१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २ मंगलबार ०७:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मंकिपक्सको ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ अन्त्यको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २ मंगलबार ०७:४५:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकिपक्सको ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ अन्त्यको घोषणा गरेको छ । कोभिड महामारीकै समयमा विश्वव्यापी रूपमा फैलिएको मंकिपक्सको जोखिम घटेसँगै स्वास्थ्य आपत्काल सकिएको घोषणा गरिएको हो । एक सय ११ देशमा तीव्र रूपमा फैलिएको एक वर्षपछि डब्लुएचओले महामारीको जोखिम घटेको जनाएको हो ।

संक्रमण हुन सक्ने भए पनि संक्रमणदर न्यून रहेको डब्लुएचओको भनाइ छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट फैलिन सक्ने भएकाले संक्रमणबाट जोगिन सतर्कता अपनाउनुपर्ने अझै आवश्यक रहेको बताएका छन् । 

विश्वका अधिकांश देशमा मंकिपक्स संक्रमण बढेसँगै पछिल्लो एक वर्षमा ८७ हजारभन्दा बढी मानिस प्रभावित भएका थिए । डब्लुएचओको तथ्यांकअनुसार विश्वव्यापी प्रकोपका रूपमा फैलिएको मंकिपक्स संक्रमणबाट १४० जनाको मृत्यु भएको थियो । गत नोभेम्बरदेखि फेब्रुअरीको अवधिमा झन्डै ९० प्रतिशत कम केस रेकर्ड गरिएको थियो । केही महिनायता संक्रमणकदर निकै घटेकाले उच्चस्तरको सतर्कता अब आवश्यक नभएको भन्दै आपत्काल सकिएको डब्लुएचओले जनाएको छ ।

अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपत्कालीन घोषणाले संक्रमणजन्य रोगले फैलाउने महामारी व्यवस्थापन गर्न देशहरूबीच समन्वय गरेको बताउँदै स्वास्थ्य आपत्कालीन समय सकिएको बताइएको हो । तर, संक्रमणविरुद्धको खोप भने नियमित प्रयोग गर्न र मंकिपक्सको उच्च जोखिममा रहेका व्यक्तिहरूले सतर्कता अपनाउन आवश्यक रहेको जनस्वास्थ्यविद्ले जनाएका छन् । 

मंकिपक्स अत्यधिक फैलिन थालेपछि विज्ञहरूले यसलाई एमपक्स नाम दिएका थिए । संक्रमणपछि सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने, मांसपेशी दुख्नेजस्ता लक्षण देखिए पनि पछिल्लो समय संक्रमणबाट मृत्युका घटना बढेका थिए ।