१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रवचन दिन रामदेव आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३o:oo

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी थालिएको छ । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा २३ जेठदेखि तीन दिनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने तय भएको आयोजकले जनाएको छ । आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सयजनालाई सहभागी गराउने आयोजकको तयारी छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, स्वामी रामदेव, जगत गुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्ति आउने तय भइसकेको उनको भनाइ छ । सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गरेपछि योगी रामदेवले ध्यान गराउनुका साथै प्रवचन दिने कार्यक्रम छ । योग अभ्यास पनि गराइने व्यवस्थापन समितिले जनाएको छ । आयोजकका अनुसार सम्मेलनका क्रममा खप्तडबारे पौराणिक र आध्यात्मिक पक्षलगायत विषयमा केही कार्यपत्र प्रस्तुत गरिनेछन् । सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्‍याउन मद्दत पुग्ने कार्यकारी निर्देशक खड्काले बताए । भारतीय पर्यटक मात्र खप्तड भित्र्याउन सके पर्यटनमार्फत सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उनले बताए ।

‘खप्तड पुग्ने पर्यटकको संख्या अहिले पनि कम छ । छिमेकी मुलुकका पर्यटक पनि ल्याउन सकेका छैनौँ,’ खड्काले भने, ‘नजिकका भारतीय क्षेत्रबाट पर्यटक आकर्षित गर्न सके आर्थिक विकासमा ठूलो टेवा पुग्छ ।’ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा ३३ जना विदेशी पर्यटक मात्र खप्तड पुगेका छन् ।

खप्तडको प्राकृतिक सुन्दरता, पौराणिक र धार्मिक महŒवको प्रचारप्रसार गर्न सके विदेशी पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । ‘मानसखण्डमा खप्तडलाई पृथ्वीलोकको सबैभन्दा सुन्दर र अलौकिक ठाउँ भनेर व्याख्या गरिएको छ । शिव–पार्वतीको बिहे भइसकेपछि पहिलोपटक भेटेको त्रिवेणी धाम छ । शिवजीले नागको रूप धारण गरेको नागढुंगाजस्ता धेरै आध्यात्मिक पक्ष छन्,’ कार्यकारी निर्देशक खड्काले भने, ‘यिनको प्रचारप्रसार गर्न सके पर्यटक भित्र्याउन सकिन्छ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक सम्मेलनले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा खप्तडको पहिचान बढाउने विश्वास व्यक्त गरे । सम्मेलनको तयारीबारे धनगढीमा आयोजित छलफलमा मुख्यमन्त्री शाहले खप्तडको पर्यटन विकासले समग्र सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताए ।

बाजुराको बुढीनन्दा नगरपालिकाका मेयर जनक बोहराले खप्तडमा पर्यटन विकासका माध्यमबाट स्थानीय रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार गरी पर्यटन विकासमा संघ र प्रदेश सरकार लाग्नुपर्ने भन्दै उनले स्थानीय तह सहयोग गर्न तयार रहेको बताए । खप्तडको धार्मिक, सांस्कृतिक र आध्यात्मिक पक्षबारे कार्यपत्र प्रस्तुत गरिनेछ । त्यस्तै, खप्तडबाबाको दर्शन र विचार तथा खप्तडको आध्यात्मिक पर्यटन विकासको सम्भावनाबारे पछि छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने व्यवस्थापन समितिले जनाएको छ ।

ad
ad