Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ ३ बुधबार १०:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीका गाउँघरको पाहुर काफल

Read Time : > 1 मिनेट
२०८० जेठ ३ बुधबार १०:५०:००

पाकेका काफलले राताम्य आँगन । कसैले केलाउँदै, कसैले बटुल्दै र कसैले सुकाउँदै थिए । धुर्कोट गाउँपालिका– ६ की ७७ वर्षीया नरकुमारी थापाको घर–आँगनमा देखिएको दृश्य हो यो । उनको परिवार यति वेला काफल व्यवस्थापनमा व्यस्त छ। नरकुमारीका छोरा–छोरी र नातिनातिना गरेर नौजना छन् । उनीहरू सबै अहिले काफल टिप्नमा व्यस्त छन् । 

एकजना रूखमा चढेर हल्लाएपछि काफलले भुँइमा राखिएको त्रिपाल भरिन्छ । थापा परिवारले शनिबार बिहान दुई घन्टामा पाँच–६ पाथी काफल टिपे । त्यो काफल आइतबार बुटवल र भैरहवामा रहेका छोराछोरी र नातिनातिनाकोमा पाहुर (कोसेली)को रूपमा पुग्यो । 

‘बैँसमा रूख चढेरै पाथीका पाथी काफल टिप्थ्यौँ । पाहुरको रूपमा कालापालतको काफल नचाखेका आफन्त निकै कम छन्,’ नरकुमारीले भनिन्, ‘काफल टिप्न पनि सीप चाहिन्छ ।’ 

जिल्लामा काफल फल्ने गाउँहरूमध्येको धुर्कोट गाउँपालिका–रजस्थलको कालापातल सामुदायीक वन एक हो । काफल टिपेर धेरै दिन राख्न भने सकिँदैन । गर्मीेले गर्दा टिपेको काफल छिट्टै बिग्रन्छ ।

कालापातलमा बिदाको दिन विद्यार्थी र स्थानीय २०–२५ जना काफल टिप्न पुग्छन् । काफल पाक्न थालेको तीन हप्ताजति भयाे। अझै दुई हप्ताजति काफल पाक्छ । गाउँमा एउटाले लगभग दैनिक १०–१२ माना काफल टिप्ने गरेको स्थानीय गणेश थापाले बताए ।

धुर्कोट माइत आएकी इस्मा गाउँपालिका– ६ की सीता महत पनि काफलकै पाहुर बोकेर घर फर्किइन् । सानोमा थुप्रै साथीसंगीहरू जंगलमा तिजु, काफल र ऐंसेलु खाएर दिन बिताउने गरे पनि अहिले गाउँमा युवा पुस्ता नभएको महतले बताइन् । 

‘पहिले गाउँका जंगलको फलफूल वन्यजन्तुले भन्दा मानिसले धेरै खान्थे । अहिले गाउँमा खाने मान्छे कोही छैनन्,’ उनले भनिन्, ‘टिप्न सके काफल सबैलाई चिज नै हुन्छ ।’ इस्मातिर काफल नहुने भएकाले माइतबाट काफल लिएर फर्किएको महतले सुनाइन् । काफलको रूख निकै झुरो हुन्छ । रूख चढ्ने सीप नभएकाहरू लड्ने डर पनि उस्तै हुन्छ । साना दाना हुने भएकाले धेरै काफल टिप्न समय पनि धेरै लाग्छ । 

गाउँमा छिमेकी मिलेर काफल टिप्न जंगल जाने र दिनभरमा डालो भरेर आफन्तहरूलाई पाहुरका रूपमा गुन लगाउने चलन अहिले पनि छ । गाउँमा उत्पादन हुने धेरै कुराको मूल्य हुँदैन । अझै पनि बाटोमा हिँड्नेले घरको डिलमा पाकेको फल खाए पुन्यको महसुस गर्ने गाउँहरू छन् । एक घरमा पारेको माेहीले गाउँ थाम्छ । एक घरी केरा पाक्दा कोही छिमेकी छुट्दैनन् । त्यत्तिकै होइन ‘गाउँमा घर टाढा–टाढा भए पनि मन नजिक हुन्छ’ भनेको ।

अहिले पहाडी जिल्लाहरूमा काफल पाक्ने सिजन छ । मुख्य सडकनजिकका गाउँमा काफलको व्यापार पनि राम्रो हुने गर्दछ  । तर, पहाडी जिल्लाका गाउँहरूमा काफल व्यावसायिक रूपमा भन्दा पाहुरका रूपमा खुवै दौडिन्छ । सदरमुकाम तम्घासमा पनि धेरै ठाउँबाट काफल आउँछ । बजारका चोकहरूमा मान्छेपिच्छेका मूल्य छन् । धेरैले एक सय २० रुपैयाँमा एक गिलास काफल बेच्ने गरेका छन् । 

काफल बेच्न चिदीचौरछेउमा बसेकी रेसुंगा नगरपालिका– ५ की चमेली नेपालीले ज्यानको बाजी थापेर दिनभर टिप्ने भएकाले मिहिनेतअनुसारको मूल्य नभएको बताइन् । ‘काफल देखेर सबैले आहा ! गर्ने, तर पैसा महँगो भयो भनेर नाक खुम्च्याउँदा मन दुख्छ,’ उनले भनिन्, ‘दिनभर रूखमा खुरी खेलेर एउटा–एउटा दाना टिपेको कसैले देख्दैनन् ।’