्रतिव्यक्ति सात सय रुपैयाँ लिन्छन् । नेपालका पाँचवटा प्रदेशमा यस्ता तालिम केन्द्र खोलिएका छन् । एक सय ३९ वटा तालिम केन्द्र छन् भने १३ वटा घरेलु कामदारका लागि तालिम दिने संस्था छन् । महिला कामदारको हकमा भने तालिम लिँदा भुक्तानी गरेको रकमको रसिद लिएर विभागमा बुझाएमा विभागले रकम फिर्ता गर्छ । 

अभिमुखीकरण तालिममा कामदारलाई वैदेशिक रोजगारीको प्रक्रिया, सुरक्षा, कानुनी उपचारको विषयमा जानकारी दिइन्छ । त्यस्तै, गन्तव्य मुलुकमा जाँदा हवाईजहाजमा सिटबेल्ट बाँध्नेदेखि लिएर, मानसिक स्वास्थ्य समस्या हुँदा अपनाउनुपर्ने प्राथमिक उपचार र रोजगारदाताबाट कुनै समस्या भएमा अपनाउनुपर्ने कानुनी उपचारको विषयमा पनि जानकारी दिइन्छ । साथै गन्तव्य मुलुकको कानुन, संस्कृति, प्रहरी नियम, श्रमसम्बन्धी नियमलागयतका विषयमा पनि जानकारी दिइने वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख डा. द्वारिका उप्रेतीले बताए ।