१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ ८ सोमबार ११:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि श्रीमददेवी भागवत महायज्ञ सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार ११:५o:oo

दोलखाको चर्नावती धाममा आइतबारबाट श्रीमददेवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ।

चर्नावती धाममा रहेको जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको लागि आयोजना गरिएको हो। महायज्ञको मुख्य वाचक संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराईले प्रवचन गर्ने कार्यक्रम छ। 

चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघले आयोजना गरेको महायज्ञको उद्घाटन गर्दै संस्कृतिविद् जगमान गुरुङले धर्म संस्कृतिको रक्षा गर्न सके मात्र समुन्नत मुलुक निर्माण हुने बताए। 

आइतबारै यसअघि निर्माण सम्पन्न भएको जेष्ठ नागरिक भवनको समेत उद्घाटन गरिएको छ। महायज्ञ उद्घाटन समारोहमा महायज्ञ सञ्चालन गर्न विशेष गरी आर्थिक, नैतिक र भौतिक ढंगले सहयोग गरेको भन्दै दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल राजधानी बस्दै आएका समाजसेवी  सोबित उप्रेतीलाई विशेष सम्मान गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक कलाकार मदनदास श्रेष्ठले जानकारी दिए।  

महायज्ञको समापनसँगै नयाँ आर्थिक वर्षबाट जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जनाएका छन्। आइतबार नै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले महायज्ञ स्थल तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको अवलोकनसमेत गरेका थिए। 

आयोजक समितिका संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न महायज्ञ प्रारम्भ कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङ, पूर्वमन्त्रीहरू पार्वत गुरुङ, आनन्द पोखरेल, प्रदेश सांसद भरत केसी, जिल्लास्थित राजनीतिक दलका नेताहरू, प्राध्यापक डा. कान्ता भट्टराई कांग्रेस नेता ताराबहादुर कोइराला, समाजसेवी सोभित उप्रेती, एमाले नेता बालकृष्ण सिवाकोटी, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकर, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए। 

दोलखाको शैलुङ गाउँपालिका- ७ चर्नावती धामस्थित चर्नावती सामुदायिक वनको ४० रोपनी खाली पर्ती जग्गामा १६ वटा आवास कोठा, एक भान्साकोठा, तीनवटा हल र पाँचवटा शाैचालय कोठा रहेको जेष्ठ नागरिक सेवा केन्द्र भवनसहित विभिन्न संरचना निर्माण भैरहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए।

तामाकोसी नदीकिनारमा अवस्थित चर्नावती धाम रहेको ठाउँमा त्रेता युगमा राम–सीताको पाइला परेको विश्वास गरिन्छ। किंवदन्तीअनुसार वनवासको समय राम–सीता चर्नावती धाममा आएका थिए। चर्नावती धामआसपास राम–सीताले खाना पकाएर खाएको चारमुखे ढुंगाको ठूलो चुलो, चौलानीजस्तो पानी बग्ने चामल पखाल्ने खोला र सीताको पाइला अंकित ढुंगा रहेको स्थानीयहरू बताउँछन्। 

अर्को किंवदन्तीअनुसार अयोध्यामा रामको राज्यभिषेकका बेला श्रृंगी ऋषि चाहिने भएपछि चर्नावती धामआसपास रहेको अधेरी खोलाको शिरमा तपस्या गरिरहेका श्रृंगी ऋषिलाई लगिएको र पछि राम–सीता आफ्नो राज्यभिषेक गर्ने ऋषिको तपस्यास्थल हेर्न आउँदा चर्नावती धाममा समेत वास बसेको विश्वास गरिन्छ।