Skip This
भुटानी शरणार्थी ठगी प्रकरण : अनुसन्धान अन्तिमतिर, दबाबमा प्रहरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ३ बुधबार o८:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भुटानी शरणार्थी ठगी प्रकरण : अनुसन्धान अन्तिमतिर, दबाबमा प्रहरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार o८:o५:oo

राज्यकै संलग्नतामा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बिहीबारभित्र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरी तयारी छ । 

अनुसन्धान अन्तिम चरणमा पुगे पनि यो प्रकरणका कतिपय पक्ष अझै खुल्न सकेका छैनन् भने थप उच्चपदस्थमाथि पनि प्रहरीले बलिया प्रमाण जुटाउन सकेको छैन । अनुसन्धानको हदम्याद सकिन लाग्दा प्रहरी दबाबमा परेको छ । यद्यपि, पक्राउ परिसकेका व्यक्तिविरुद्ध भने प्रहरीले बलिया प्रमाण जुटाइसकेको छ । 

१३ जना हिरासतमा रहेको यो मुद्दामा १२ जनाको बयान सम्पन्न भइसकेको छ । मंगलबार प्रहरीमा उपस्थित भएका पूर्वसभासद् आङटावा शेर्पाको बुधबार बयान हुनेछ । उनको बयान सकिएपछि बिहीबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले छिटो प्रतिवेदन बुझाउन प्रहरीलाई आग्रह गरेको छ । 

‘अब एकजनाको मात्र बयान बाँकी भएकाले बिहीबारसम्म प्रतिवेदन आउँछ भन्ने छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने भन्छन्, ‘अनुसन्धान प्रतिवेदन हेरेर कुन–कुन मुद्दामा अभियोजन गर्ने तय गर्नेछौँ ।’ 

पक्राउ परेका सबैलाई संगठित अपराध र ठगी मुद्दा चल्ने निश्चितजस्तै रहेको स्रोत बताउँछ । साथै केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चल्नेछ । राज्यविरुद्धको अपराधको कसुर आकर्षित हुने कि नहुने अन्योल नै छ । ठगी मुद्दामा सात वर्षसम्म र त्यसमा संगठित अपराध मुद्दा जोडिँदा थप ५० प्रतिशत सजाय हुने कानुनी प्रावधान छ । जसअनुसार सबैलाई कम्तीमा साढे १० वर्ष कैद सजायको मागदाबी गर्ने प्रहरी तयारी छ । विशिष्ट श्रेणी तथा सांसद पदमा रहेकालाई थप दुई वर्ष सजाय हुने माग दाबी पनि लिने सम्भावना छ ।

यसबाहेक सरकारी पदमा रहेकाको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वसाधारणको हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीहरूको सम्पत्ति छानबिनका लागि लेखिपठाउने तयारी छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । ‘हदम्याद हेरेर अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनी भन्छन्, ‘एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाउँछौँ ।’ 

संगठित अपराध मुद्दामा ६० दिनभित्र मुद्दा चलाउनुपर्ने प्रावधानका कारण १० जेठभित्र यससम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता हुनेछ । उच्चपदस्थ जोडिएकाले मुद्दालाई कमजोर बनाउन प्रहरी तथा सरकारी वकिललाई दबाब दिने चलखेल विभिन्न व्यक्तिबाट भइरहेको स्रोत बताउँछ । 

सुरुमा दबाबकै कारण प्रहरीले उच्चपदस्थमाथि अनुसन्धान गर्न सकेन । पछि अनुसन्धान सुरु गरे पनि प्रमाण जुटाउन पर्याप्त समय नभएको प्रहरी अधिकारी बताउँछन् । जसकारण पक्राउ परेका बिचौलियाले पैसा बुझायौँ भनेर नाम लिएका थप व्यक्तिको हकमा प्रहरी अनुसन्धान अधुरै हुन पुगेको छ । ‘पछि प्रमाण जुटेको अवस्थामा पूरक अभियोजन लैजानेबारे छलफल गरिरहेका छौँ,’ प्रहरी स्रोत भन्छ, ‘त्यसो गर्दा अन्य व्यक्तिमाथि सधैँ जोखिम हुने भएकाले अहिले नै सबै टुंगो लगाउन दबाब परिरहेको छ ।’ 

खाण र रायमाझीको इन्कारी बयान 

यो मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको बयान सकिएको छ । रायमाझीको बयान सोमबार बेलुका नै सकिएको हो भने खाणको सोमबार र मंगलबार बयान लिइएको हो । दुवैजनाले इन्कारी बयान दिएको स्रोत बताउँछ । 

‘रायमाझीजीले फटाफट प्रश्नका जवाफ दिनुभयो,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘तर, खाणले शब्द–शब्द ख्याल गरेर बोलेका छन्, धेरैजसोमा थाहा छैन भन्ने जवाफ छ ।’ उनले छोटो–छोटो बोल्दै सबै आरोप अस्वीकार गरेका छन् । तर, दुवैजनाविरुद्ध बलिया प्रमाण रहेको प्रहरी अधिकारी बताउँछन् । 

सोमबार बयानका क्रममा मुख्य प्रश्नमा प्रवेश गरेलगत्तै स्वास्थ्यको कारण देखाएर खाणले बयान रोकेका थिए । त्यसपछि कानुन व्यवसायीहरूसँग विस्तृत छलफल गरेर मात्र मंगलबार बोलेका हुन् । ‘तर, धेरै बाठो हुन खोज्दा उहाँ बयानमा चुक्नुभएको छ,’ प्रहरी स्रोतले भन्यो । खाणले गृहमन्त्री हुँदा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराउनेदेखि प्रतिवेदन नै किर्ते गरेर नाम थप्नेलगायत काम गरेको प्रहरी दाबी छ । बिचौलिया मात्र नभई पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत उनको विपक्षमा बयान दिएका छन् ।