
गत वर्ष वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका ३ मा मतगणना गर्दा धाँधली भएको भन्दै उम्मेदवार श्रीराम आचार्यले दर्ता गरेको रिट खारेज भएको छ । उच्च अदालत पाटनले निर्वाचनसम्बन्धी पुनः मतगणनाको मुद्दा विनाआधार, विनाप्रमाण दर्ता भएको र पुष्टि हुन नसक्ने भन्दै बुधबार रिट खारेज गरेको हो ।
उक्त क्षेत्रमा एमालेबाट श्रीराम आचार्य र गठबन्धनबाट माओवादी केन्द्रका राज घिमिरे उम्मेदवार थिए । घिमिरे निर्वाचित भएलगत्तै आचार्यले मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए । घिमिरे १०५९ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीराम आचार्यले १०४९ मत प्राप्त गरेका थिए ।