उपत्यकाको फोहोर व्यवस्थापनको कार्ययोजना १० दिनभित्र पेस गर्न प्रधानमन्त्रीको निर्देशन

शनिबार, ३० बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्ययोजना १० दिनभित्र पेस गर्न निर्देशन दिएका छन् । उपत्यकाको फोहोर व्यवस्थापनबारे दीर्घकालीन र अल्पकालीन रणनीतिबारे शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालाबीच भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले १० दिनभित्र कार्ययोजनाको खाका पेस गर्न भनेका हुन् । 

कार्ययोजना बनाउन सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा ०७८ फागुनमै १३ सदस्यीय समिति बने पनि अहिलेसम्म उपत्यकाको फोहोर व्यवस्थापनसम्बधी दीर्घकालीन र अल्पकालीन कार्ययोजना पेस हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार समितिले कार्ययोजना पेस गरेपछि आगामी १० दिनपछि फेरि अर्काे बैठक बस्नेछ । शुक्रबारको बैठकले सिसडोल बन्चरेडाँडा क्षेत्रमा रहेको प्रहरी सुरक्षा हटाउने निर्णय पनि गरेको उनले बताए ।

फोहोर प्रभावित क्षेत्र धुनीबेँसी नगरपालिका, ककनी गाउँपालिकाका जनप्रतिनिधिले फोहोर व्यवस्थापनबारे तत्काल गर्नुपर्ने कार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । फोहोर ढुवानीका लागि बाटोमा राखिएको प्रहरी फिर्ता बोलाउनुपर्ने, फोहोरको लिच्चड व्यवस्थापन गर्नुपर्ने, फोहोर क्यापिङ गर्नुपर्ने र त्यस क्षेत्रमा फोहोरको गन्ध आउन नदिने गरी काम गर्नुपर्ने माग रहेको धुनीबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले जानकारी दिए । ‘फोहोरमैलामा सरकारले नहेरेको र महानगरले चासो नदिएकोबारे हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ, अब समाधानको बाटो खोज्नुपर्छ,’ उनले भने, ‘फोहोरको गन्ध नआउने गरी फोहोर ढुवानी र क्यापिङ गुर्नपर्छ भन्ने हाम्रो माग हो ।’ जवाफमा प्रधानमन्त्री प्रचण्डले उपत्यकाको फोहोर व्यवस्थापनको स्थायी समाधान हुने गरी सरकारले काम गर्ने बताएका थिए । प्रचण्डले सरोकारवाला निकायका प्रमुखहरूसँग कुराकानी गर्दै फोहोर व्यवस्थापन स्थानीय सरकारकै काँधमा पर्ने गरी योजना तय गर्नुपर्ने बताए । उनले स्थानीय सरकार सञ्चालन ऐनमै फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहेको भन्दै स्थानीय सरकारले त्यसबारे योजना बनाउन पनि ध्यानाकर्षण गरे ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले फोहोर व्यवस्थापनका सम्बन्धमा स्थानीयसँग भएका सम्झौता महानगरले कार्यान्वयन गरेको बताउँदै अन्य माग पूरा गर्न तत्पर रहेको जानकारी गराए । गत शनिबार ककनी गाउँपालिका प्रमुख, धुनीबेँसी नगरपालिका प्रमुख, स्थानीयवासीलगायतबीच माग पूरा नभए फोहोर ढुवानी रोक्नेबारे छलफल भएको थियो । त्यसको गाँठो फुकाउन र स्थानीयका माग पूरा गर्नेबारे सम्बन्धित निकायलाई निर्देशन दिन प्रधानमन्त्री प्रचण्डले शुक्रबार बैठक डाकेका थिए । 

See More On

सुझावित समाचार