१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दैनिक ६ करोड लिटर पानी थप्दै केयुकेएल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४५:oo

काठमाडौं उपत्यकाका उपभोक्ताको मागअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ६ करोड लिटर पानी थप्ने भएको छ । उपत्यकामा देखिएको पानीको अभाव कम गर्न केयुकेएलले सुन्दरीजल मुहानबाट ६ करोड लिटर पानी ल्याउन लागेको हो । 

सुन्दरीजल मुहानबाट पानी ल्याउनका लागि टेन्डर आह्वानसमेत गरिसकेको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । ‘सुन्दरीजलको मुहानबाट पानी ल्याउन खरिद प्रक्रियामा छौँ,’ प्रवक्ता राईले भने, ‘उपत्यकामा देखिएको पानीको अभाव कम गर्न अन्य विभिन्न ठाउँबाट पनि पानी ल्याउन अध्ययन गरिरहेका छौँ ।’ प्रवक्ता राईका अनुसार केयुकेएलले सुन्दरीजलको पानी बर्खापछि उपत्यकावासीले प्रयोग गर्न पाउनेछन् ।

६ करोड लिटर पानी थपिए पनि उपत्यकामा पानीको अभाव भने कायमै रहनेछ । मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै हेडवक्र्स र सुरुङको काम गर्नका लागि १ जेठदेखि मेलम्चीको पानी बन्द गर्न लागेको छ । समितिका अनुसार दुई साताका लागि पानी बन्द गर्न लागिएको हो । जसकारण दुई साता फेरि उपत्यकावासीले पानीको अत्यधिक अभाव झेल्नेछन् । 

काठमाडौं उपत्यकामा हाल दैनिक ४७ करोड लिटर खानेपानीको माग छ । तर, केयुकेएलले जम्मा ११ करोड लिटर पानी वितरण गर्दै आएको छ । केयुकेएलले वर्षायाममा समेत जम्मा १६ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । अझ सुक्खा मौसममा जम्मा ११ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट भएर करिब आठ करोड लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने तथ्यांक छ । 

दैनिक १९ करोड लिटर अझै अभाव
मेलम्चीबाट आएको पानी दैनिक १७ करोड लिटर प्रणालीमा जोडिएपछि केयुकेएलको कुल आपूर्ति २८ करोड लिटर पुगेको थियो । मेलम्चीको पानी आइपुग्दा नै १९ करोड लिटर अभाव झेलिरहेको उपत्यकावासीले मेलम्चीको पानी रोकिएपछि थप अभाव झेल्नुपर्ने भएको छ । उपत्यकावासीका लागि पानीको थप अभाव हुने भए पनि केयुकेएलले विकल्पका रूपमा नयाँ योजनामा काम गर्न सकेको छैन । ‘मेलम्चीको पानी रोकिएपछि हामीले पहिलेकै स्रोत प्रयोग गर्ने हो । सुन्दरीजलबाट ६ करोड लिटर पानी थप्नेबाहेक हाललाई नयाँ योजना छैन,’ प्रवक्ता राईले भने । 

केयुकेएलले भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । केयुकेएलले ट्युबवेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । त्यस्तै, ट्युबवेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ । केयुकेएलले पानीको अभाव कम गर्न नसक्दा वेला–वेला ट्यांकर व्यवसायीहरूको मनोमानी बढ्ने गरेको छ । 

ad
ad