मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनिल यादव काठमाडाैं
२०८० जेठ १० बुधबार ०५:५५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हरि बुढामगरको प्रेरणा जगाउने विश्वकीर्तिमान

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
२०८० जेठ १० बुधबार ०५:५५:००

तालिबानको एम्बुसदेखि सगरमाथा शिखरसम्म

अफगानिस्तान युद्धमा तालिबानको एम्बुसमा परेर घुँडामाथिसम्मै दुवै गोडा गुमाएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई सगरमाथा शिखरभन्दा केही तल बाल्कोनीमा पुगेपछि लाग्यो– अब फर्किनुपर्छ, चुचुरोमा पुग्न सकिँदैन । एक्कासि शरीर लल्याकलुलुक भएपछि अत्तालिएका उनलाई आरोहण दलका एक सदस्यको सुझाव पनि त्यस्तै थियो, ‘यसरी त चढ्न सकिँदैन, बरु फर्कौँ ।’ 

पछि चेकजाँच गर्दा थाहा भयो– उनको अक्सिजन नै सकिएको रहेछ । अब सगरमाथा आरोहण गरेरै छाड्ने या बीचबाटै फर्किने, निर्णय मगरको आत्मबलमै सीमित थियो । साहसी मगरले त्यही वेला १० वर्षीय छोरा सम्झिए, जो ‘बाबा हिमाल चढ्दै हुनुहुन्छ’ भनेको सुनेरै डरले थुरथुर हुन्थे ।

‘बीचबाटै फर्कौँ भन्ने धेरैपटक लाग्यो, विशेषगरी बाल्कोनीबाट तीनपटक ‘गिभअप’ गर्न मन लागेको थियो,’ सगरमाथा चढेर विश्वकीर्तिमान राखेपछि मंगलबार काठमाडौं आइपुगेका मगर आरोहणको क्षण सम्झिएर एक्कासि भक्कानिए, ‘मेरो सानो छोरा १० वर्षको छ । बाबाले हिमाल चढ्ने भनेपछि साह्रै आत्तिन्थ्यो । हुन त हिमालको चरित्रचित्रण नै यति खतरनाक शैलीमा गरिएको छ कि युवापुस्ता साँच्चै डराउँछ । मैले कहिल्यै पनि घरमा छोरालाई हिमाल खतरा छ भनेर भनिनँ, तर स्कुल वा साथीभाइबाट सुनेर होला उसलाई साह्रै डर थियो । उसको भ्रम तोड्नलाई पनि संगीन अवस्थामा मैले कसम खाएँ– जे होस्, म छोराका लागि पनि सगरमाथा चढेरै घर फर्किनुपर्छ ।’

५ अप्रिलमा आफ्नो साहसिक यात्रा सुरु गरेका मगर गत शुक्रबार दिउँसो ३:०० बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका मगर मौसम खराबीका कारण १८ दिन एभरेस्ट बेस क्याम्पमै रोकिए । दुईजनालाई बिरामी भएर बीचबाटै हेलिकोप्टरमा उद्धार गर्नुपर्‍यो । अन्ततः आरोहण टोलीका पाँचजनाले मात्रै आरोहण गरे । बाँकीले तलै बसेर आ–आफ्नो भूमिकामा सहयोग गरे । आरोहण टोलीमा हरिका भाइ नन्द बुढा पनि थिए । खासमा उनी बेस क्याम्पसम्म दाइको सहयोगी बनेर पुगेका थिए, तर चुचुरोसम्मै पुगे । ‘म एक्लै चढेजस्तो देखिए पनि मेरा पछाडि धेरै थिए,’ हरि बुढामगरले भने, ‘मैले यो आरोहण रेकर्ड राख्नका लागि गरेको होइन । मजस्ता धेरै अपांगता भएका व्यक्तिमा प्रेरणा र साहस जगाउन गरेको हुँ । समाजमा अपांगतासम्बन्धी सचेतना बढाउन गरेको हुँ ।’

अफगानिस्तानी युद्धले मोडिएको बाटो
रोल्पा थबाङको मिरुल गाउँमा हुर्किएका हरि बुढामगरको बाल्यकाल निकै चुनौतीपूर्ण थियो । विपन्नताका कारण खाली खुट्टै स्कुल जानुपथ्र्यो । काठको पाटीमा खरीलाई कलम बनाएर लेख्नुपथ्र्यो । घरको आँगनबाटै सिस्ने र धौलागिरि हिमाल देख्ने हरिले संसारकै अग्लो हिमाल सगरमाथा आफ्नै देशमा छ भनेर पढे मात्रै । सगरमाथा कस्तो होला ? उनको मनमा प्रश्न मात्रै उब्जिन्थ्यो । ‘मेरो बाल्यकाल निकै कष्टकर र चुनौतीपूर्ण थियो,’ मंगलबार प्रेस मिटमा मगर विगत सम्झिएर भक्कानिए, ‘जीवनमा धेरैपटक फेल भइयो । आठ कक्षा फेल भएँ । एसएलसी पनि कम्पार्ट दिएर पास भएँ । त्यसपछि काठमाडौंमा आएर सतुंगलमा इँटा र ढुंगा पनि बोकियो ।’ 

हरि सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भए । ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर घुँडामाथिदेखि नै दुवै गोडा गुमाए । त्यसपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनस्र्थापना केन्द्रमा बिताएको उनले बताए । 

‘यो कष्टकर अवधिमा मैले आफूलाई धर्तीको बोझ पनि ठानेँ, जिन्दगी सकिएको महसुस गरेँ । त्यति वेला मैले मेरो दुखाइ र भावनालाई रक्सी पिएर नियन्त्रण गरेँ । रक्सीको यति लत बस्यो कि हात नै काम्न थाल्यो । यसो सोचेँ– मेरो कथा त सक्कियो,’ उनी भावुक सुनिए, ‘धेरैपटक आत्महत्याको सोच नआएको होइन । तर, पुनस्र्थापना केन्द्रमा पुगेपछि मन बदलियो । आत्महत्या गरेँ भने त समाजले मलाई कायरका रूपमा बुझ्नेछ । मेरो परिवारलाई सुसाइड गरेको मान्छेको पति, बाउ या छोरा भनेर होच्याउनेछ भन्ने महसुस भयो । त्यसपछि बाँच्ने निधो गरेँ ।’ 

त्यसपछि उनी साहसिक खेलमा रमाउन थाले । युरोप, अमेरिकामा स्की खेल्न थाले, स्की खेल्दा हिमाल देख्थे । हिमाल देख्दा सगरमाथाको यादले तान्ने उनको एकपटक ब्रिटिस आर्मीमा माउन्टेन इन्स्ट्रक्टरका रूपमा कार्यरत कृष्ण थापामगरसँग भेट भयो । उनी नेपालमा स्की खेलाउँथे । उनकै कारण नेपाल आएर हरिले पनि स्की खेले । घुँडामाथिसम्म दुवै गोडा गुमाएर पनि स्की खेल्ने पहिलो नेपाली बने । गोसाइँकुण्डमा तालिम नै लिए । ‘अल्टिच्युडमा ज्यानले थाम्छ–थाम्दैन, शारीरिक रूपमा सम्भव छ–छैन,’ आफैँलाई परीक्षण गरे । सुरुमा दुइटा खुट्टाले खेल्थे, पछि बसेर खेल्न थाले । ‘जब अरुजसरी नै खेल्न सकेँ, लाग्यो– म अरूभन्दा कसरी फरक भएँ त ?’ हरि सम्झन्छन् । त्यसपछि अन्य खेलकुदमा पनि सहभागिता बढाएका उनी अस्ट्रिया र जर्मनीमा दुई साता कायकिङ गर्न गएँ । त्यहाँ दुई गोडा गुमाएका उनी एक मात्रै थिए, तैपनि उत्कृष्ट प्रदर्शन गरे । अब त उनलाई लाग्न थाल्यो– मान्छे अर्को ग्रहमा त जान थालिसक्यो, म सगरमाथा किन चढ्न सक्दिनँ ? 

हरिले सन् २०१८ मै सगरमाथा आरोहण गर्ने संकल्प लिएका थिए । तर, सन् २०१७ को अन्त्यतिरै सरकारले दुइटा आँखा नदेख्ने र दुइटा खुट्टा नचल्नेलाई हिमाल चढ्न रोक लगायो । पर्वतारोहणसम्बन्धी नियमावलीमा ‘दुवै हात वा खुट्टा नभएको वा दुवै आँखा देख्न नसक्ने व्यक्तिले’ हिमाल आरोहण गर्न नपाउने व्यवस्था थियो । नियमावालीको विरुद्ध उनी सर्वाेच्च अदालत पुगे । नेपालको संविधानमा अपांगता भएकै कारण कसैमाथि विभेद गर्न नहुने व्यवस्थालाई टेकेर अदालतले प्रतिबन्ध फुकुवा गर्न आदेश दिएपछि सगरमाथा चढ्न बाटो खुल्यो । तर, लगत्तै विश्व कोभिड संक्रमणको चपेटामा पुर्‍यो । सन् २०१९ मा प्रयास गरे पनि आरोहणका लागि पैसा जुटाउन सकेनन् । 

हरिलाई लाग्छ– घाइते भएपछि जीवनमा सबैभन्दा सुखद घटना नै आफूलाई पहिचान गराउन सक्नु हो । ‘म धेरै पढेको छैन, खुट्टा पनि छैन, तर आत्मविश्वास छ,’ उनले भने, ‘संसारमा आत्मविश्वास भएपछि जे पनि गर्न सकिन्छ । अहिले मजस्ता धेरै साथीहरू आफूलाई प्रेरणा मिलेको म्यासेज गर्नुहुन्छ । कतिले ‘म त सुसाइड गर्न लागेको थिएँ, मेरो ज्यान बचाइदिस्’ भन्नुहुन्छ, जब कि मैले हिमाल मात्रै चढेको हो । कतिले खुट्टाबारे सोध्नुहुन्छ, कसैले उपचारबारे । मेरो इन्बक्स यस्तै म्यासेजले भरिएका छन् । १० प्रतिशत पनि पढ्न भ्याएको छैन ।’

राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । मंगलबार राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले प्रेसमिटमै बधाईपत्र हस्तान्तरण गरेका थिए ।

‘ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्वकीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ,’ राष्ट्रपतिको सन्देशमा छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले उनलाई सिंहदरबारमै भेटेर बधाई दिएका छन् । प्रधानमन्त्रीले हरि बुढामगरको साहसको प्रशंसा गर्दै बधाई दिए ।