Skip This
१९ जना सगरमाथा शिखरमा, चुचुरोतर्फ जानेको लर्को
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Saturday, 27 July, 2024
नवीन अर्याल काठमाडाैं
२o८o जेठ १ सोमबार १o:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१९ जना सगरमाथा शिखरमा, चुचुरोतर्फ जानेको लर्को

सोमबार बिहान करिब सयजना चढ्ने तयारीमा, ट्राफिक जाम हुने सम्भावना

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १o:३८:oo

यस वर्षको वसन्तकालीन सिजनमा आरोहण खुला भएसँगै आरोहीले सगरमाथा शिखर चुम्न थालेका छन् । हालसम्म नौजना आइसफल डाक्टर र १० जना आरोही–गाइड गरी १९ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेको सगरमाथा आधार शिविरमा रहेको सरकारी अनुगमन समितिको सम्पर्क कार्यालयले जनाएको छ । 

शनिबार दिउँसो १: ५२ बजे आइसफल डाक्टरको टोली रोप फिक्सिङ (डोरी टाँगेर बाटो बनाउँदै) गर्दै सगरमाथा चुचुरोमा पुगेका थिए । इम्याजिन नेपालका नौजनाको टोलीले चुचुरोसम्म रोप फिक्सिङ गरेसँगै शनिबारदेखि नै आरोहण खुला भएको थियो । आइतबार बिहान आठ बजेदेखि १० बजेभित्र १० जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविर अनुगमन समितिका अधिकृत खिमलाल गौतमले बताए । 

खराब मौसमका कारण यसपटक सगरमाथा आरोहण तीन हप्ता ढिला खुला भएको छ । विभिन्न देशबाट आएका आरोहीहरू सगरमाथा आधार शिविरमा तालिम गर्दै उपयुक्त मौसमको पर्खाइमा थिए । रोप फिक्सिङ टोली बाटो बनाउँदै चुचुरोसम्म पुग्नेबित्तिकै आरोहीहरू उकालो लागेका हुन् । 

सोमबार बिहान सगरमाथा चुचुरोमा चुम्नका लागि करिब सयजना आरोही लाइनमा रहेका छन् । मौसमले साथ दिएको खण्डमा सोमबार ठूलो संख्यामा आरोही चुचुरोमा पुग्ने गौतमले बताए । ‘भोलि बिहान (सोमबार) सगरमाथामा ट्राफिक जाम नै हुने अवस्था छ,’ उनले भने, ‘सगरमाथामा नयाँ रेकर्ड कायम हुने सम्भावना पनि छ ।’ हिमालमा नयाँ–नयाँ रेकर्ड बन्ने र तोडिने क्रम बर्सेनि जारी रहन्छ ।

 पासाङ २६औँपटक चुचुरोमा
नेपाली गाइड पासाङ दावा शेर्पाले २६औँपटक सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । उनले कामिरिता शेर्पाको २६औँपटक आरोहण गरेको कीर्तिमानी बराबरी गरेका छन् । हंगेरीका आरोहीसँग पासाङले सगरमाथाको सफल आरोहण गरेका हुन् । अहिलेसम्म सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमानी कामिरिताको नाममा थियो ।

२६औँपटक सफल आरोहण गरिसकेका कामिरिता यसपटक पनि सगरमाथा आरोहण गर्दै छन् । ‘अहिले उनी क्याम्प थ्रीमा हुनुपर्छ,’ सरकारी अनुगमन अधिकृत गौतमले भने, ‘उनी आरोहणकै क्रममा रहेको हुनाले नयाँ कीर्तिमानी बनाउने सम्भावना छ ।’ कामिरिताले सगरमाथामा बर्सेनि आफ्नो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गर्दै आइरहेका छन् । 

चार सय ७८ आरोही चुचुरो चुम्दै
वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्नका लागि हालसम्म चार सय ७८ जनाले पर्यटन विभागबाट अनुमति लिएका छन् । जसमध्ये अधिकांश आरोही सगरमाथा पुगिसकेको विभागको भनाइ छ । कुल सगरमाथा आरोहीमध्ये एक सय दुईजना महिला रहेका छन् । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीको संख्या इतिहासकै सर्वाधिक धेरै हो । पहिलोपटक सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । 

वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमति लिनेमा सबैभन्दा धेरै चिनियाँ र अमेरिकन आरोही रहेका छन् । यस वर्ष ९७ चिनियाँ र ८९ अमेरिकी आरोहीले सगरमाथा चढ्न लागेको पर्यटन विभागले जनाएको छ । ४० जना भारतीय र १६ जना नेपालीले पनि सगरमाथा आरोहण गर्दै छन् । यस्तै, २१ जना क्यानेडियन, २० जना रसियन, १९ जना बेलायती, १३ जना अस्ट्रेलियन, १३ जना फ्रान्सेली, १० जना युक्रेनका नागरिक सगरमाथा चढ्दै छन् ।

ब्राजिलबाट आठ, इरानी पाँच, जापानिज ६, आयरल्यान्डका चार, मलेसियन ६, मेक्सिकन नौ, मंगोलियन चार, पोल्यान्डका पाँच, पाकिस्तानी चार, साउथ अफ्रिकन पाँचजनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । कोभिडपछि हिमाल आरोहण लयमा फर्किएको पर्यटन व्यवसायीको अनुमान छ । 

यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि एक सय ३६ टिमबाट एक हजार एक सय ७६ जनाले अनुमति लिएका छन् । जसमा महिलाको संख्या दुई सय ७७ रहेको छ । कुल आरोहीको संख्या सम्भवतः अहिलेसम्मकै धेरै हो । हिमाल आरोहणको अनुमति दिएबापत ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।