१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचारमा कम्युनिस्ट–कांग्रेसको प्रतिस्पर्धा छ : नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४१:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमा कम्युनिस्ट–कांग्रेसबीच प्रतिस्पर्धाको अवस्था रहेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे । 

‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचार गर्ने कुरामा कम्युनिस्ट र कांग्रेसको लगभग प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन । एउटै दर्शन छ, पैसा कमाऊ, जनतालाई लुट । त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौती हाम्रोसामु विद्यमान छ,’ उनले भने ।

नेपालले भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कारबाही गर्नुपर्ने बताए । नेपाली समाजमा अलोकतान्त्रिक प्रवृत्ति विद्यमान रहेको पनि उनले औँल्याए । ‘अहिले पनि हेर्ने हो भने पार्टीहरूभित्र अलोकतान्त्रिक चरित्र विद्यमान छन् । त्यसकारण पार्टीहरूको लोकतान्त्रीकरण गर्नुपर्ने आवश्यकता अझै छ । त्यसको जीवन्त उदाहरण एमाले छ । एमालेभित्र रहेको अलोकतान्त्रिक, नीतिभन्दा नेताप्रधान मान्यता छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ,’ नेपालले भने, ‘यही मञ्चबाट आह्वान गर्छु, एमालेका तमाम कार्यकर्ता, नेताहरू आफ्नो पार्टीभित्र रहेका गलत विचार र प्रवृत्तिहरूको पहिचान गर्नुहोस्, त्यसका विरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’

कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती रहेको बताए । निष्पक्ष छानबिन गरेर दोषी सबैलाई कारबाही गर्न उनले माग गरे । निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही नगरेर आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए । ‘अहिले नक्कली भुटानी शरणार्थी काण्ड सतहमा आएको छ । यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संगीन काण्ड हो, यसलाई सही ढंगले टुंगोमा लगिन्छ कि लगिँदैन ? आज हाम्रो चिन्ता यहाँ हो । दृढतापूर्वक निष्पक्ष छानबिन हुनुपर्छ । देशका ठूला माछा पनि बल्छीमा पर्न थालेका छन् । अनुसन्धानका लागि आवश्यक समय दिएर टुंगोमा लैजानुपर्छ,’ उनले भने । खनालले पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको अनुसन्धान नहुने गरी अख्तियारसम्बन्धी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई मान्य नहुने बताए ।