Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०८० जेठ ४ बिहीबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाणलाई कारबाही गर्न तलबाटै दबाब बढाउने रणनीतिमा इतर समूह 

Read Time : > 1 मिनेट
२०८० जेठ ४ बिहीबार ०६:१४:००

कांग्रेस इतर समूहले शरणार्थीका नाममा भएको ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बनका लागि तल्लो तहबाटै दबाब बढाउने रणनीति लिएको छ । जसअनुसार शेखर कोइराला–गगन थापा समूहका नेताहरूले सार्वजनिक कार्यक्रमबाटै खाणलाई निलम्बनको माग राख्न थालेका छन् । नेतृत्वमाथि दबाब बढाउन दोस्रो तहका नेताहरूले रूपान्तरणको अभियानसमेत घोषणा गरेका छन् । 

१२बुँदे योजनासहित सातै प्रदेशमा हुने अभियानमा खाणलाई निलम्बनको विषय पनि जोडतोडका साथ उठाउने नेताहरूको तयारी छ । नेता गुरुराज घिमिरेका अनुसार अभियानमा यो विषय पनि एजेन्डाको रूपमा रहनेछ । ‘जनमानसको भावनाभन्दा बाहिर पार्टी हुन सक्दैन । यो विषयमा प्रतिस्पर्धी पार्टीले आरोप लागेका नेतालाई निलम्बन गरेका छन् । कांग्रेसले पनि निलम्बन गरेर अनुसन्धानलाई सहयोग गर्नुपर्छ । हामी यो विषय तल्लो तहसम्म जोडतोडका साथ उठाउँछौँ,’ उनले भने ।

बिहीबार नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले एकै मञ्चबाट खाणलाई निलम्बन गर्नुपर्ने बताए । कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम गर्न नहुने भन्दै खाणलाई निलम्बन गर्नुपर्नेतर्फ संकेत गरे । ‘यस्तो लज्जास्पद र राष्ट्रघाती कामले मुलुकको सार्वभौमिकतामाथि नै प्रहार गरेको छ । यसलाई कुनै पनि बहानामा हामीले ढाकछोप गरेर जानुहुँदैन । ढाकछोप गरेर जान खोज्यौँ भने कांग्रेसमा अप्ठ्यारो अवस्था आउँछ । देशकै अवस्था पनि नाजुक हुन्छ । यो मुद्दा अब नेपालभित्र मात्रै सीमित छैन, अन्तर्राष्ट्रियकरण भइसकेको छ । जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ,’ कोइरालाको भनाइ थियो । 

कार्यक्रममा महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जोकोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने दोहोर्‍याए । पूर्वमन्त्री खाणलाई कांग्रेसबाट तत्काल निलम्बन गर्नुपर्ने उनको भनाइ छ । शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएकाले अभियोग लागिसकेपछि स्वतः निलम्बनमा पर्ने थापाको जिकिर छ । ‘दोषी ठहरिन्छ भने दोषीले सजाय पाउनुपर्छ । यो खालको राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जो–जो मुछिन्छ सबैलाई कारबाही हुनुपर्छ । पदमा बसेको मान्छेलाई अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ,’ उनले भने । परम्पराको नाममा गलत कुरा बोकेर हिँड्नु नहुने उनले बताए ।

कांग्रेसमा छलफलकै क्रममा रहेको खाणमाथि कारबाहीको विषयमा मंगलबार वक्तव्य नै जारी गरेर महामन्त्री थापाले निलम्बन हुनुपर्ने भन्दै मौनता तोडेका थिए । आफूले निलम्बनको माग राख्दा पार्टीमा सुनुवाइ नभएको उनको भनाइ थियो । थापाले आफ्नो वक्तव्यलाई नै कांग्रेसको आधिकारिक धारणा भएको दाबीसमेत गरेका छन् । थापाको यो अभिव्यक्तिलाई लिएर संस्थापन पक्ष रुष्ट बनेको छ । पार्टीभित्र र बाहिरको दबाबलाई कम गर्न संस्थापन पक्ष छलफल गरे पनि यसबारे निर्णय गर्ने पक्षमा छैन । यसका लागि न त केन्द्रीय समिति बैठक बोलाउने तयारी छ न कार्यसम्पादन समिति बैठक नै । मंगलबार पत्रकार भेटघाटमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अनुसन्धानको टुंगो लागेपछि मात्रै निर्णयमा पुग्ने बताएका थिए । उनले केन्द्रीय समिति बैठक तत्काल बस्ने कुनै तयारी नरहेकोसमेत स्पष्ट पारेका थिए ।

खाण पक्राउ परेपछि २७ वैशाखमा अभियानसम्बद्ध नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखेका थिए । नेताहरू मधु आचार्य, डा. गोविन्द पोखरेल, गुराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत गृह मन्त्रालय पुगेका थिए । आफ्नै नेता पक्राउ परेपछि गृहमन्त्रीलाई धन्यवाद दिन गएको भन्दै संस्थापन समूहका नेताहरू सुरुबाटै असन्तुष्ट छन् ।