१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिहारका पूर्वपूर्वाधारमन्त्री भन्छन्-   नेपालले कसैको विकास नक्कल गर्नुपर्दैन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४६:oo

छिमेकी भारतको सीमावर्ती बिहार प्रदेशका पूर्वपूर्वाधारमन्त्री नन्दकिशोर यादवले कुनै मुलुकको नक्कल गरेर कुनै देशको विकास नहुने बताएका छन् । काठमाडौं आएका यादवले ‘स्पष्ट लक्ष्य पहिचान, साधन स्राेतको व्यवस्थापन, कानुन संशोधन र परिमार्जन तथा मिसनका रूपमा कार्यान्वयन’ नै बिहार विकासको सूत्र भएको बताए । बिहारमा नीतीश कुमार नेतृत्वको सरकार (भाजपासँग गठबन्धन हुँदा)पूर्वाधार विकास मन्त्रालय, पर्यटन स्वास्थ्य मन्त्रालय सम्हालेका उनले बिहार विकासको मोडल नीतीशको मात्रै नभएको पनि बताए । 

‘नेतृत्वका रूपमा बिहार विकासको जस नीतीश कुमारजीलाई जानु स्वाभाविकै हो, तर त्यसका लागि आधार तयार गर्ने कार्य हामीले गरेका हौँ । पूर्वाधारमन्त्रीका रूपमा विकासको प्रत्यक्ष नेतृत्व मैले गरेको हुँ,’ होटेल हिमालयमा सीमित सञ्चारकर्मीमाझ यादवले सुनाए, ‘हामी सबैको सामूहिक अठोट र मिसनले बिहारलाई बदल्न सफल भयौँ । नेपालले विकासमा फड्को मार्न म समस्या देख्दिनँ ।’  

उनी बिहार विधान सभामा सातौँपटकका सदस्य तथा १२ वर्षसम्म भौतिक पूर्वाधार, पर्यटन र स्वास्थ्यमन्त्री थिए । ‘हामीले बिहार विकासको लक्ष्य तय गर्‍यौँ । त्यसपछि साधनको उपलब्धता हेरेर खोजी गर्‍यौँ । कानुन निर्माण गर्‍यौँ र हाम्रो लक्ष्यसँग बाझिएका कानुन खारेज गर्‍यौँ,’ भाजपा बिहारका पूर्वअध्यक्ष तथा प्रदेश सभामा संसदीय दलका नेता रहिसकेका यादवले विकासको बिहार मोडल सुनाए, ‘त्यसपछि मिसन बनाएर काममा लाग्यौँ । बिहार विकासको सार यही हो ।’ 

उनले सडकको उदाहरण प्रस्तुत गरे । ‘हामीले बिहारका कुनै पनि भूभागबाट राजधानी पटनासम्म ६ घन्टामा पुग्ने गरी पूर्वाधार सडक निर्माण गर्ने लक्ष्य तय गर्‍यौँ । त्यहीअनुसार काम गर्‍यौँ,’ यादवले भने, ‘पछि हामीले लक्ष्य बदल्यौँ । बिहारका कुनै पनि कुनाबाट पटनासम्म पाँच घन्टामा पुग्नुपर्छ । अहिले त्यहीअनुसारको पूर्वाधार निर्माण भएका छन् । यही उद्देश्यका लागि मेरै कार्यकालमा साना–ठूला गरी पाँच हजार पुल–पुलेसा निर्माण भएका छन् ।’ 

यादव कसैको विकास मोडल नक्कल नगर्न नेपाललाई सुझाव दिन्छन् । ‘तपाईंहरू कसैलाई पनि नक्कल नगर्नुस् । आफ्नो लक्ष्य तय गर्नुस् । बाधा पुग्ने कानुन हटाउनुहाेस्,’ उनले भने, ‘विकासको आवश्यकता, स्राेतको उपलब्धता आफ्नै स्थानको अनुकूलतामा खोज्नुपर्छ । आफ्नै ढाँचा र आवश्यकतामा विकास हुन्छ । नेपालले विकासमा फड्को मार्न सक्छ ।’ उनले छिमेकी बिहारले नेपाल मजबुत मुलुक बनेको हेर्न चाहेको बताए । ‘नेपालको राजनीतिक उथलपुथल हाम्रा लागि पनि चिन्ताको विषय हो । छिमेकी रहेका कारण बिहार त नेपालको हरेक घटनाक्रमसँग जोडिएकै हुन्छ । नेपाल स्थिर र सुदृढ हुँदा हामी बिहारवासी प्रसन्न हुन्छौँ र ढुक्क हुन्छौँ,’ यादवले भने, ‘मेरो सुझाव छ, आफ्नो आर्थिक अवस्था र सम्भावनालाई विचार गरेर नेपालले रणनीतिक लक्ष्य तय गरोस् ।’ 

बिहार र समग्र भारतका जनताले नेपालको विकास र समुन्नति चाहेको उनको भनाइ छ । ‘नेपालमा धेरै विकास होस् । नेपाल बलियो होस् । बलियो नेपालले मात्रै हामी दुवै देशका बासिन्दाको हित हुन्छ,’ यादव भनाइ छ । कुनै समय तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीसँग निकट सम्बन्ध बनाएका यादवका अनुसार २००५ मा बिहारको बजेट ३७ हजार करोड थियो, अहिले दुई लाख करोडभन्दा बढी पुगेको छ ।

‘झारखण्ड बिहारबाट छुट्टिएपछि भारत सरकारले सुरुमै वार्षिक रूपमा एक हजार करोड सहयोग गर्ने निर्णय गर्‍याैँ । म मन्त्री भएपछि ६ हजार करोड प्राप्त भयो, त्यसपछि हामीले काम थाल्यौँ,’ यादवले विकासका उदाहरण सुनाए, ‘हामी सरकारमा जानुअघि कोसी नदीमा दुईवटा मात्रै पुल थिए । मैले तीनवटा थपेँ, अहिले दुईवटा बनिरहेका छन् । गंगा नदीमा अहिले ११ वटा पुल बनेका छन् ।’ 

अयोध्यादेखि बिहार हुँदै जनकपुर जोड्ने चार लेनको रामजानकी राजमार्ग (रामजानकी पथ) निर्माणाधीन रहेको उनले सुनाए । ‘काम सकिएपछि अयोध्याबाट बिहार हुँदै नेपालको जनकपुर जोडिन्छ । रामायण वृत्तमा सबैको पहुँच सहज रूपमा स्थापित हुन्छ,’ यादवले सुनाए, ‘नेपालसँग जोडिएका बिहारका सात जिल्लाबाट नेपालसम्मको सिमाना जोड्ने धेरै सडकको स्तरोन्नति भएको छ र यो  क्रम अझै जारी छ ।’ 


 

ad
ad