मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० जेठ ४ बिहीबार ०९:१७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लामो दूरीको सवारी भाडा घट्यो : चर्को भाडा असुल्नेमाथि विभाग र ट्राफिक प्रहरीले छड्के कारबाही गर्ने 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० जेठ ४ बिहीबार ०९:१७:००

सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले बुधबार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । नयाँ भाडादर कायम भएसँगै अब लामो दूरीको यातायात भाडा घटेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले यातायात भाडा घटाएको हो । यसअघि यातायात व्यवसायी र विभागबीच पाँच प्रतिशतभन्दा बढी भाडा घटेमा वा बढेमा भाडादर बढाउने वा घटाउने सम्झौता भएको थियो । पछिल्लो समय दुईपटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेपछि यातायात व्यवसायी नयाँ भाडादर कायम गर्न सहमत भएका हुन् । 

नारायणप्रसाद भट्टराई महानिर्देशक, यातायात  व्यवस्था विभाग
अब अन्तरप्रदेश गुड्ने सवारीसाधन (लामो दूरी)ले भाडादर घटाउनुपर्नेछ । उनीहरूले यात्रुले देख्ने गरी सवारीसाधनमा भाडादरको तालिका टाँस्नुपर्नेछ र त्यसमा तोकिएको भाडा लिनुपर्नेछ ।

विभागले नयाँ भाडादर कामय गर्दै अन्तरप्रदेशस्तरको भाडादर तालिका पनि सार्वजनिक गरेको छ । मंगलबार नेपाल आयल निगमले डिजेलमा मूल्य घटाएको थियो । मंगलबार र त्यसअघि पेट्रोलियम पदार्थको मूल्य घटेपछि विभागले नयाँ भाडादर कायम गरेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो भाडादर शुक्रबारदेखि नै देशभर लागू हुनेछ ।

‘अब अन्तरप्रदेश गुड्ने सवारीसाधन (लामो दूरी)ले भाडादर घटाउनुपर्नेछ,’ उनले भने, ‘उनीहरूले यात्रुले देख्ने गरी सवारीसाधनमा भाडादरको तालिका टाँस्नुपर्नेछ र त्यसमा तोकिएको भाडा लिनुपर्नेछ ।’ नयाँ भाडादर कायम गर्न अटेर गर्ने, यात्रुहरूलाई पुरानै दरमा भाडा असुल्ने र ठगी गर्नेमाथि विभाग र ट्राफिक प्रहरीले कारबाही गर्नेछ । 

विभागले जारी गरेको नयाँ तालिकाअनुसार यात्रुवाहक सवारीसाधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ४.६५ प्रतिशतले घटेको छ । सिटी क्षेत्र तथा लोकल भाडादर भने प्रदेश सरकारले कायम गर्नेछ । 

विभागले नयाँ भाडादर मूल्य कायम गरेपछि यात्रुहरू ठगिन नदिन लामो दूरीका यातायातका साधनको छड्केसमेत गर्ने जनाएको छ । यसका लागि ट्राफिक प्रहरी र विभागमातहतका कार्यालयका कर्मचारी खटाइएको छ । त्यस्तै, कतिपय सवारीसाधनले यात्रुहरूबाट ठूलो नोट लिएर खुद्रा फिर्ता नदिएको जानकारी पाएमा पनि विभागले कारबाही गर्नेछ । त्यसका लागि यात्रुहरूले विभाग वा ट्राफिक प्रहरीलाई बस नम्बरसहित जानकारी गराउनुपर्ने विभागले जनाएको छ । 

डिलक्स बसले जथाभावी भाडा लिन नपाउने 
विभागले डिलक्स तथा एसी बसहरूले जथाभावी भाडा असुलेको भन्दै त्यसो गरेको पाइएमा कारबाही हुने जनाएको छ । सुविधासम्पन्न एसी तथा डिलक्स बसहरूले विभागअन्तर्गतको सवारी परीक्षण कार्यालयबाट स्तर निरीक्षण गराई सवारी दर्ता किताबमा प्रमाणित गराएर १५ प्रतिशत बढी भाडा लिन पाउनेछन् । तर, उनीहरूले प्रमाणित नगराई यात्रुहरूलाई बढी भाडा असुल्न पाउने छैनन् । 

अनुसार यसरी दर्ता प्रमाणीकरण लिने सुविधासम्पन्न बसको संख्या निकै कम छ । विभागलाई चार्ज तिर्न नटेरी गरी डिलक्स तथा सुविधायुक्त बसहरूले यात्रुहरूबाट तोकिएभन्दा ३० प्रतिशत बढी भाडा असुल्ने गरेका छन् । कतिपय बस तथा माइक्रोले पुरानै सवारी मोडिफाई गरी बढी भाडा असुल्ने गरेका छन् । यसरी भाडा असुल्नेलाई विभागले कारबाही गर्ने जनाएको छ । विभागले विभागले तोकेअनुसार यातायातका साधनले सहुलियत नदिएको पाइएमा कारबाहीसमेत गर्नेछ ।