१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० जेठ १० बुधबार ०६:१३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिचौलियाहरूको बयान : रेस्टुरेन्टमा भेटेर, गृह मन्त्रालय, मन्त्री क्वार्टरदेखि प्रधानमन्त्रीनिवाससम्म पुगेर रकम बुझायौँ

नक्कली भुटानी शरणार्थी प्रकरण

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० जेठ १० बुधबार ०६:१३:००
  • जिल्ला सरकारी वकिल कार्यालयले आज अदालतमा मुद्दा दायर गर्दै
  • अहिले अनुसन्धानको दायरामा नल्याइएका थप हाई प्रोफाइलविरुद्ध पनि अनुसन्धान थाल्न निर्देशन दिने सरकारी वकिलको कार्यालयको तयारी

राजनीतिक र प्रशासनिक नेतृत्वलाई पोल्ने बिचौलियाद्वय केशव दुलाल र सानु भण्डारीको बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका नेता, गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीनिवाससम्म पोलिएका छन् । हिरासतमा रहेका बिचौलियाले सहरका रेस्टुरेन्ट, गृह मन्त्रालय, पुल्चोकस्थित मन्त्रीनिवास मात्र होइन, बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससम्मै पुगेर ‘काम फत्ते गराउन’ राजनीतिक र प्रशासनिक नेतृत्वलाई रकम बुझाएको बयान दिएका छन् । 

प्रहरी परिसर काठमाडौंले पक्राउ परेका १६ सहित ३३ जनाविरुद्ध २७ करोड ८४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कम्तीमा तीन मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । सरकारी वकिलले बुधबार मुद्दा दायर गर्दै छन् ।

बिचौलिया केशव दुलाल र सानु भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला र छोरा प्रतीक, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका स्वकीय सचिव लीला जिसी, पूर्वगृहमन्त्री बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई रकम बुझाएको बयान दिएको प्रतिवेदनमा उल्लेख छ । 

दुलालले तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यलाई ०७६ असोजमा बालुवाटारमै गएर एक करोड नगद बुझाएको दाबी गरेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीमार्फत आफूलाई बालुवाटार बोलाइएको उनको भनाइ छ । ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई ०७६ को असोजमा एक करोड रुपैयाँ नगदै बुझिलिएको,’ दुलालको बयान छ । 

त्यस्तै, मन्त्रिपरिषद्को सामाजिक विकास समितिबाट भुटानी शरणार्थीसम्बन्धी निर्णय हुनुभन्दा अघिल्लो दिन रायमाझीका स्वकीय सचिव जिसीले पुल्चोकस्थित मन्त्री क्वार्टरमा एक करोड बुझेको दुलालको दाबी छ । ‘तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जामन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझिलिएका हुन्,’ उनले बयानमा भनेका छन् । 

ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले पनि मन्त्रिपरिषद्को सामाजिक समितिबाट शरणार्थीसम्बन्धी निर्णय गर्न माथि रकमको अपुग भयो भन्दै बादलको पुल्चोकस्थित निवासमा एक–एक करोड बुझेको दुलालको बयान छ । 

तत्कालीन गृहमन्त्री बादल, उनकी पत्नी नैनकला र छोरा प्रतीकले छुट्टाछुट्टै गरेर पाँच करोड बुझेको दाबी बिचौलियाको छ । बादलले राष्ट्रिय सभाको निर्वाचनअगाडि मन्त्रीनिवासमै र उनका छोरा प्रतीकले रेस्टुरेन्टमा रकम बुझेको दुलालको बयान छ । ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वार्टर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि तीन करोड नगदै बुझिलिएको, प्रतीक थापाले नक्सालस्थित नीलगिरि थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटेलको माथिल्लो तलामा बोलाई २०७६ असारमा एक करोड बुझिलिएको,’ उनले बयानमा भनेका छन् । 

त्यस्तै, अर्का बिचौलिया सानु भण्डारीले मन्त्रीनिवासमै गएर नैनकलालाई एक करोड बुझाएको दाबी गरेका छन् । ‘मैले ०७६ साउन २५ गते मन्त्री क्वार्टर पुल्चोकमा गई नैनकला थापालाई नगदै एक करोड बुझाएको हुँ । त्यसवेला इन्द्रजित राईको सुरक्षामा खटिएका प्रहरी पनि साथै थिए,’ उनको बयानमा छ । 

त्यस्तै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमै सवा करोड बुझेको दुलालको बयान छ । ‘टेकनारायण पाण्डेले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी विश्वास दिलाएपछि मैले निजलाई एक करोड २४ लाख ५० हजार दिएको हुँ । रकम दिँदा के–कहाँ ल्याइदिनुपर्‍यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याइदिनु भनेको हुँदा मैले पटक–पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगी उक्त रकम नगदै बुझाएको हुँ,’ उनले बयानमा भनेका छन् । 

पूर्वगृहसचिव प्रेमकुमार राईले पनि डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमै बोलाएर ०७६ असारमा तीन करोड नगद बुझेको दुलालको बयान छ । बिचौलिया भण्डारीले पनि राईलाई रकम बुझाएको बयान दिएका छन् । ‘मलाई इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, रकम गाडीमा राखिदिनु भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बेलाएको हुँदा म निजको कार्यकक्षमा गएको हुँ,’ बयानमा उनले भनेका छन् । 

भण्डारीले बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईलाई होटेलमा एक करोड ५० लाख बुझाएको बयान दिएका छन् । ‘मैले ०७६/३/२ गतेतिर नीरज राई र इन्द्रजित राईलाई सँगै होटेलमा भेटी नगद एक करोड ५० लाख दिएको हुँ । सो रकम मैले राईलाई दिने वेलामा उनको चालक खटिएका हाल यकिन नाम थाहा नभएको प्रहरी पनि सँगै थिए । उनलाई पनि पैसा दिएको कुरा थाहा छ । ०७६ को साउन महिनाको १४–१५ गते मैले उक्त रकम इन्द्रजित राईलाई बुझाएको हुँ । त्यतिवेला राईले हाल बसोवास गरिरहेको गोदावरीमा घर किन्न लागेका थिए,’ उनले बयानमा भनेका छन् । भण्डारीले पनि पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पाँच लाख ४५ हजार बुझाएको बयान दिएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । मोबाइलमा म्यासेज पठाउँदा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

बिचौलियाले नाम लिएका उच्चपदस्थ आठजनाविरुद्ध स्वतन्त्र प्रमाण फेला नपरेकाले तत्काल उनीहरूमाथि अनुसन्धान गर्न नसकिएको प्रहरीले जनाएको छ । ‘नगदमै आर्थिक लेनदेन भएको भनिएको छ, जसको प्रमाण हुने कुरा भएन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी भन्छन्, ‘पैसा दियौँ भनेर बोलेकै आधारमा कसैलाई मुद्दा चलाउन त भएन नि ! अन्य प्रमाणले त्यसलाई पुष्टि नगरेकाले यो विषय अहिलेलाई थाती राख्यौँ ।’ पछि तथ्य र प्रमाण खुल्न आएको अवस्थामा दोस्रो चरणमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सोहीअनुसार उनीहरूको नाम अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की बयानमा नाम लिइएकालगायत व्यक्तिउपर थप प्रमाण भेटिएमा अनुसन्धान अघि बढ्ने बताउँछन् ।

थप हाई प्रोफाइलविरुद्ध पनि अनुसन्धान थाल्न निर्देशन दिने तयारीमा सरकारी वकिलको कार्यालय

सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप ‘हाई प्रोफाइल’विरुद्ध पनि तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने तयारी गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार ३३ अभियुक्तविरुद्धको मुद्दा दर्ता हुना साथ बाँकी ‘हाई प्रोफाइल’विरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र काट्ने तयारी भएको हो । 

अभियुक्तविरुद्धको मिसिल अध्ययनमा संलग्न सरकारी वकिल कार्यालयका उच्च अधिकृतले भने, ‘पक्राउ परेका अभियुक्तको बयान अध्ययन गरियो । उनीहरूले थप ‘हाई प्रोफाइल’को नाम पटक–पटक उल्लेख गरेको देखियो । तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेको देखिएन । त्यसो हुँदा उनीहरूविरुद्ध तत्काल अनुसन्धान सुरु गर्न निर्देशन दिने तयारी भइरहेको छ । मुद्दा अदालतमा दर्ता हुना साथ उनीहरूविरुद्ध अनुसन्धान थाल्न हामी प्रहरीलाई पत्र काट्छौँ ।’

सरकारी वकिल कार्यालयका अनुसार पक्राउ परेका केशव दुलाल र सानु भण्डरीको बयानमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को नाम पटक–पटक आएको छ । त्यस्तै, बादलपत्नी नैनकला थापा र छोरा प्रतीक थापाको नाम पनि बयानमा आएका छन् । प्रहरीले प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, रामबहादुर र नैनकलाविरुद्ध अनुसन्धान नै गरेको छैन । 

पक्राउ परेकामध्ये दुलालले तत्कालीन गृहमन्त्री बादललाई पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेर तीन करोड रुपैयाँ बुझाएको बयान दिएका छन् । त्यस्तै, उनका छोरा प्रतीकलाई नक्सालस्थित थकाली भान्साघरको पछाडि रहेको होटेलमा ०७६ असारमा एक करोड रुपैयाँ बुझाएको बयानमा उल्लेख छ ।

त्यस्तै, तत्कालीन गृहसचिव प्रेमकुमार राई, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, ओलीका तत्कालीन सल्लाहकार डा. अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितको नाम पनि दुलालको बयानमा उल्लेख छन् । 

त्यस्तै, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित र डा. अजयक्रान्ति शाक्यले पहिला बुझेको रकम अपुग भएको भन्दै थप जनही एक–एक करोड रुपैयाँ लिएको बयान दुलालले दिएका छन् ।

त्यसबाहेक अर्का हाई प्रोफाइल कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाणपत्नी मञ्जु खाणको नाम पनि घटनामा जोडिएर आएका छन् । प्रहरीले उनीहरूविरुद्ध पनि अनुसन्धान गरेको छैन । त्यस्तै, अर्का बिचौलिया बेचन झाविरुद्ध पनि अनुसन्धान भएको छैन । पक्राउ परेका अभियुक्तको बयानअनुसार उनी धन्दाका क्रममा राजनीतिक सेटिङ मिलाउने भूमिकामा थिए । 

घटनामा फरार प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापाविरुद्ध पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिने भएको छ । 

ओलीको चेतावनी : शरणार्थी प्रकरणमा एमालेतिर हिलो छ्याप्न खोजिए सह्य छैन 

एमाले अध्यक्ष केपी ओलीले शरणार्थी प्रकरणमा बदनियतका साथ एमालेलाई मुछ्न खोजिए सह्य नहुने चेतावनी दिएका छन् । पार्टीसम्बद्ध जनवर्गीय संगठनका पदाधिकारीको संयुक्त बैठकमा मंगलबार ओलीले भने, ‘सञ्जाल र मिडियाको प्रयोग गरेर, विभिन्न कुरा बजारमा छरेर, त्यसैलाई स्थापित गर्ने योजनाबद्ध प्रयास गरेर, करकापसहित मान्छेलाई नाम उच्चारण गर्न लगाएर एमालेलाई मुछ्न खोजिन्छ, हिलो छ्याप्न खोजिन्छ भने सह्य हुनेछैन । हामीले नेपालको छानबिन देखेका छौँ, नेपालको थुप्रै कुरा भोगेर आएका छौँ ।’

देउवाको विश्वास : कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुन्छन्

मंगलबार सभापति देउवालाई भेट्न धुम्बाराहीमा पुगेका युवा नेता, केन्द्रीय सदस्य र सांसदहरूसँगको कुराकानीमा देउवाले कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुने विश्वास व्यक्त गरेका थिए । ‘उहाँ (खाण) यस प्रकरणमा संलग्न हुनुहुन्छ भन्नेमा मलाई विश्वास छैन । अहिले नै दोषी करार भएजसरी प्रस्तुत गरिएको छ । प्रहरी र मिडियाले दोषी करार गर्दैमा हुँदैन । उहाँको विषयमा धेरै चिन्ता नगर्नुस् । कानुनी प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ देउवाको भनाइ थियो ।